तीनबुँदे सहमतिमा संसदीय व्यवस्था स्वीकार्ने भनिएको छैन : दिपक

News Political

वैज्ञानिक समाजवादको लागी सहकार्य गर्न तयार छौँ

नेपालगञ्ज, मंसिर  ८ गते  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने दिपकले संसदीय व्यवस्थालाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका छन् । आठौँ पार्टी पुर्नगठन दिवसको अवसरमा मंगलबार बाँकेको नेपालगंजमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता चलाउनेले संसदीय व्यवस्थालाई आफ्नो पार्टीले स्विकार नगरेको बताएका हुन् ।

भर्खरै सरकारसँग भएको वार्ताको क्रममा नेकपाको तर्फबाट दुई सदस्यीय वार्ता टोलीका सदस्य समेत रहेका नेता चलाउनेले आफ्नो पार्टीले तीन बुँदे सहमति गर्दा कुनै पनि कोणबाट संसदीय व्यवस्था स्विकार नगरेको जिकिर गरे ।

`हामीले सरकारसँग गरेको तीन बुँदे सहमति स्पष्ट छ । यसमा कुनै रहस्य छैन । लुकेको विषय नि केही छैन, जे छ स्पष्ट छ`, उनले भने ।

साथै बाहिर वार्ताको विषयमा विभिन्न कोणबाट जनतामा नियोजित भ्रम छरिएको पनि उनले बताए । वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउँदै उनले यसको एक मात्र निकास वैज्ञानिक समाजवाद भएको जनाए ।

`संसदीय व्यवस्था असफल भइसक्यो, हाम्रो पार्टी यो असफल भइसकेको व्यवस्थामै फर्किने भन्ने हुँदैन । हामी वर्तमान राजनीतिक संकटको अग्रगामी निकास चाहन्छौँ । यसको अग्रगामी निकास भनेकै वैज्ञानिक समाजवाद हो र हामी यसैको लागी इमानदारीपूर्वक प्रयत्न गरिरहेका छौँ ।`, उनले भने ।

त्यस्तै उनले आफ्नो पार्टीले तीन बुँदे सहमतीको इमानदारीपूर्वक पालना गरे पनि सरकारले सहमति कार्यान्वयन गर्नुको साटो विभिन्न बहानाबाजी गरेर सहमति उलङ्घन गरिरहेको आरोप लगाएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका चलाउनेले माओवादी केन्द्रसँगको पार्टी एकताको प्रसङ्गमा उनले पार्टी एकताको हल्ला बजारीया हल्ला मात्र रहेको र एकीकृत जनक्रान्तिको कार्यदिशामा, जनता र राष्ट्रको मुद्दामा कुनै कम्प्रोमाइज गर्न नसकिने बताए ।

यसै प्रसंगमा उनले, विचार र राजनीतिबाट स्खलित भएकाहरूले क्रान्तिकारी ध्रुवीकरणलाई रोक्न एकतर्फी हल्ला मच्चाएको दाबी गरे । तर वैज्ञानिक समाजवादका लागि गरिने हरेक प्रयत्न र पहलकदमीमा अग्रगामी शक्ति जोसुकैसँग सहकार्यको लागि आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *