वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दिशामा अघि बढ्न महासचिव विप्लवको आह्वान

News Political

सन्दर्भ : १२९ औँ माओ दिवस

काठमाडौँ,  पुस ११  गते । नेकपाका महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनमा महारोगका रूपमा देखापरिरहेको पुँजीवादी संसद्‌वादी विचारका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर हुन आह्वान गरेका छन् । १२९ औँ माओ दिवसका अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको चिहानमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘आज सन् २०२१ को २६ डिसेम्बर, चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा विश्व–कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओ त्सेतुङको जन्मदिन हो जुन दिनलाई विश्वभरिका सर्वहारा वर्गले माओ दिवसका रूपमा सम्मानका साथ मनाउँछन् । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले पनि आज देशभरि विभिन्न कार्यक्रमसहित माओ दिवस मनाइरहेको छ ।’

माओले कम्युनिस्ट आन्दोलनका माध्यमबाट विश्वसर्वहारा वर्गलाई दिएको शिक्षा र उपलब्धिको चर्चा गर्दै महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘कमरेड माओलाई सम्झिनुका केही मुख्य कारणहरू छन् । पहिलो त उहाँले चीनजस्तो ग्रामीण समाज भएको विशाल देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद– साम्यवादतिर विकास हुने नयाँ जनवादी क्रान्ति गर्नुभयो र त्यसलाई वैज्ञानिक समाजवादतिर प्रवेश गराउनुभयो । दोस्रो, कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै देशभक्त चिनियाँ जनतालाई एक बनाएर क्रान्तिभित्रै शक्तिशाली जापानी साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको दीर्घकालीन सङ्घर्ष सञ्चालन गर्नुभयो र चीनबाट जापानलाई धुलो चटाउन नेतृत्व गर्नुभयो । तेस्रो, चीनभित्रको प्रतिक्रियावादी पुँजीवादी कोमिन्ताङ सत्तालाई परास्त गर्नुभयो र चीनलाई समाजवादी चीनमा प्रवेश गराउन सफल हुनुभयो । चौथो, विश्व–कम्युनिस्ट आन्दोलनमा खतरनाक रोगका रूपमा जन्मिएको सोभियत संशोधनवादका विरुद्ध सङ्घर्ष सञ्चालन गरेर विश्व–सर्वहारावर्गीय आन्दोलनलाई विचलनमा जानबाट बचाउनुभयो । पाँचौँ, चीनभित्रै र विश्व–कम्युनिस्ट आन्दोलनमा पैदा भएका पुँजीवादी चिन्तन र संस्कारविरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । यी यस्ता युगान्तकारी योगदान हुन् जसले विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूलाई निरन्तर प्रशिक्षित र उत्प्रेरित गरिरहेका छन् । यसप्रति आजको दिनमा हामी विशेष गौरव गर्न चाहन्छौँ ।’

राष्ट्रिय राजनीतिमा मडारिइरहेको सङ्कटको चर्चा गर्दै महासचिव विप्लवको वक्तव्यमा अगाडि भनिएको छ, ‘यतिबेला हाम्रो देश उत्तरसाम्राज्यवाद, साम्राज्यवादको हस्तक्षेपमा परिरहेको छ र नेपाली जनताले समयमै सशक्त प्रतिरोध नगर्ने हो भने निकै लामो र ठूलो सङ्घर्षमा गुज्रिनुपर्ने बाध्यता आइलाग्न सक्नेछ । देशमा दलाल पुँजीवादीहरूको अत्याचार, भ्रष्टाचार, राष्ट्रघात छताछुल्ल भइरहेको छ । त्यसैगरी नेपाली कम्युनिस्ट आन्दोलनमा भयानक विचलनका समस्याहरू बढिरहेका छन् । यीबाट जनतामा चिन्ता देखिएको छ तर नेपालमा नेकपाको नेतृत्वमा दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि महान् एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ । जनक्रान्तिमा १२ जना कमरेडहरूको सहादत भएको छ भने सवा सयजना कमरेडहरू अहिले पनि जेलजीवन बिताइरहनुभएको छ । दर्जनौँ कमरेडहरू घाइते हुनुहुन्छ । हजारौँ मुद्दाहरू चलिरहेका छन् । यसले नेपाली जनतालाई आमूल परिवर्तन, वैज्ञानिक समाजवादप्रति उत्साहित र आशावादी बनाएको छ ।’

विश्व–कम्युनिस्ट आन्दोलनका महान् अग्रज र विचारक माओका योगदान र त्यसबाट नेपालको कम्युनिस्ट आन्दोलनले सिक्नुपर्ने पाठका बारेमा चर्चा गर्दै महासचिव विप्लवले प्रतिबद्धताका साथ वक्तव्यमा भनेका छन्, ‘माओ दिवसको ऐतिहासिक अवसरमा हामी आफ्नो दृष्टिकोण नेपाली जनता र विश्वसामु राख्न चाहन्छौँ– नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवाद र विश्वभरिका क्रान्तिकारी नेताहरूका सही विचारहरूको आलोकमा विश्व–साम्राज्यवाद–पुँजीवादका विरुद्ध सशक्त सङ्घर्ष सञ्चालन गर्दै आफ्नो देशको स्वाधीनताको रक्षा गर्नेछ । हामी हाम्रो देशको दलाल पुँजीवादी सत्तालार्ई मिल्काएर नेपाली जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दिशामा निरन्तर बढ्नेछौँ । साथै नेपाली कम्युनिस्ट आन्दोलनमा महारोगका रूपमा देखापरिरहेको पुँजीवादी संसद्‌वादी विचारका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर गराउने क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नेछौँ । यी कामहरू पूरा गर्न चुनौतीहरू छन् तर सत्य जहिले पनि सही विचारमै अन्तरनिहित हुन्छ । सही विचार र जनताको विजयलाई कसैले पनि रोक्न सक्दैन । हामीलाई सधैँभरि सत्य र सही विचारका पक्षमा उभिन र कडा सङ्घर्ष गर्न शिक्षा दिने कमरेड माओ विश्व–श्रमिक जनताका बीचमा अमर रहनेछन् । !’ वक्तव्यको पूर्णपाठ….

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *