कम्युनिस्टहरूका बीचमा ‘पार्टी एकता र संयुक्त मोर्चा’ को प्रश्न

National Political

सन्तोष बुढामगर ‘विषम’

आजभोलि कम्युनिस्टहरूका बीचमा एउटा हल्ला छ— ‘पार्टी एकता’ को । एकातिर प्रचण्डले ‘पूर्वमाओवादीहरूका बीचको एकता’ को कुरा गरिरहनुभएको छ भने अर्कोतिर विप्लवसँग ‘छिट्टै एकता हुँदैछ’ भन्ने हल्ला पनि सँगसँगै चलाइरहनुभएको छ । प्रचण्ड अर्कोतिर माधव नेपालसँग ‘पार्टी एकता’को पनि हल्ला गरिरहनुभएको छ । वार्ताप्रक्रियामा आएपछि केपी वलीले समेत पार्टी एकताको प्रस्ताव ल्याउनुभयो । किरण, कट्टेल, आहुति, रवीन्द्र, गोपाल किराँती, सुशील सबैको प्रस्ताव एउटै छ ‘पार्टी एकता’ गरौँ । हामीले ‘पार्टी एकता’ को प्रश्न गम्भीर विषय भएकाले भोलि बिहानै ‘पार्टी एकता’ असम्भव भएकाले यसलाई केन्द्रमा राखेर सबै कम्युनिस्टहरूका बीचमा यसबारे गम्भीर छलफल गर्दै हाल ‘संयुक्त मोर्चा’ बाट अघि बढौँ भन्ने हाम्रो प्रस्ताव छ ।

यसबीचमा क. विप्लवलेएक चरण सबै पार्टीका नेताहरूलाई भेटेर अलगथलग भएर रहेका कम्युनिस्टहरूका बीचमा एकताको आधार तयार पार्न र अन्य राजनीतिक दलका नेताहरूसँग सहकार्य र देशलाई उचित राजनीतिक निकासदिनसमसामयिक विषयहरूका साथै ‘जनमतसङ्ग्रह’ र ‘वैज्ञानिक समाजवाद’ को प्रस्ताव पनि राखिसक्नुभएको छ । आजको बदलिएको राजनीतिक परिवेशमा यो प्रस्ताव जायज र आवश्यक पनि छ ।

आजभोलि प्रायः माओवादी केन्द्रसँग सम्बन्धित सबै तहका नेता–कार्यकर्ताहरूसँगको भेटमा सबैको एउटै अभिव्यक्ति आउँछ, ‘तुरुन्त पार्टी एकता गरौँ । हामी फुटेर कमजोर भयौँ । हामी मिले फेरि सबभन्दा ठूलो पार्टी बन्न सक्छौँ ।’ क. कट्टेल, किरण र आहुतिसँग प्रतिबन्धकालमै यस विषयमा निकै छलफलहरू पनि भए । ‘रणनीतिक संयुक्त मोर्चा’ का बारेमा विस्तृत छलफल गरी एउटा अवधारणापत्र तयार पारी यसको प्रारम्भिक संरचनासमेत बनाई देशव्यापी रूपमा केही कार्यक्रमहरूसमेत सम्पन्न गरिसकेका छौँ । यसले केही हदसम्म सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।

निश्चय नै ‘पार्टी एकता’ साह्रै राम्रो पक्ष हो । यो जनताको मन जित्ने साह्रै राम्रो तरिका पनि हो किनकि जनता जहिले पनि एकताका पक्षमा हुन्छ, ‘फुट र विभाजन’ लाई जनताले हेर्न र सहन सक्दैन । त्यसैले धेरैजसोको नियति देखावटी रूपमा भए पनि जनताको अगाडि पार्टीएकतामा जोड दिँदै आएको पाइन्छ । तर सबैको भित्री मनसाय भने अर्कै हुन्छ जो जनताले झट्टै बुझ्न सक्दैनन् । यो रूपमा एकता, सारमा एकताविरोधी हुन्छ । जनता र कार्यकर्ताको भावना र चाहना जहिले एकता हुनुपर्छ, मिल्नुपर्छ भन्ने हुन्छ, यो बिल्कुल जायज र न्यायोचित पनि छ । यसको हामी कदर र समर्थन पनि गर्दछौँ । कम्युनिस्टहरू फुट्नु हुँदैन, जुट्नुपर्छ । सबै कम्युनिस्टहरू एउटै पार्टी र एक भएर जानुपर्छ । यो हाम्रो पनि चाहना हो तर अवसरवादी नेताहरूको मन÷विचार भने जनता र कार्यकर्ताको जस्तो पवित्र नभएर स्वार्थमिश्रित हुन्छ जसले उनीहरू एउटा भन्ने अर्को गर्ने गर्दछन् । जनतालाई ढाँट्ने गर्दछन् ।

केपी, प्रचण्ड, किरणलगायत कम्युनिस्ट घटकहरूको ‘पार्टी एकता’ को प्रस्तावको पछाडिको मनसाय भने भिन्न–भिन्न छ । संसद्वादी कम्युनिस्टहरूको, विशेषतः केपी र प्रचण्डको ‘पार्टी एकता’ को मनसाय कम्युनिस्ट पार्टीलाई भोट बैङ्क बनाउनेमा छ र पार्टीलाई चुनावमा सबभन्दा ठूलो पार्टी बनाएर सरकारको नेतृत्वमा पुग्नेछ । साना कम्युनिस्ट घटकहरूको ‘पार्टी एकता’ को मनसाय राजनीतिक अस्तित्व कायम गर्नुमा छ । क्रान्तिकारीहरूको ‘पार्टी एकता’ को मनसाय क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई सफल पार्ने र देशको मुहार बदल्ने रहेको छ ।

एकताको कुरा गर्दा यहाँ ३ पक्षमा एकता जरुरी छ ः पहिलो वैचारिक एकता, दोस्रो राजनीतिक एकता र तेस्रो साङ्गठनिक एकता । वैचारिक एकता भनेको विचारमा एकता हो । कम्युनिस्ट पार्टी विचार र वर्गका आधारमा एकताबद्ध मानवसमूह पनि हो । ती विचारमा मिलेनन् र वर्गविचलन भएभने अलगथलग हुन्छन् । दोस्रो राजनीतिक एकता भनेको राजनीतिक चरित्र र दृष्टिकोण मिल्नेहरूका बीचमा एकता हो । विचार जहाँ भए पनि राजनीति मिल्यो भने एकता हुन सक्छ, जस्तो संसद्वादी राजनीतिका अनुयायीहरू अन्तिममा संसदीय व्यवस्थाका पक्षमा एक हुन्छन् तर यो एकता दिगो हुँदैन । तेस्रो, साङ्गठनिक एकता । साङ्गठनिक एकता भनेको अलगअलग रहेका पार्टी, सङ्गठनहरूलाई एक ठाउँमा मिलाउनु हो । वैचारिक एकता र राजनीतिक एकता संरचनामा हुँदैन । यो विचार र भावनामा हुन्छ । सङ्गठनात्मक एकता विधि, पद्धति र संरचनामा हुन्छ ।

कहिलेकहीँ विचार र भावनालाई पन्छाएर स्वार्थकेन्द्रित एकता हुने गर्दछ । यस्तो एकता धेरै दिन टिक्न सक्दैन । जस्तै, केपी र प्रचण्डको एकता । साङ्गठनिक एकतालाई दिगो र बलियो बनाउने बैचारिक र राजनीतिक एकताले हो । सङ्गठनात्मक एकता गर्नुपूर्व वैचारिक र राजनीतिक एकताको आधार तयार पार्नु एकताका पक्षधरहरूको पहिलो कार्य हो । एकताका आधार मजबुत भएपछि गरिने एकता वास्तविक एकता हो । यो साङ्गठनिक एकता हो । यो एकताका पक्षधरहरूले गर्ने दोस्रो कार्य हो । यी कुराहरूमा ध्यानै नदिई गरिने ‘पार्टी एकता’ को कुनै अर्थ हँुदैन ।

केपी ओली र प्रचण्डहरूले हामीसँंग गर्ने भनेको पार्टी एकता साँच्चैको पार्टी एकता होइन । यसका पछाडिको मनसाय आत्मसमर्पण गराउने रहेको छ । प्रतिबन्धमा पनि हामीलाई आत्मसमर्पण गराउन असाध्यै बल नगरेका होइनन् । त्यसरी सम्भव नभएपछि ३ बुँदेमा आए र सीधै ‘पार्टी एकता’ को प्रस्ताव राख्नुको पछाडि राजनीतिक रूपले आत्मसमर्पण गराउनु र साङ्गठनिक रूपले नेकपालाई उनीहरूको पार्टीमा विलय गराएर क्रान्तिकारी पार्टीको अस्तित्व मेटाइदिने मनसाय झल्कन्छ । सहमति लागू नगर्नुको एउटा कारण यो पनि हो । यो एक प्रकारले हामीलाई दबाबमा राख्ने मनसाय पनि हो । त्यो तरिका पार्टी एकता गर्ने तरिका होइन । फेरि ३ बुँदे सहमति गर्दा पनि हामी आत्मसमर्पण गरेर आएका थिएनौँ । त्यसैले उहाँहरूको त्यस्तो केटाकेटी पाराको र आत्मसमर्पण शैलीको पार्टी एकतालाई हामीले सीधै इन्कार ग¥यौँ किनकि सही मनसायले गरिएको थिएन । यो एकता केपी, प्रचण्ड र माधवहरूका बीचमा भने सही हुन सक्छ किनकि उहाँहरूबीच विचार र राजनीतिमा कुनै अन्तर छैन । हामीसंस्ग पार्टी एकता गर्न कि हामीहरू यो संसदीय व्यवस्था र संविधान मानेर जानुुप¥यो कि उहाँहरू त्यो छाडेर आउनुप¥यो । अनि पार्टी एकताबारे सहज छलफलको ढोका खुल्छ ।

त्यसैले अहिले उनीहरूले भन्ने गरेको एकता वास्तविक एकता होइन । यो प्रचण्ड र केपीहरूले नबुझेर गरेको कुरा पनि होइन । यसको पछाडि ढाँट, छलकपट छ । जनताको एकताको चाहनामा खेलबाड गर्ने षड्यन्त्र छ । यो हामी इमानदार क्रान्तिकारी सिपाहीको नाताले जनतालाई यथार्थ भन्नैपर्छ र भ्रममा पर्न दिनु हुँदैन ।

वास्तवमा हामीले पार्टी एकताको एउटा अभियानको थालनी र नेतृत्व गरेका छौँ । हामीले गरेको पार्टी पुनर्गठनको प्रयास नै एउटा बृहत् कम्युनिस्ट एकताको पहलु हो । साङ्गठनिक कोणबाट हेर्दा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा एकीकृत माओवादीबाट विद्रोह कम्युनिस्ट पार्टीमा एउटा फुट अवश्य थियो किनकि त्यो पार्टीमा न विचार मिल्न सक्यो, न राजनीति मिल्यो, न साङ्गठनिक सेटिङ नै मिल्न सक्यो । पार्टी एक हुँदा पनि भित्र पार्टी फुटिसकेको अवस्था थियो । यस्तो अवस्थामा सँगै बस्ने भनेको कचिङ्गल गरिरहने र चोचोमोचो मिलाएर अस्थायी रूपले मिलेर बस्नुबाहेक अरू केही हुँदैन । यसले जनता र क्रान्तिलाई फाइदा गर्दैन । यसको परिणाम पार्टी फुट अनिवार्य बन्न पुग्यो । यो हामी कसैको चाहना थिएन, क्रान्तिको एउटा अनिवार्य नियम थियो । यसलाई अर्को कोणबाट जब वस्तु र त्यसको अन्तवस्तुलाई हेर्छौं, यो अनिवार्य वस्तुगत आवश्यकता थियो । यसलाई एकता र फुटको द्वन्द्ववाद पनि भनिन्छ । फुट आफँै एकताको एउटा प्रक्रिया पनि हो । सजातीय पक्षहरूबीचको एकता र विजातीय पक्षसँगको फुट । यो नै एकता र फुटको द्वन्द्ववाद हो । वस्तुलाई एउटै आँखा र दृष्टिले हेर्दा कि एकता मात्र देखिन्छ कि फुट मात्र देखिन्छ । हाम्रो विद्रोह वैचारिक र सैद्धान्तिक हिसाबले संशोधनवादसित र राजनीतिक रूपले संसद्वादसँगको विद्रोह थियो । साङ्गठनिक हिसाबले पार्टीको अवसरवादी, विचलनवादी नेतृत्वको विचार, शैली र नेतृत्वसँग सम्बन्धविच्छेद थियो । वैचारिक धाराको हिसाबले एउटा क्रान्तिकारी वैचारिक धारा, आन्दोलनको नेतृत्वको निर्माण, क्रान्तिकारी कम्युनिस्टहरूबीचको एकता र ध्रुवीकरणको महाअभियानको थालनी पनि थियो जो आज एउटा आन्दोलन बनेर देशको परिवर्तनकारी धाराको एउटा मूल प्रवाह बनेको छ । यस अर्थमा एकीकृत जनक्रान्ति आफैँ आन्दोलनमा एकताको एउटा महाअभियान पनि हो ।

जहाँसम्म केपी, प्रचण्डहरूसँगको ‘पार्टी एकता’ को प्रश्न छ— यो राजनीतिक र वैचारिक दुवै हिसाबले अन्तर छ । पछिल्लो चरणमा प्रचण्ड कमरेडहरू पनि केपीको एमालेको वैचारिक राजनीतिक लाइनमा पतन भएपछि दुवैसँग वैचारिक र राजनीतिक हिसाबले कुनै अन्तर रहेन । उनीहरूको पनि हामीलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा कुनै अन्तर थिएन । हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउने सवालमा उहाँहरूको समान धारणा र दृष्टिकोण थियो । पछि उहाँहरूका बीचको फुट आफ्नै कारणले भएको थियो, त्यो स्वार्थकेन्द्रित थियो । त्यसमा कुनै राजनीतिक र वैचारिक भिन्नता थिएन र अहिले पनि छैन । त्यसैले उनीहरूले भन्ने गरेको एकता उनीहरूको राजनीति र विचारमा आत्मसमर्पण वा विलय गराउने प्रश्न हो । एक–दुई पद र मन्त्री पाउने कुराले विचारमा कुनै अन्तरभेद गर्दैन । सवाल क्रान्ति, विचार र राजनीतिक कार्यदिशाको थियो । त्यो हिजो पनि अन्तर भएकाले अलगअलग बाटो हिँड्नुपरेको हो । आज पनि अन्तर छ, हिजोको भन्दा कुनै मानेमा भिन्न छैन । यस्तो अवस्थामा उहाँले भन्ने ‘पार्टी एकता’ को अर्थ पहिलो विप्लवलाई पनि संसद्वादी धारमा तान्नु हो । दोस्रो संसद्वादी पार्टी एकता गरेर विप्लवको क्रान्तिकारी अस्तित्व मेटाइदिने हो र तेस्रो विप्लवसँग छिट्टै एकता हुँदैछ भनेर आफ्ना कार्यकर्ताहरूलाई थामथुम पार्नु वा विप्लवले मानेनन् भनेर ‘पार्टी एकता’ विरोधी विप्लव हुन् भनेर विप्लवमाथि दोष थोपर्ने मनोवैज्ञानिक तरिका हुनसक्छ ।

अतः देशको समग्र राजनीतिक परिस्थितिलाई ध्यान दिँदै राजनीतिक रूपले सबैसँग शान्तिपूर्ण सहकार्यको मार्गप्रशस्त गर्न र मुलुक र जनतालाई अग्रगामी राजनीतिक निकास पनि दिन, जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन, कम्युनिस्टहरूका बीचमा एउटा साझा एजेन्डामा एक भएर भाबी कम्युनिस्ट एकताको बलियो आधार तयार पार्न तत्काल एउटा बृहत् कम्युनिस्ट मोर्चा निर्माण गर्न र देशलाई एकपटक नयाँ सोचाइ र नयाँ अभ्यासबाट अग्रगमनतिर डो¥याउन आवश्यक भएकाले हाम्रो पार्टीले सबैको साझा एजेन्डका रूपमा वैज्ञानिक समाजवाद कि विद्यामान दलाल पुँजीवाद ? भन्ने विषयमा जनतालाई नै मतबाट आफूलाई मन परेको व्यवस्था रोज्न ‘जनमत सङ्ग्रह’ को एजेन्डा अगाडि सारेको छ । यो आजको राजनीतिक परिवेशमा सबैको उपयुक्त साझा एजेन्डा हुनसक्छ ।

यो सत्य हो– आज देश र जनताको जुन दशा छ, यसको कारण कुनै व्यक्तिविशेषभन्दा असफल संसदीय व्यवस्थाको कारणले हो । यो व्यवस्थामा जो गए पनि त्यस्तै हुने हो र आजको देश र जनताको विकराल समस्या यो व्यवस्थाबाट हल हुन सक्दैन । यसको हल वैज्ञानिक समाजवादले मात्र गर्दछ । नेपालको राजनीतिक झगडा नै यसैमा छ । एकथरीले यो संसदीय व्यवस्थालाई उत्तम व्यवस्था ठान्छन् तर अर्काथिरीले यो व्यवस्था नै सबै खराबीहरूको स्रोत भएकाले यसको विकल्प समाजवादी व्यवस्था हो भनिरहेको सन्दर्भमा कुन ठीक, कुन बेठीक यसको छिनोफानो गर्ने अधिकार इतिहासका निर्माता महान् जनतालाई दिनुपर्छ । यसका लागि जनमतस ङ्ग्रह नै सबभन्दा उपयुक्त छ ता कि फेरि यसैका कारण देश हिंसाको सिकार नबनोस् ।

अतः लामो समय संसदीय व्यवस्थाले थिलथिलो भएको देश र त्यो संसदीय दलदल, र¨ीच¨ी समाजवादको झिलिमिलीमा अलमिलएका कम्युनिस्टहरूलाई उद्धार गर्ने र चिराचिरामा विभक्त कम्युनिस्ट पार्टीहरूलाई एकताको बाटो देखाइदिने सबभन्दा उपयुक्त राजनीतिक एजेन्डा पनि यही जनमतसङ्ग्रह हुनसक्छ । यसले वैज्ञानिक समाजवादको फलामे ढोका (क्ष्चयल न्बतभ) पनि उघारिदिनेछ । यसले नेपालमा समाजवाद कस्तो हुनुपर्छ ? भन्ने बहस विभिन्न राजनीतिक दल, सङ्घसंस्था र समाजका विभिन्न मञ्चहरूमा पैरवी गर्नेछ । यसका असली न्यायाधीश जनता हुनेछन् र जनताले जनअदालतबाट यसको छिनोफानो गर्नेछन् । यसले नेपालमा राजनीतिक रूपले हुने सशस्त्र द्वन्द्व र हिंसालाई पनि न्यूनीकरण गर्नेछ । यो नेपालमा सशस्त्र द्वन्द्वको एउटा उपयुक्त विकल्प पनि बन्नेछ । यसले कम्युनिस्ट र गैरकम्युनिस्ट, समाजवाद तथा समाजवादविरोधीहरूबीच पनि भेद छुट्ट्याउनेछ । जनतालाई साँच्चैको समाजवादविरोधी शक्ति र मित्रशक्तिको पहिचान गर्न पनि सजिलो हुनेछ । आफ्नो भाग्यको फैसला गर्ने अधिकार आफैँ प्राप्त गर्नेछन् । यो साँच्चैको लोकतन्त्रको एउटा अभ्यास हुनेछ ।

अन्त्यमा आजको देश र जनता तथा कम्युनिस्टहरूको पनि एकता, सहकार्य, स्वच्छ प्रतिस्पर्धा र उचित राजनीतिक निकासको एक मात्र उपयुक्त विकल्प ‘जनमतसङ्ग्रह’ भएकाले बिनापूर्वाग्रह एकजुट भएर अगाडि बढौँ । यो नै वास्तवमा जनताको चाहना र भावनाको कदर र सम्मान हुनेछ र जनताको लामो समयदेखिको दिगो शान्ति, परिवर्तन तथा विकास र समृद्धिको आकाङ्क्षा पूरा हुनेछ ।

स्राेत: जन बिहानी राष्ट्रिय मासिक -२ 

Leave a Reply

Your email address will not be published.