भोलिको नेपाल बन्दमा प्रेस, एम्बुलेन्स, कानुनव्यवसायी, कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने

News Political

काठमाडौँ, कात्तिक  २९ गते ।  नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग, दुध बोक्ने, पानी बोक्ने र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको छ ।

यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर विद्रोह गर्न बाध्य पारेको बताए । उनले आज साँझको मसाल जुलुस र भोलि मङ्गलबारको नेपाल बन्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *