सर्वहारा सांस्कृतिक क्रान्ति र माओ (सन्दर्भ : १२९ औँ माओ दिवस)

Economic

धर्मेन्द्र बास्तोला ‘कञ्चन’

सन् १८९३ डिसेम्बर २६ मा जन्मनुभएका माओ त्सेतुङको यो वर्ष १२६ पुगेर २७ मा प्रवेश गर्यो । १२७ औँ वार्षिक उत्सवका अवसरका संसारभरका सर्वहारा वर्गले माओको विशेष स्मरण र सम्मान गरेका छन् । माओ त्सेतुङ बीसौँ शताब्दीका महान् दार्शनिक हुनुहुन्थ्यो । सर्वहारा वर्गका नेता हुनुहुन्थ्यो र सामाजिक रूपान्तरणका महान् सेनानी हुनुहुन्थ्यो । माओ त्सेतुङको नेतृत्वमा चीनमा सर्वहारा क्रान्ति भयो । नयाँ जनवादी क्रान्तिका रूपमा सम्पत्र भएको चिनियाँ समाज केही वर्षमै समाजवादी क्रान्तिमा रूपान्तरण भयो । समाजवादी क्रान्ति उल्ट्याउने प्रयत्नका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति भयो । चीनमा भएको जनयुद्ध, नयाँजनवादी क्रान्ति, समाजवादी क्रान्ति, महान् सर्वहारा सास्ंकृतिक क्रान्तिसम्मको अभियानमा मार्क्सवाद–लेनिनवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादमा विकास गर्यो ।

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’
पुँजीवादी क्रान्तिहरू विभित्र मुलुकहरूमा भएका थिए । बेलायत, फ्रान्स, जर्मनी, अमेरिका, जापानलगायत देशहरूमा समयसमयमा ठूलाठूला क्रान्तिहरू भएका छन् । कम्युनिस्टहरूको नेतृत्वमा स्थापित भएको पेरिस कम्युन, लेनिन र स्टालिनको नेतृत्वमा रुसमा भएका महान् समाजवादी क्रान्ति र माओको नेतृत्वमा चीनमा भएको नयाँ जनवादी–समाजवादी क्रान्तिको छुट्टै र विशिष्ट महत्व छ । पुँजीवादको विकास भएका फ्रान्स र रुसमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति भए । फ्रान्समा पेरिस कम्युनको स्थापना भयो । रुसमा समाजवादी क्रान्ति सम्पत्र भयोतर अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा समाजवादी क्रान्ति सम्पन्न गर्नु सबै हिसाबले विकास गर्नु आवश्यक थियो ।

कुनै पनि क्रान्ति पुरानै तरिकाले अथवा कार्यनीतिको पुनरावृत्ति हुन सक्दैन । जसरी पेरिस कम्युनको कार्यनीति रुसी क्रान्तिमा पुनरावृत्त हुन सक्तैनथ्यो त्यसैगरी चिनियाँ क्रान्तिका सन्दर्भमा पनि रुसी क्रान्तिको कार्यनीति पुनरावृत्त हुन सक्तैनथ्यो । युरोपमा भएको पुँजीवादको विकास र पेरिस कम्युन तथा रुसी क्रान्तिको मानकबाट कार्यनीतिक सोचाइ बनाउने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिने जडसूत्रवादीहरूको तर्क थियो– चीनजस्तो अर्धसामन्तवादी र अर्धऔपनिवेशिक अवस्थामा रहेको देशमा समाजवादी क्रान्ति त्यतिबेला मात्र सम्भव हुनसक्छ जब त्यहाँ पहिले पुँजीवादी क्रान्ति सम्पत्र हुनेछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएको यसप्रकारको वैचारिक चुनौतीको सामना गर्नु माओकालागि निकै पेचिलो विषय थियो । नेपालमा पनि यसप्रकारको जडसूत्रबाट मुक्त हुन सक्तैनथ्यो । नेपालमा ‘क्रान्तिको पुनरावृत्ति हुन सक्दैन’ भन्ने तर्क प्रचण्ड र बाबुरामहरूले गर्दै कार्यनीतिक क्षेत्रको चुनौतीको प्रश्नलाई रणनीतिक क्षेत्रको चुनौतीमा पुर्याएका थिए । यो जडसूत्रीय संशोधनवाद थियो । क्रान्तिको पुनरावृत्ति हुँदैन भन्ने तर्क गर्दै क्रान्तिको निषेध गर्ने विचार र दृष्टिकोणलाई यसले प्रोत्साहित गरेको थियो र यही तर्कका आधारमा क्रान्तिको विसर्जनका लागि पार्टीमा मनोविज्ञान पैदा गर्ने तरिका थियो जुन कथित शान्तिप्रक्रियाका नाममा गरिएको आत्मसमर्पणबाट मात्र स्पष्ट भयो । अहिले पनि क्रान्तिको पुनरावृत्ति हुँदैन भन्ने जडसूत्रको सिकार केही क्रान्तिकारीहरू भैरहेको अवस्था छ ।

समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेका वैचारिक समस्या समाधान गर्न माओले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा गम्भीर प्रकारको अध्ययन, विश्लेषण र संश्लेषण गर्नुभयो । यसप्रकारको अध्ययनले जसरी लेनिनले मार्क्सवादलाई मार्क्सवाद–लेनिनवादमा विकास गर्नुभएको थियो, त्यसैगरी माओले मार्क्सवाद–लेनिनवादलाई मार्क्सवाद–लेनिनवाद– माओवादमा विकास गर्नुभयो । माओले गर्नुभएको यो विकासले सर्वहारा वर्गको हातमा क्रान्तिकालागि केवल सशक्त प्रकारको हतियार दिने काम मात्र गरेन, विश्वभरका देशहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवादको यात्रामा अघि बढ्ने ढोका पनि खोलिदियो ।

पहिलो, दोस्रो र तेस्रो अन्तर्राष्ट्रियमा देखापरेको संशोधनवाद, जडसूत्रीय छद्म संशोधनवादको निरन्तरता नेपालमा पनि देखापर्छ । नेपालका केही कथित माक्र्सवादीहरूले लेनिन, स्टालिन र माओको आलोचना गर्दै आएका छन् । उनीहरूले आफूलाई अब्बल दर्जाको माक्र्सवादी बताउने गरेका छन् । उनीहरूको तर्कमा माक्र्सलेजे भन्नुभएको थियो, लेनिनले त्यसमा ‘संशोधन गर्नु’ गल्ती थियो । माओका सन्दर्भमा त झन् ‘महाभूल’ थियो किनकि पुँजीवादको विकास नभईकन गरिने क्रान्ति ‘दिगो’ हुनै सक्तैनथ्यो । यसप्रकारको तर्क गर्ने संशोधनवादीहरूले केवल माक्र्सले जे भन्नुभएको थियो त्योबाहेक माक्र्सवादमा अर्को केही हुनै सक्दैन भन्दै आएका छन् । जडसूत्रीय छद्म संशोधनवादको परिणाम पनि संशोधनवादको भन्दा पर जान सक्दैन । यद्यपि छद्म संशोधनवादको कुरामा क्रान्ति हुने गर्छ र भावनामा पनि क्रान्ति नै हुनसक्छ तर माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले गरेको विश्लेषणभन्दा एक कदम अगाडि बढ्नु सर्वहारा वर्गको अधिकारभित्र नपर्ने कुरा हो भन्ने सोचाइ राख्छ । त्यसले अँगालेको कार्यनीतिले उसलाई त्यही रणनीतिक परिणाममा पुर्याउँछ जो संशोधनवादको हुने गर्छ ।

लेनिनले बारम्बार भन्ने गर्नुभएको थियो र माओले पनि त्यसलाई बारम्बार दोहोर्याउने गर्नुभएको थियो– ‘ मार्क्सवाद कुनै जडसूत्र होइन, यो कारबाहीका लागि निर्देशित सिद्धान्त हो ।’ यसबाट हामी बुझ्छौँ– माक्र्सवाद एउटा जीवन्त सर्वहारा सिद्धान्त हो जसले लेनिनले भन्नुभएजस्तै ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्दै विद्यमान समाजमा समाजवादी क्रान्ति सम्पन्न गर्न सक्छ ।

माओ दिवसका सन्दर्भमा हामीले नेपालका सन्दर्भमा क्रान्तिका लागि केही विषयहरूलाई मनन गर्नुपर्छ । नेपालमा क्रान्तिकारी प्रक्रियामा भएको प्रतिक्रान्तिको खरानीबाट पैदा भएको आन्दोलनलाई जीवन्त बनाउन एकीकृत जनक्रान्तिको कार्यदिशामा अहिले देश अगाडि बढिरहेको छ । एकीकृत जनक्रान्तिले देशको अहिलेको वास्तविक अवस्थाबाट प्रस्थानबिन्दु बनाउँछ, यसले विगतमा भोगिएका क्रान्तिकारी आन्दोलनका सबै शिक्षा र अनुभवहरूलाई एकीकृत जनक्रान्तिमा समावेश गर्दछ र समाजवाद तथा साम्यवादी भविष्यको बाटोमा अघि बढ्छ ।

एकीकृत जनक्रान्तिले दर्शनमा एकता–सङ्घर्ष– रूपान्तरणको प्रक्रियालाई विगतको प्रचण्ड–बाबुरामहरूको गोलमटोल बुझाइलाई सपाट र स्पष्ट गरेको छ, राजनीतिक अर्थशास्त्रमा समाजवादी कालको उत्पादनपद्धतिमा कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताहरूको दामको व्यवस्था र जनताको हकमा क्षमताअनुसारको काम र कामअनुसारको दामको व्यवस्था हुनुपर्ने स्पष्ट गरेको छ, वैज्ञानिक समाजका क्षेत्रमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु कम्युनिस्टको प्रमुख कार्यभार हो भन्ने विश्लेषण गरेको छ ।

जसरी माक्र्सवादले समयअनुसार विकासको माग गरेको हुन्छ र क्रान्तिकारी आन्दोलनको विकाससँगै यसको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक ढाँचामा विकास हुँदै गइरहेको हुन्छ, त्यसैगरी संशोधनवादले पनि समयको विकासअनुसार आफूलाई त्यही रूपमा विकास गर्दै लगेको हुन्छ र यसका तर्कहरूलाई पनि पेचिलो बनाउँदै लगेको हुन्छ । त्यसको प्रतिबिम्ब २१ औँ शताब्दीको संशोधनवादमा देखापर्छ । यसप्रकारका संशोधनवादीहरूको तर्क रहने गरेको छ– डिजिटल क्रान्तिको अभूतपूर्व वैज्ञानिक विकास भएको वर्तमान विश्वमा र यही विकासका कारण कृत्रिम बौद्धिकताको उपयोग र यन्त्रमानवको प्रयोग हुने वर्तमान अवस्थामा परम्परागत उत्पादक शक्ति, श्रमिक वर्ग र वर्गसङ्घर्षका कडीहरू टुटेको पाइन्छ र त्यसले क्रान्तिको औचित्यमाथि प्रश्न खडा गरेको छ । यसप्रकारको तर्क गर्नेहरू वास्तविक रूपमा मानिसको स्वतन्त्रता, वर्गविभेदको अन्त्य र ‘सामाजिक उत्पादन व्यक्तिगत वितरण’ मा आधारित पुँजीवादी व्यवस्थाको अन्त्य असम्भव देख्छन् र उनीहरू समाजवादी सिद्धान्तको वकालत गरे पनि बुर्जुवा पुँजीवादी उत्पीडनको सिकार भइरहेका हुन्छन् ।

एकीकृत जनक्रान्तिले स्पष्ट गरेको विषय के हो भने वैज्ञानिक अन्वेषण र विकास अनन्त प्रक्रिया हो र यो जुनसुकै समाजमा पनि भई नै रहन्छ । पहिलेका समाजमा भन्दा पछिल्ला समाजमा यो अझ तीव्र बनेर जान्छ किनभने यसले पहिलेका वैज्ञानिक सिद्धान्त, नियम र ज्ञानलाई पछिल्लो विकाससँग एकीकृत गर्दै लगेको हुन्छ । तर यसप्रकारको वैज्ञानिक विकासले सामाजिक उत्पादन र व्यक्तिगत वितरणमा आधारित पुँजीवादी व्यवस्थाको समाधान गर्न सक्दैन । जतिसुकै विज्ञान र प्रविधिमा विकास भए पनि र जसरी वैज्ञानिकहरूले अनुमान गरेको पहिलेको आरएनएको जीवकोषलाई डीएनएले विस्थापन गरेजस्तै नयाँ प्रकारको जीवकोष भएको मानवजातिको प्रादुर्भाव र विकास भए पनि सामाजिक उत्पादन र सामाजिक वितरणका लागि समाजवादी क्रान्तिबाहेक अर्को कुनै पनि तरिकाले समाधान गर्न सक्दैन । यो मार्क्सवाद–लेनिनवाद– माओवादको गुदी कुरा हो ।

माओको जन्मदिवसको १२७ औँ अवसर, चिनियाँ जनवादी क्रान्तिको ७१ औँ वर्षगाँठ र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५४ औँ वार्षिकीले विश्वका सर्वहारा वर्गलाई अहिले पनि ती जीवन्त, उथलपुथलकारी दिनहरूको स्मरण गराइरहन्छ । माओका अमर योगदानहरूले विश्वका मुक्तिकामी जनतालाई आर्थिक असमानतामा अति धु्रवीकरण र अति केन्द्रीकरण हुँदै गएको भूमण्डलीकृत निगमीय उत्तरसाम्राज्यवादी अर्थप्रणालीको अन्त्य गरी समान जिम्मेवारी, समान, उत्पादन र समान वितरणको व्यवस्था गर्ने वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने बाटोमा हिँड्न अझ प्रेरित गरेका छन् ।

२६ डिसेम्बर, २०१९

Leave a Reply

Your email address will not be published.