प्रहरीको प्रतिरोध गर्दै एमसीसीविरुद्ध संसद घेराउ, ७५ जना गिरफ्तार

National News Political

काठमाडौँ, मंसिर २८ गते । एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले आज बानेश्वरस्थित संसदभवन घेर्ने कार्यक्रम सुरु भएको छ । काठमाडौँको तीन वटा ठाउँबाट एकै साथ सुरु भएको विरोध प्रदर्शनसहितको र्याली संसद भवन घेराउ गर्न पुगेको छ । बबरमहलबाट जुलुस सुरु भई बानेश्वर हुँदै संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामा, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतले गरेका छन् भने मध्यबानेश्वरबाट जुलुस सुरु भई बानेश्वरस्थित संसदभवन पुग्ने र्यालीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतले नेतृत्व गरेका छन् ।

त्यसैगरी मिनभवनबाट सुरु भएको जुलुसको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादीका आहुती र नेपाल कम्युनिष्ट पार्टीका नेता नविन लगायतले नेतृत्व गरेका छन् । एमसीसी विरुद्धको प्रदर्शनसहितको सबै जुलुस बानेश्वारस्थित संसदभवन नजिक प्रदर्शन गरिरहेको छ ।

यसैबिच मध्यबानेश्वरबाट संसदभवनको ३ नम्बर गेट नजिक पुगेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुसमा सहभागी राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनबाट गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल बहादुर शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, केन्द्रीय सदस्य डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी लगायत ७५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । निषेधित क्षेत्र बनाएर प्रहरीले जुलुस राेक्ने र हस्तक्षेपका बाबजुद पनि एमसीसी खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *