साधन राम्जाली/म्याग्दी मंसिर ८ गते । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । बेनीमा बुधबार मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।
‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ’, उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।’
उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।
तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे ! व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’
‘म अहिले तपाईहरुको बीचमा इमानपूर्वक भन्छु दुई चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानूनको बाधा छ भन्नुभयो ।’
उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरु पनि तीन बँुदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेलविरुद्ध लड्न खोज्दा आफूहरुलाई प्रतिबन्ध लगाइएको दाबी गरे ।
उनले देशमा संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् ।
‘नेपालमा पूँजिपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन संकटमा फस्दै जानु ,समस्यमा पर्नु अनिवार्य छ ’, उनले थपे, ‘दुई तिहाई हुँदा पनि सरकार ढल्यो, संसद ढल्यो, कानूनहरु पनि लथालिङ्ग छ । तपाइ हामीले हेर्दै छौं । अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौं ।’
उनले न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाए । उनले भने, ‘पहिले हामीलाई तपाइले कानून हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायाधीशहरुले अहिले संविधान हातमा लिएका छन् ।’
उनले नेपालमा मगर समुदायको ठूलो योगदान रहेको समेत उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौं वर्षको छ । क्रान्तिका लागि, देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ’, उनले भने, ‘ विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’
कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिव उसा घर्ति घिमिरे, म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायतले बोलेका थिए ।
तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जमुक्ती सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक तथा पुर्व सांसद गमबहादुर श्रीस मगरले बताए ।