नेपालका विभिन्न कम्युनिस्ट घटकहरूबीच एकताको बहस र प्रयास चलिरहेको छ । त्यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लवबीचको भेटघाट र माओवादी केन्द्रको राजनीतिक ब्युरोको हालै सप्पन्न बैठकले ‘२१ औँ शताब्दीको समाजवाद’ पारित गरेर विप्लव नेतृत्वको नेकपासँग वैचारिक निकटता प्रदर्शन गर्न खोजेपछि पूर्वमाओवादीहरूबीचको परम्परागत एकता—बहस अझै उछालिएको छ । भदौ २८ गते काठमाडौँ खुलामञ्चबाट नेता सीपी गजुरेलले पार्टी एकताको प्रस्ताव सार्वजनिक गरेर एकताप्रेमी जनताको सहानुभूति लिने ‘कूटनीतिक इच्छा’ र विप्लवले उक्त विषयमा प्रतिक्रिया दिन वा जुहारी खेल्न अस्वीकार गरेपछि अनेकौँ आँकलन भैरहेका छन् । कहाँकहाँ छन् त समस्या ?
(१)वैचारिक मतभेत र पार्टी एकता
विप्लव नेतृत्वको नेकपाको बुझाइमा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखनदेखि महान् बहस (१९५७—१९६०) हुँदै आजसम्म पनि कम्युनिस्ट पार्टीमाथि र माक्र्सवादमाथि निरन्तर हमला हुँदै आएको छ । माक्र्स, लेनिन र माओका सङ्घर्षका प्राथमिकताहरू फरक—फरक थिए । आजका प्राथमिकताहरू फरक छन् । बीसौँ शताब्दीको माध्यमबाट साम्राज्यवादका पृष्ठपोषक कैयौँ चिन्तकहरूले नयाँ विचारहरू सार्वजनिक गरे जसअन्तर्गत उत्तरआधुनिकतावाद र उत्तरऔपनिवेशिक सिद्धान्त प्रमुख थिए । जसले १९ आँै शताब्दीका मानवताविरोधी, तार्किकताविरोधी नित्सेवादी विचार सापटी लिएर त्यसलाई कोरिबाटी गरेर मानवद्रोही विचारपुञ्ज निर्माण ग¥यो जसमा स्पेङगलरको प्रगतिवादविरोधी विचार, रुसी सर्वखण्डनवाद, नवकान्टवाद, अज्ञेयवाद घालमेल गरिएको थियो । यसै हतियारलाई उचालेर इतिहासको अन्त्य, कविताको अन्त्य, पदार्थको अन्त्य र दर्शनको अन्त्यको हल्ला गर्न थालियो । जापानी मूलका अमेरिकी प्राज्ञ फुकुयामा त्यो लहरमा अग्रपङ्क्तिमा आए । बर्लिन पर्खाल ढलेपछि त्यो प्रदूषित हावा झनै तीव्र भयो । त्यसकोे लहरमा कैयौँ माक्र्सवादी चिन्तकहरू पनि सङ्क्रमित हुन थाले र माक्र्सवादमा संशोधनको माग गर्न थाले । त्यसप्रकारको चिन्तन उत्तरमाक्र्सवादका रूपमा प्रकट भयो । कुनै समय उत्तरआधुनिकतावादले माक्र्सवादका आधारभूत सिद्धान्तमाथि जुन हमला गरेको थियो आज त्यो काम उत्तरमाक्र्सवादले गरिरहेको छ । चिन्तक सन्नी सिंहको शब्दमा यसलाई ‘रेडिकल प्याकेज’ मात्र गरिएको पुरानै सामान भनिएको छ । जसको दार्शनिक आधार नित्से र हाइजेनबर्ग नै हो । नेपालमा नवमाक्र्सवादको सङ्क्रमण प्रारम्भमा मनमोहन अधिकारी, मदन भण्डारी हुँदै प्रचण्ड—वली र माधव नेपालसम्म आइपुगेको छ ।
पार्टी एकताको विषयलाई नव—माक्र्सवादीहरूले सङ्गठनको विषय मात्रै बनाउने गरेका छन् तर यो विषय मूलतः विचार र राजनीतिको विषय हो । विचार र राजनीतिको विषय नटुङ्गिएसम्म सङ्गठनमा प्रवेश गर्नु सो सम्बन्धमा गैरमाक्र्सवादी सोचाइ हो । यो विचारधारात्मक सङ्घर्षको विषय हो जसको कारण सबै कम्युनिस्ट दाबी गर्नेहरूबीच तत्काल पार्टी एकता सम्भव नभएको बुझाइ नेकपाका नेताहरूको छ । यो वैचारिक विषय टुङ्गो नलागेसम्म एकताको सम्भावना न्यून देखिन्छ ।
(२) विप्लव र प्रचण्डबीच एकता
नेकपा (माओवादी) को २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले ‘२१ औँ शताब्दीको जनवाद’ दस्ताबेज पारित ग¥यो जसले त्यो जे चाहेको हो त्यसरी नै व्याख्या गर्न सक्ने—पाउने ‘मनचिन्ते झोला’ उखानजस्तै थियो । जनयुद्धलाई दक्षिणपन्थी दिशामा धकेल्नका लागि पार्टीको क्रान्तिकारी पङ्क्ति बाधक थियो । साम्राज्यवाद र आन्तरिक दक्षिणपन्थीको गठबन्धनमा चेन्नई, सिलिगुडी, दिल्ली र पटनाका गिरफ्तारीहरू भए । वर्गसङ्घर्ष (मूलतः खारा मोर्चा) र अन्तरसङ्घर्ष (गिरफ्तारी) आफ्नो अनुकूल भएपछि प्रचण्डमा गुणात्मक स्खलनपछि चुनबाङ बैठक भयो । निश्चित हिस्सा मात्रै काठमाडौँ जाने, सबै चुनावमा नजाने, सेना विघटन नगर्ने विप्लवका एकपछि अर्का प्रस्तावहरू अस्वीकार गरियो । कथित शान्तिप्रक्रियाका नाममा जनयुद्ध विसर्जन गरियो । प्रतिक्रियावादी सत्ता तथा फौज प्रयोग गरेर मध्यरातमा महान् जनमुक्ति सेना कब्जा गरियो । क्रान्ति, परिवर्तन, रूपान्तरण, समृद्धिका गँजडीगफ गर्दै पुरानै सत्तामा सम्पूर्ण विलय र आत्मसमर्पण गरियो । कारिन्दाले मालिकको खटनपटन मान्नुपर्ने हुन्छ । त्यसो नगरे सिस्नोपानी खानुपर्छ र गाँसबास गुम्छ । इन्द्रजात्रा बजेट कटौती, पशुपतिनाथ, भट्ट प्रकरण, कटवाल प्रकरण, सहिद घोषणामा असफलताले कारिन्दाको नियति भनिरहनु पर्दैन । अहिले प्रचण्ड ‘मैले राम्रो गर्न खोजेकै हो तर पुरानो सत्ताले दिएन’ भन्छन् ।
आज प्रचण्ड बिहान आत्महत्या गर्न मन लाग्यो भन्छन् । दिउँसो पार्टी विघटन गर्छु भन्छन् र साँझमा विद्रोहको धम्की दिन्छन् । यसबाट बुझ्न सकिन्छ, प्रचण्डमा भयानक छट्पटी छ, अन्तरविरोधी मानसिकता छ र अस्थिरता छ । यसो भन्दा जनयुद्धको भूमिका र प्रचण्डको योगदानको न्यूनीकरण गर्नु वा जनयुद्धको नेतृत्व अरू कसैले गरेको ठान्नु पनि अवसरवाद हो ।
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने रणनीतिअनुसार प्रचण्डले हालै ‘२१ औँ शताब्दीको समाजवाद पारित गरेका छन् जसले जे खोज्यो त्यै फाल्दिने, लागू गर्नु नपर्ने, जसलाइ भेटे पनि ‘क्रान्ति गर्ने तपाईं र म त हो नि’ भन्दै चुच्चे टोपी लगाइदिने ‘प्रचण्ड स्कुलिङ’ ले अब काम गर्दैन । प्रचण्ड युगको अन्त्य भैसकेको छ । दाह्री सेतै फुलेका, चप्पल लगाएका तालिबानी बुढाहरूले अमेरिकालाई लखेट्न सक्छन् भने प्रचण्डले नेतृत्व गर्न उमेरले छेक्दैन । आन्दोलनमा युवा र प्रौढ विचारले निर्धारण गर्छ । तर प्रचण्ड ‘सेकेन्ड म्यान’ भएर सोच्नै नसक्ने नेता हुन् ।
(३) विप्लव र किरणबीच एकता
माक्र्सवादको शास्त्रीय व्याख्या र सौन्दर्यचिन्तनमा किरणको व्यक्तित्व उचाइमा छ । इमानदार र दृढ नेताका रूपमा कम्युनिस्ट आन्दोलनले सम्मान गरेको छ तर राजनीतिक दाउपेज बुझ्न र सङ्गठन परिचालनमा उहाँ धेरै पछाडि हुनुहुन्छ जसको कारण बादल र गुरुङको दक्षिपन्थी यात्रालाई विप्लवहरूले निरन्तर भन्दाभन्दै सुन्नुभएन । विप्लवलाई स्थापित नेताले छर्केको हिलो पखाल्न सजिलो थिएन तर दृढतासाथ अगाडि बढे किरण एकता गरौँ भन्ने स्थानमा आएका छन् । यो निकै सकारात्मक पक्ष हो । हिजोका आरोपबारे आज उहाँ के सोच्दै हुनुहुन्छ ? त्यो उहाँको विषय हो । तर विप्लवहरूको हृदयमा किरण र उहाँका कतिपय बुज्रुकले लगाएको आरोप अमिट रहन्छन् । यद्यपि भावना मूल कुरा होइन । विप्लवहरु पनि एकता चाहन्छन् तर आजको पार्टी एकता २०४७÷०४८ सालको शैलीमा हुन गाह्रो छ । हिजो सबैलाई बहसमा तान्ने र क्रान्तिकारी निष्कर्षतिर लैजाने उद्देश्यले एकता भएको थियोे । आज निष्कर्षलाई कार्यान्वयन गर्ने स्थितिमा विप्लवहरू छन् । उनीहरू भन्छन्– किरण अनुसरणकर्ता र व्याख्यता हो तर अन्वेषणकर्ता होइन भन्ने उनीहरुको बुझाइ छ । मलाई नसोधी फुच्चेहरुले अन्वेषण गर्ने ? ठूला कुरा गर्ने ? उहाँको सोचाइ देखिन्छ । आज पनि पृथ्वी गोलो छ, भन्दा लौरो उचाल्ने र दन्डित, अपहेलित हुनुपर्ने कोपर्निकसको नियती कम्युनिस्ट आन्दोलनले भोगिरहेको छ । नेकपा (क्रामा) ले पार्टी एकतालाई २०४७÷०४८ को चस्माले हेरिरहेको देखिन्छ । तर विप्लवहरू २०५२÷०६१ सम्मका एकता र ध्रुवीकरणको चस्माले हेरिरहेका छन्् । किरणहरू बहसमा जान चाहनुहुन्छ, विप्लवहरू क्रियान्वयनमा । नेतृत्व र कार्यदिशालाई बहसको चक्रब्यूहमा फसाउने गोलचक्करप्रति विप्लवहरूमा रुचि छैन । एकता नेतृत्व र कार्यदिशाको प्रश्न जटिल बनेकोछ ।
(४) विप्लव र आहुतिबीच एकता
माक्र्सवादका आधाभूत मूल्यहरूलाई समात्ने र नयाँ अन्वेषण गर्ने, पुरानै ज्ञानको अनुसरणले मात्र क्रान्ति हुदैन । भौतिक विज्ञान गतिमा छ भने समाज विज्ञानलाई पनि गतिमा बुझ्नुपर्छ भन्ने मोटो धारणामा नेकपा र वैज्ञानिक समाजवादी पार्टीमा एकरूपता छ । नेतृत्वको प्रश्नमा पनि समस्या नहोला । जातीय उत्पीडनको सन्दर्भमा बहसहरू अझ बढाउनु पर्दछ । आहुतिहरूले बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्नुभएको छैन । तर यसलाई भविष्यको विषय बनाउने र आजैदेखि तयारी नगर्ने सोचाइले बल प्रयोगको सिद्धान्तप्रति नै अरुचि हो कि भन्ने विप्लवहरूको आशङ्का छ । आहुतिहरु जेरिमी रिफ्किनका विचारबाट दीक्षित देखिन्छन् । यहाँ यस विषयमा बिस्तृत व्याख्या सम्भव त छैन तर जेरिमीको दाबीअनुसार पुँजीवाद आफैँ ढल्दैछ भनेपछि किन अनावश्यक बलिदान गर्ने त ? भन्ने प्रश्न आउँछ । त्यसो हो भने त्यो माक्र्सवादमाथि लुकेर आक्रमण गरेझैँ हुनेछ । त्यसैगरी प्रविधिले श्रमको स्थान लियो । श्रम छैन, श्रमिकले क्रान्ति हुँदैन भन्ने डरलाग्दो चिन्तन उठ्दैछ । १ सय श्रमिकले गर्ने काम एउटा यन्त्रले गर्छ । त्यो यन्त्र नियन्त्रण गर्न पनि श्रमिक चाहिन्छ । ९९ जना श्रमिक घटाएर सबै मुनाफा पुँजीपतिको हातमा जान्छ । अब १ जनाको श्रम–काल ९९ जनामा विभाजित गर । प्रविधिले घटाएको श्रम–कालको फाइदा श्रमिकले पनि पाउनुपर्छ भन्ने विप्लवहरू ठान्छन् । अर्को शब्दमा श्रम समाप्त भएको होइन, श्रमको उत्पादकत्व र रूपमा गुणात्मक परिवर्तन भएको मात्र हो भन्ने उनीहरूको मान्यता छ । यसले क्रान्तिको आधारभूत शक्तिछनोटमा समस्या पार्छ । विप्लव र आहुति नेतृत्वका पार्टीबीच एकताका लागि यी दुई विषय समस्याका रूपमा रहेको देखिन्छ ।
(५) विप्लव र ऋषि कट्टेलबीच एकता
ऋषि कट्टेल एकजना इमानदार र पाको नेता भएकोमा दुईमत छैन । रणनीतिक संयुक्त मोर्चामा रहेका चार घटकमध्ये कट्टेल नेतृत्वको नेकपा र विप्लव नेतृत्वको नेकपा विचारधारात्मक र भावनात्मक रूपले सबभन्दा निकट छन् । विचार र राजनीतिमा समस्या नहुने, भावनात्मक तथा मनोविज्ञानको सम्बोधन पनि हुने गरी पार्टी एकता निष्कर्षमा पु¥याउन आवश्यक छ । उखानै छ ‘जनावर खेद्ने पछाडिबाट, मान्छे खेद्ने अगाडिबाट’ रणनीतिक सयुक्त मोर्चामा रहेका सबै घटकबीच पार्टी एकता आवश्यक छ तर त्यो तत्काल सम्भव देखिन्न । देशलाई उत्प्रेरित गर्ने पनि यो एकता अर्थपूर्ण हुनेछ ।
आज राजनीतिक क्षेत्रमा ओलीबाहेक कम्युनिस्ट एकता, प्रचण्डबाहेक एकता, माधव नेपालसहित एकता, रणनीतिक संयुक्त मोर्चाबीच एकता, पूर्वमाओवादीहरूबीच एकताको चर्चा भैरहेको छ । जहाँ विचार र राजनीतिलाई ओझेलमा पारिएको छ । यस्तो समयमा कम्युनिस्ट क्रान्तिकारीहरूले विचार र राजनीतिको बहस छेड्नुपर्छ । क्रान्तिकारी विचार र त्यो विचारको रक्षा गर्नसक्ने अर्थात् विचारअनुसारको नेतृत्वका पक्षमा जनमत निर्माण गर्नुपर्दछ ।
स्राेत: जन बिहानी राष्ट्रिय मासिक -२