हेमन्त प्रकाश वली/चितवन, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रकाशन रातोखबर प्रकाशन गृह प्रा.लि.द्वारा संचालित रातोखबर साप्ताहिकका जिल्ला प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण कार्यक्रम बिहिवार चितवनमा सम्पन्न भएको छ।
देशभरका जिल्ला प्रतिनिधि सहभागी भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्य रहेको थियो।
भेला तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव विप्लवले रातोखबर समाजवादी क्रान्तिको वाहक भएको बताए। दलाल सत्ताको अन्यायपूर्ण प्रतिबन्धलाई सचेततापुर्वक रातोखबरले जनतालाई सुसूचित गरेको विप्लवको भनाइ थियो। जनताको अपेक्षा,एकीकृत जनक्रान्ती सफल गर्नुमा रातोखबरको अहम भुमिका साबित हुने विप्लवले बिश्वास व्यक्त गरे । उनले भने, ‘प्रचण्ड,बाबुरामले बस्तुगत परिस्थितिलाइ बुझ्न सकेनन,लड्न सकिदैन भन्ने निष्कर्ष निकाले तर क्रान्ती नया ढंगले हुन्छ, लड्न र जित्न सकिन्छ ।’
रातोखबर बर्गबैरीसंग लडिरहेको बताउदै, अबको लडाइ सुचना प्रबिधीसंग लड्नुपर्ने विप्लवको भनाइ थियो। बर्गबैरीले अनेक दुस्साहस गर्दै रातोखबरलाइ जनतामाझ पुग्न नदिन अनेक हत्कण्डा प्रयोग गरिरहेका छन तर हाम्रो कुरा सत्य छ त्यसैले हाम्रो जित सुनिस्चित छ, विप्लवले भने ।
संचारकर्मीलाई प्रशिक्षित गर्दै विप्लबले भने, ‘पार्टी सुन्दर फुल हो, बिषालु हावाका विरुद्ध लड्नुपर्छ, अवसरवादिहरुले गर्ने हमलाका विरुद्ध प्रतिरोध गर्नुपर्छ।’
कार्यक्रममा रातोखबर प्रकाशन गृह प्रा.लि.का निर्देशक एवम प्रकाशन इन्चार्ज वसन्त श्रेष्ठ,नेकपाका केन्द्रीय सदस्य एवम कार्यालय सचीव असल, जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्मा, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि डा.शिव बस्याल,जनपत्रकार संगठन नेपाल भेरी-कर्णाली संयोजक बिनोद बिष्ट,रातोखबर प्रकाशन गृह प्रा.लि.का व्यवस्थापक झनकको आतिथ्य रहेको थियो।
कार्यक्रममा प्रदेश १ बाट अनिता गजुरेल, प्रदेश ३ बाट नहकुल चौलागाईं, प्रदेश ५ बाट राजेन्द्र रावत क्षत्री, प्रदेश ६ बाट मोहन धामी र प्रदेश ७ बाट गणेश एसकेले समग्र प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नो महत्त्वपूर्ण भनाइ तथा मन्तव्य जनपत्रकार संगठन नेपाल भेरी-कर्णाली व्युरोका संयोजक बिनोद बिष्ट, लुम्बिनी व्युरोबाट डा.शिवशंकर बस्याल,जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक दर्शनले राखेका थिए । मन्तव्यको क्रममा बक्ताहरुले रातोखबरले वैज्ञानिक समाजवादको मिसन पूरा गर्न अहोरात्र खटिरहेको बताए ।
पत्रकारिता वर्गीय पक्षधरतामा आधारित भएर गर्नुपर्ने र आफ्नो बर्गको रक्षार्थ कलमजिवीहरुले कलम चलाउनुपर्ने कुरामा बक्ताहरुको जोड थियो। रातोखबर प्रकाशन गृह प्रा.लि.का व्यवस्थापक आशिषको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता रातोखबर प्रकाशन गृह प्रा.लि.का सम्पादक अशोक सुबेदीले गरेका थिए भने कार्यक्रमको संचालन रातोखबरका प्रवन्ध निर्देशक धनराज शाहीले गरेका थिए ।