चितवन, मंसिर २१ गते । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा विद्यार्थी जागरण अभियान २०७८ को उद्घाटन गरेको छ । सोमबार सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा कार्यक्रम गर्दै “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” भन्ने नाराका साथ जिल्ला स्तरमा अखिल (क्रान्तिकारी) ले जागरण अभियान २०७८ को उद्घाटन गरेको हो ।
उद्घाटन सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज रुद्र भट्टराईले अभियानले दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादका पक्षमा जनमत सिर्जना गर्ने बताउँदै व्यवस्था परिवर्तन र विद्यार्थी आन्दोलनको कोषेढुङ्गा साबित हुने बताए ।
अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति चितवन, अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवन र अखिल (क्रान्तिकारी) सिटिईभिटी जिल्ला समितिले संयुक्त रुपमा गरेको जागरण अभियान उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज रुद्र भट्टराई प्रमुख अतिथि रहेका थिए । त्यसैगरी नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती पश्चिम विषेश प्रदेशका इन्चार्ज सुरेन्द्र बस्नेत, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य लक्ष्मण विक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कोपिला अधिकारी अतिथि रहेका थिए ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला समिति संयोजक सिद्धान्तले अध्यक्षता गरेका थिए भने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज रेम्बोर्जे लामाले सञ्चालन गरेका थिए ।
गत मङ्सिर ९ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा केन्द्रीय रुपमा उद्घाटन गरेको विद्यार्थी जागरण अभियान २०७८ आगामी ३ महिनासम्म सञ्चालन हुने अखिल (क्रान्तिकारी) चितवनले जनाएको छ ।