सरकारले जनतामाथि वैधानिक लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भयौँः नेता कञ्चन

News Political

काठमाडौँ, कात्तिक २७ गते । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले सरकारले वैधानिक रुपमा जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कञ्चनले यस्तो बताएका हुन् । नेता कञ्चनले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३३ मा बिक्री गरेको बताउँदै विज्ञका अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गरे ।

उनले दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ भन्ने प्रश्न गर्दै सरकारले गरेको यस्तो वैधानिक लुटविरुद्ध आम जनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने बताए । नेता बास्तोलाले नेपालबाट २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ भारत चुहावट हुने गरेको बताउँदै यस्तो चुहावट रोक्न र नेपाल आयल निगमको मनपरी खर्च र भ्रष्टाचारजन्य कार्य तत्काल रोक्नुपर्ने बताए । उनले अहिलेको व्यवस्था नै भ्रष्ट भएकोले यस्ता तमाम भ्रष्टाचार र अनियमितता भएको उल्लेख गर्दै यी सबै समस्याको समाधानको लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।

नेता बास्तोलाले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन जनमतसंग्रह आवश्यक भएको र त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

पत्रकार भेटघाटको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य अनिल शर्मा (विरही),  अर्का केन्द्रीय सदस्य वसन्त श्रेष्ठ सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *