वैज्ञानिक समाजवाद यो विषाणुविरुद्धको खोप हो : सुदर्शन

News Opinion Political

‘समाजले उत्पादनका साधनहरू कब्जा गरिसकेपछि माल उत्पादन समाप्त हुनेछ र यसका साथै उत्पादकमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान व्यवस्थित र सुनिश्चित सङ्गठनले लिनेछ । व्यक्तिगत अस्तित्वका लागि हुने सङ्घर्ष विलोप हुनेछ । त्यसपछि खास अर्थात् मानिसले पहिलोपटक बाँकी पशु जगत्बाट आफूलाई अन्तिम रूपमा अलग गर्नेछ र पाशविक अस्तित्वको परिस्थितिलाई छोडेर वास्तविक मानव अस्तित्वमा प्रवेश गर्नेछ । जीवन परिस्थितिको समग्र क्षेत्र जसबाट मानिसको पर्यावरण तयार हुन्छ र जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएको हुन्छ, त्यो अब मानिसको प्रभुत्व तथा नियन्त्रणअन्तर्गत आउनेछ । त्यो पहिलोपटक प्रकृतिको वास्तविक र सचेत मालिक बन्दछ किनभने ऊ आफ्नो सामाजिक सङ्गठनको सचेत मालिक बनेको हुन्छ । अहिलेसम्म उसको सामाजिक कार्यको नियमले बाह्य प्राकृतिक नियमका रूपमा आमनेसामने भएर उसमाथि शासन गर्ने गर्दथ्यो भने अब उसले स्वयम् त्यसलाई पूर्ण समझदारीका साथ उपयोग गर्नेछ र त्यसलाई आफ्नो नियन्त्रणमा राख्नेछ । अहिलेसम्म मानिसको आफ्नै सामाजिक सङ्गठनले प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा आवश्यकताका रूपमा मानिसकै मुकाबिला गर्दथ्यो भने अब त्यो उसको स्वतन्त्र कार्यको परिणाम बन्नेछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएको हुन्छ । त्यसपछि मात्र मानिसले स्वयम् पूर्ण चेतनाका साथ आफ्नो इतिहास आफैँ बनाउनेछ– अनि मात्र सामाजिक कारणहरूलाई गतिवान् बनाउनेछ, त्यसपछि नै मूलतः निरन्तर बढ्दो मात्रामा उसद्वारा चाहेको परिणाम हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हुनेछ ।’

‘सार्वभौम मुक्तिको यो कार्यभार पूरा गर्नु आधुनिक सर्वहारा वर्गको ऐतिहासिक उद्देश्य हो । आजको उत्पीडित वर्गलाई यो परिस्थिति र यो महत्वपूर्ण कार्यभारको अर्थलाई पूर्ण ज्ञान गराउनु नै सर्वहारा आन्दोलनको सैद्धान्तिक अभिव्यक्ति वैज्ञानिक समाजवादको कार्यभार हो ।’

—एङ्गेल्स, ड्युहरिङ मत खण्डन, १८७६—७८, प्रगति प्रकाशन मास्कोद्वारा १९८७ मा प्रकाशित, अङ्ग्रेजी संस्करण, ग्रन्थ २५, पृ २७०—७१

‘हामीले विगतमा अर्धसामन्तवाद र अर्धउपनिवेशवाद भएकाले क्रान्तिको कार्यदिशा नयाँ जनवाद निर्माण गरेका थियौँ । तर दस वर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ । अर्को कुरा, नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा प्रवेश गर्ने खुड्किलो मात्र हो । कम्युनिस्टहरूको आधारभूत राज्य व्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । …यसर्थ हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी भन्नु वस्तुवादी हुँदैन, वैज्ञानिक समाजवादी बनाउनु र वस्तुवादी हुन्छ ।’

—आठौँ महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीतिक प्रतिवेदन—२०७३, पृ.४७ ।

हामीले यहाँ एङ्गेल्सद्वारा मार्क्सवादका आधारभूत सिद्धान्तको विश्लेषण तथा विरोधीहरूको आरोपको खण्डन गरिएको प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’ र नेपाली श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनबाट केही लामा उद्धरणहरू उद्धृत गरेका छौँ । यसको अर्थ हो— हामीले हाम्रो पार्टीको राजनीतिक कार्यक्रमबारे सैद्धान्तिक र व्यावहारिक रूपले हाम्रा कमरेडहरू र आमजनसमुदायलाई सही कुरा बोध गराउने प्रयत्न । हामीले आठौँ महाधिवेशनमा नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति र कार्यक्रम वैज्ञानिक समाजवाद प्रस्तुत गरिसकेपछि एउटा ठूलै तरङ्ग आएको छ । यसबारे क्रान्तिकारी माओवादी र यसका महासचिव कमरेड किरणले सबभन्दा बढी बहस चलाउनुभएको छ । उहाँ र उहाँको पार्टीको आलोचनात्मक बहसले हाम्रो पार्टीको कार्यदिशा र कार्यक्रमले अरू क्रान्तिकारीलाई पारेको प्रभावका रूपमा लिनुपर्दछ । क्रान्तिकारी र प्रगतिशील कित्ताबाट सकारात्मक प्रतिक्रियाहरू आएका छन् । संशोधनवादी र प्रतिक्रियावादीहरूचाहिँ कतिपयले खिसीट्युरी गरिरहेका छन् भने खास कुरा बुझेकाहरूचाहिं भयभीत भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा यसको कति प्रभाव परेको छ भन्ने कुरा एकजना पश्चिमा प्राचार्य हवाईजहाज भाडामै लिएर नेपाल आएबाट स्पष्ट हुन्छ । उनले यो कुरा बुझेर एउटा दैनिक पत्रिकामा अन्तरवार्ता पनि दिएका छन् तर कस्तुरीले आफैँभित्र रहेको बिनाको सुगन्ध नबुझेर यो सुगन्ध कताबाट आयो भन्दै गन्तव्यविहीन बुर्कुसी मार्ला भन्ने चिन्ता छ । यहाँ हामीले त्यो बासनादार बिना हामीभित्रै छ है भनेर आफैँलाई बुझाउनु पर्नेछ ।

लेखक: हेमन्तप्रकाश ओली ‘सुदर्शन’

दोस्रो कुरा, नेपाली साम्यवादी आन्दोलन र विश्वसाम्यवादी आन्दोलनमा मालेमावादको विकास गर्नुपर्दछ भन्ने कुरालाई बारम्बार दोहोर्याइरहने तर त्यसको विकास कहाँबाट गर्नुपर्दछ भन्ने प्रश्नको कहिल्यै पनि जबाफ नदिने परम्पराको हामीले अन्त्य गरेका छौँ । हामीले जबाफ दिएका छौँ– विचारधाराको विकास कार्यदिशा र कार्यक्रमबाट हुन्छ । नेपालमा हामीले पुष्पलालदेखि पुष्पकमल दाहालसम्मको विचारको विकास त गर्नैपर्दछ भन्ने तर विकास कहिल्यै नगर्ने परम्परालाई तोडेका छौँ । हामीले के भनेका छौँ भने नेपाल अब २००६ सालदेखि भट्ट्याउँदै आएको अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थामा छैन । खासगरी २०४६–४७ सालको जनआन्दोलनपछि पुनस्र्थापित पश्चिमा संसदीय व्यवस्थासँगै दलाल पुँजीवाद नाङ्गो रूपमा स्थापित भएको छ । त्यसपूर्व राष्ट्रिय अर्थतन्त्रको जगमा विकास हुँदै गएका उद्योग तथा कारखानाहरू विस्थापित गरिएका छन् । आफ्नो उत्पादन निर्यातमुखी अर्थतन्त्र होइन, बरु अरू देशको उत्पादन आयातमुखी अर्थतन्त्र हाबी छ । यो अर्थतन्त्रका कारणले स्वतः आत्मनिर्भर राजनीति होइन, बरु परनिर्भर राजनीति रहेको छ । विद्यमान अर्थतन्त्र र राजनीतिको अभिव्यक्तिका रूपमा बाह्य संस्कृति पनि हाबी हुन खोजिरहेको छ । यसले गर्दा नेपाल नवऔपनिवेशिक देश हो । त्यसकारण राष्ट्रिय पुँजीको विकास गर्न र राष्ट्रिय पुँजीको विकासका नाममा पुँजीवादी व्यवस्थालाई लामो समय टिक्न नदिन हामीले वैज्ञानिक समजवादको कार्यक्रम बनाएका छौँ ।

तेस्रो कुरा, आज विश्वपुँजीवाद र नेपालजस्ता दलाल पुँजीवादी देशको दर्शन उदारवाद तथा नवउदारवाद बनेको छ । यसको सङ्क्ष्प्तिि अर्थ के हो भने एकजना व्यक्तिभित्र पत्रैपत्रले बेरिएको एउटा निजत्व हुन्छ, त्यो निजत्व पूर्ण रूपमा स्वतन्त्र हुन्छ र व्यक्तिले के चाहन्छ, के मनपराउँछ भन्ने कुरा ऊबाहेक अरूले जान्न सक्तैन । यो सिद्धान्त पुँजीवादले दोस्रो विश्वयुद्धपछि ल्यायो जसबेला पूर्वीयुरोप र पूर्वी एसियामा सामूहिकतामा आधारित वैज्ञानिक समाजवादी क्रान्तिहरू भइरहेका थिए । अमेरिकी र युरोपेली साम्राज्यदवादले सोभियत सङ्घलाई निशाना बनायो । सोभियत सङ्घ कम्युनिष्ट पार्टी (बोल्सेविक) भित्र जर्मनीका दलालहरू घुसे । अमेरिका र सोभियत सङ्घबीचको शीतयुद्धमा १९९० मा पुगेर सोभियत सङ्घ परास्त भयो । पूर्वीयुरोपका समाजवादी देशहरू पनि पराजयी भए । त्यसपछि पुँजीवादीहरूले उदारवादलाई नवउदारवादमा संश्लेषण गरे । त्यतिबेलै फ्रान्सेस फुकुयामाजस्ता अमेरिकी टट्टुहरूले ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ लेखेका छन् । करिब त्यही सेरोफेरोमा पुनस्र्थापित नेपालको संसदीय व्यवस्थाले नवउदारवादी अर्थतन्त्र स्वीकार गर्यो र त्यसबेलाका अर्थमन्त्री रामशरण महतले यसलाई प्रवेश गराए । हाम्रो पार्टीको वैज्ञानिक समाजवादी कार्यक्रम यो उदारवादी निजत्वका विरुद्धको सामूहिक कार्यक्रम हो । आज माओको नयाँ जनवाद वैज्ञानिक समाजवादकै एउटा खुड्किलो वा पाइला बनेको छ । मानिसभित्र रहेको निजत्व प्रकृति र समाजका नियमबाट स्वतन्त्र हुँदैन र मानिसजस्तो सामूहिक प्राणीलाई निजत्वमा सीमित गरेर कहिल्यै पनि राख्न सकिँदैन । त्यसकारण यो उदारवाद सामिर अमिनका शब्दमा ‘उदार विषाणु’ हो । वैज्ञानिक समाजवाद यो विषाणुविरुद्धको खोप हो ।

उल्लिखित एङ्गेल्सको संश्लेषण वैज्ञानिक समाजवादमा साम्यवादीहरूले बुझ्नुपर्ने र उत्पीडित वर्गलाई बुझाउनुपर्ने कार्यभार हो । वैज्ञानिक समाजवादमा साम्यवादीहरूले साम्यावादमा पुगेपछि उत्पादनका साधनहरू सम्पूर्ण रूपले समाजको हातमा आउँछन् । उत्पादनका साधनहरू समाजको हातमा आएपछि माल उत्पादन हुँदैन । माल उत्पादन हुँदैन भन्नुको अर्थ सामूहिक श्रमबाट उत्पादन हुने वस्तुमाथिको निजी स्वामित्त्व अन्त्य हुन्छ । त्यसकारण उत्पादनमा अराजकताको स्थान व्यवस्थित र सचेत सङ्घर्षले लिनुको अर्थ व्यक्तिगत अस्तित्वका लागि हुने सङ्घर्ष समाप्त हुन्छ । दोस्रो, त्यसपछि मानिस पशुजगत्बाट पूर्ण रूपले मुक्ति पाएर मानव अस्तित्वमा प्रवेश गरी आफ्नो जीवन परिस्थितिलाई शासक अवस्थाबाट शासित अवस्थामा ल्याउनेछ । त्यसपछि मानिस प्रकृतिको वास्तविक मालिक बन्दछ किनभने ऊ सामाजिक सङ्गठनको नेता बनेको हुन्छ । अहिलेसम्म मानिसको आफ्नै सामाजिक कार्यको नियमले बाह्य प्राकृतिक नियमका रूपमा शासन गर्दै आएकोमा अब भने उसले त्यसलाई पूर्ण बोधका साथ उपयोग गरी आफ्नो नियन्त्रणमा लिनेछ । तेस्रो, अहिलेसम्म मानिस आफ्नै सामाजिक सङ्गठनले प्रकृति र इतिहासद्वारा लादिएको एउटा आवश्यकताका रूपमा मानिसकै मुकाबिला गर्दथ्यो भने अब उसको स्वतन्त्र कार्यको नतिजा हुनेछ । अहिलेसम्म बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएकोमा अब मानिसले पूर्ण चेतनाका साथ आफ्नो इतिहास आफैँ बनाउनेछ । यसरी मात्र मूलतः र निरन्तर बढ्दो मात्रामा उसले चाहेको परिणाम प्राप्त हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा प्रवेश हुनेछ । यी तीनवटा कुराहरू पूर्ण रूपमा पूरा गर्नु साम्यवादी पार्टीको उद्देश्य हो, सर्वहारावर्गको परियोजना हो । यी कुराहरू बुझाउने थलो नै वैज्ञानिक समाजवादको चरण हो । साम्यवादमा गइसकेपछि त यी कुराहरू पूर्ण रूपले जीवन व्यवहारमा लागू हुन्छन् । त्यहाँ हामी आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा प्रवेश गर्नेछौँ ।

मार्क्सले सन् १८४८—१८५० को फ्रान्सेली क्रान्तिको समीक्षा गर्दै ‘फ्रान्समा वर्गसङ्घर्ष नामक रचनामा संश्लेषण गर्नुभएको छ :

‘समाजवाद स्थायी क्रान्तिको उद्घोषण हो, सामान्यतः सर्वहारा वर्गको अधिनायकत्वले वर्गविभेदको उन्मूलन गर्न, त्यो वर्गविभेद उत्पन्न गर्ने सम्पूर्ण उत्पादन सम्बन्धको उन्मूलन गर्न, त्यो उत्पादन सम्बन्धअनुरूपको सम्पूर्ण सामाजिक सम्बन्धलाई उन्मूलन गर्न, त्यो सामाजिक सम्बन्धबाट उत्पन्न भएका विचारहरूलाई क्रान्तिकारीकरण गर्न आवश्यक सङ्क्रमण बिन्दुका रूपमा काम गर्दछ ।’

मार्क्स, फ्रान्समा वर्गसङ्घर्ष, १८५०, प्रगति प्रकाशन मास्कोद्वारा १९७८ को अङ्ग्रेजी संस्करणमा प्रकाशित ग्रन्थ १०, पृ. १२७ ।

मार्क्सको यो संश्लेषण चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बेला निकै प्रख्यात थियो । वैज्ञानिक समाजवाद अन्ततः थायी क्रान्ति वा निरन्तर क्रान्ति नै हो । यो यसकारणले स्थायी क्रान्ति हो– यसले साम्यवादमा पुग्न वर्गविभेदको उन्मूलन गर्नैपर्छ । यसले गरिब र धनीबीचको वर्गविभेद मात्र होइन, बरु यसअन्तर्गतका सानो जाति र ठूलो जाति, महिला र पुरुष, उत्पीडित क्षेत्र, काला र गोरा, शारीरिक श्रम र मानसिक श्रमबीचका विभेदहरू उन्मूलन गर्दछ । यो यसकारणले स्थायी क्रान्ति हो– यसले सर्वहारा अधिनायकत्वअन्तर्गत त्यो वर्गविभेद पैदा गर्ने निजी स्वामित्व रहेको अत्पादन सम्बन्धलाई नष्ट गरी सामूहिक स्वामित्वमा रूपान्तरण गर्दछ । यो यसकारणले स्थायी क्रान्ति हो– यसले सर्वहारा अधिनायकत्वअन्तर्गत त्यो उत्पादन सम्बन्धअनुरूपका सामाजिक सम्बन्धहरू, आनीबानी, रीतिरिवाज, विरासतलाई सम्पूर्ण रूपमा उन्मूलन गरेर साम्यवादअनुरूप बनाउँछ । यो यसकारणले स्थायी क्रान्ति हो– यसले सर्वहारा अधिनायकत्वअन्तर्गत त्यो सामाजिक सम्बन्धबाट उत्पन्न विचारहरूलाई मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले जस्तै क्रान्तिकारीकरण गरेर साम्यवादअनुरूप बनाउँछ । यसको अर्थ पुँजीवादी विचारलाई साम्यवादी बनाइन्छ । त्यसपछि सर्वहारा अधिनाकत्वले कहाँ लैजान्छ ? माक्सले ५ मार्च १८५२ मा न्युयोर्कमा रहेका जोसेफ पेडेमेयरलाई पत्र लेख्दै भन्नुभएको छ :

‘…आधुनिक समाजमा वर्गअस्तित्वको खोजी गर्ने श्रेयको अधिकारी म होइन । वर्गसङ्घर्षको खोजी गर्ने श्रेयको अधिकारी पनि म होइन । मभन्दा धेरै पहिले नै पुँजीवादी इतिहासकारले वर्गसङ्घर्षको ऐतिहासिक विकास र पुँजीवादी अर्थशास्त्रले वर्गीय आर्थिक बनावटको वर्णन गरिसकेका थिए । मैले जे नयाँ कुरा गरेँ, त्यो यो सिद्ध गर्नु थियो : (१) वर्गहरूको अस्तित्त्व उत्पादन विकासको निश्चित ऐतिहासिक सिलसिलामा जोडिएको हुन्छ; (२) वर्गसङ्घर्षले अनिवार्य रूपमा सर्वहारा अधिनायकत्त्वको दिशामा लैजान्छ; (३) यो अधिनायकत्त्व स्वयम् सबै वर्गहरूको उन्मूलन तथा वर्गविहीन समाजतर्फ सङ्क्रमण मात्र हुन्छ ।’

—मार्क्स, सङ्कलित पत्रव्यवहार, प्रगति प्रकाशन मास्कोद्वारा १९८२ मा प्रकाशित हिन्दी संस्करण, पृ.६८।

अन्ततः सर्वहारा वर्गको अधिनायकत्वबाट वर्गविहीन समाजतर्फ सङ्क्रमण हुन्छ । अर्थात् सर्वहारा वर्गको अधिनायकत्वले स्वयम्को अन्त्य गर्दछ र राज्यविहीन, वर्गविहीन र दलविहीन, सचेत तथा सुन्दर वैज्ञानिक साम्यवादको विकास हुन्छ । यसको अर्थ वैज्ञानिक समाजवाद पुँजीवादबाट साम्यवादमा पुग्नका लागि एउटा पुल हो जहाँ वर्गविहीन साम्यवादको आधार तयार हुन्छ । मार्क्सले भनेजस्तै ‘साम्यवाद पूर्ण रूपमा प्रकृतिवादमा विकसित भएर मानवतावाद बराबर हुन्छ र पूर्ण रूपले मानवतावादमा विकसित भएर प्रकृतिवाद बराबर हुन्छ ।’ यसबाट के बुझिन्छ भने साम्यवाद भनेको मानव समाजको विकासप्रक्रियामा प्राकृतिक पुनस्र्थापना हो तर विकसित रूपमा भने त्यहाँ वास्तविक मानवतावाद र प्रजातन्त्र हुन्छ । व्यक्तिगत स्वामित्वमा आधारित दास प्रथात्मक, सामन्तवादी र पुँजीवादी व्यवस्थामा मुठीभर व्यक्तिहरूले आफ्नो नाफाका लागि मानवको पर्यावरण प्रतिकूल हुने गरी प्रकृतिको नष्ट गर्दछन् भने साम्यवादमा मानिसको सचेत सङ्गठनले आफ्नो अनुकूलको प्राकृतिक वातावरण निर्माण गर्दछ र समाज नै प्रकृतिवादी बन्दछ । मानवतावाद भनेकै प्रकृतिवाद हो र प्रकृतिवाद भनेकै मानवतावाद हो । वर्गीय समाजमा मानवतावाद र पूर्ण प्रजातन्त्रको खोजी गर्नु मूर्खता हो । वैज्ञानिक समाजवादमा पनि वर्ग रहिरहने भएकाले त्यहाँ सत्ताच्यूत शोषक वर्गका लागि प्रजातन्त्र कम र अधिनायकत्त्व बढी हुन्छ किनभने यो वर्गलाई पुनः संस्कार गरेर मात्र साम्यवाद आउँछ । अर्कोतिर सत्तारूढ शोषित–उत्पीडित वर्गका लागि प्रजातन्त्र बढी र अधिनायकत्त्व कम हुन्छ किनभने उसलाई पुनः संस्कार गर्नुपर्ने अवस्था कमै हुन्छ ।

हाम्रोअगाडि एउटा प्रश्न उठ्छ— पुँजीवादबाट साम्यवादमा पुग्ने सङ्क्रमणकालीन सामाजिक राज्यव्यवस्थालाई किन वैज्ञानिक समाजवाद भनिएको हो ? पहिलो कुरा, मार्क्सपूर्वका समाजवादीहरूलाई माक्र्सले तीन भागमा बाँड्नुभएको छ— प्रतिक्रियावादी, पुँजीवादी र काल्पनिक । उहाँले सबैभन्दा बढी आदर्श समाजवादी काल्पनिक समाजवादीहरूलाई मान्नुभएको छ तर उनीहरूको कमजोरी के थियो भने उनीहरू वर्गसङ्घर्षद्वारा पुँजीवादी राज्यसत्ता पल्टाएर समाजवाद आउँछ भन्ने पक्षमा थिएनन् । अथवा यसो भन्न सकिन्छ, उनीहरूको ज्ञान त्यहाँसम्म पुगेको थिएन । उनीहरू त मजदुर र उत्पीडित वर्गको गरिबी र उनीहरूमाथि भएको अमानवीय शोषणलाई शासक वर्गसामु वर्णन गर्दै समाजवादको आवश्यकता शासक वर्गलाई बोध गराएर समाजवाद ल्याउन चाहन्थे । यसकारणले यो समाजवाद काल्पनिक थियो । मार्क्स र एङ्गेल्सले के कुरा नयाँ आविष्कार गर्नुभयो भने उत्पादन विकासको एउटा निश्चित ऐतिहासिक प्रक्रियामा वर्गहरूको अस्तित्त्व जोडिएको छ । शोषक र शोषित वर्गहरूबीचको वर्गसङ्घर्ष हाम्रो मनोगत इच्छाबाट बाहिर छ अर्थात् वर्गसङ्घर्ष अपरिहार्य छ । यसले अनिवार्य रूपमा सर्वहारा अधिनायकत्वको दिशामा लैजान्छ । सर्वहारा अधिनायकत्वले अन्ततः आफ्नै अन्त्य गर्न र वर्गविहीन साम्यवादको स्थापना गर्न सङ्क्रमणकालीन भूमिका निर्वाह गर्दछ । यसलाई मार्क्सले छोटो हुन्छ होला भन्ने सोच्नुभएको थियो तर लेनिनले यो सङ्क्रमणकालीन सामाजिक राज्यव्यवस्था लामो हुने बताउनुभएको छ । यो यसकारणले लामो हुन्छ, यसमा लेनिनले औँल्याएको र माओले व्यवहारमा लागू गर्न सुरु गरेको सांस्कृतिक क्रान्ति लामो हुन्छ । पुरानो विचारधारा, संस्कृति, रीतिरिवाज, आनीबानी र विरासत पल्टाउने सर्वहारा वर्गको कार्यभार निकै कठिन र लामो हुन्छ । दोस्रो, पृथ्वीका सबै देशहरूमा नभए पनि अधिकांश देशहरूमा समाजवाद नआईकन साम्यवाद स्थापना हुन सक्तैन । आज हाम्रो जमानामा विज्ञान र प्रविधिको विकास, उत्पादनको तीव्रता, वित्तीय तथा सञ्चारको विश्वव्यापीकरणले साम्यवादलाई धेरै नजिक ल्याइदिएको छ ।

उपरोक्त वैज्ञानिक समाजवादसम्बन्धी समग्र व्याख्यापछि नेपालमा हामीले हाम्रो कार्यक्रम वैज्ञानिक समाजवाद भएको घोषणा किन गर्र्यौं भन्ने विषयमा केही कुरा राख्न जरुरी भएको छ । हामीले माथि आठौँ महाधिवेशनको प्रतिवेदनबाट नेपालमा वैज्ञानिक समाजवादी कार्यक्रम किन आवश्यक छ भन्ने कुरा उद्धृत गरेका छौँ । २००६ सालदेखि हाम्रो महाधिवेशनको केही समय पूर्वसम्म नेपालका अधिकांश साम्यवादी घटकहरूले नेपाल अर्धऔपनिवेशिक तथा अर्धसामन्ती रहेकाले यसको न्यूनतम् कार्यक्रम नयाँ जनवाद र अकिकतम् कार्यक्रम समाजवाद हो भनी संश्लेषण गरेका थिए । त्यसरी नै यस्तो देशमा दीर्घकालीन जनयुद्धद्वारा देशलाई मुक्त गरी पहिले राष्ट्रिय पुँजीको विकास गर्न नयाँ जनवादी चरण लागू हुन्छ भन्ने मान्यता थियो । अहिले पनि केही साम्यवादी पार्टीको यो मान्यता जारी छ । हामीले यो मान्यताबाट क्रमभङ्ग गरेका छौँ । नेपाल अब अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको छैन । यो नवऔपनिवेशिक अवस्थामा पुगेको छ । साम्यवादको नायक राजतन्त्र दश वर्षे ऐतिहासिक जनयुध्द र त्यसबाट उत्पन्न जनआन्दोलनबाट अन्त्य भएको छ । यसकारण अर्धसामन्ती अवस्था पनि हटेको छ । साम्राज्यवाद आज सामन्तवादसँगको साँठगाँठबाट होइन, बरु दलाल पुँजीपति वर्गलाई स्थापित गरेर आएको छ । दलाल पुँजीपति वर्गलाई राज्यसत्तामा राखेर उसले नेपालमा आफैँले उत्पादन गरेको माल पठाई आफ्नो एकाधिकार बजार कायम गरेको छ । परिणामस्वरूप दलाल पुँजीवादी अर्थतन्त्रमाथि दलाल पुँजीवादी र राज्यव्यवस्था खडा भएको छ । त्यसकारण नेपाली शोषित—उत्पीडित जनता र दलाल पुँजीवादका बीचमा प्रधान अन्तरविरोध खडा भएको छ । यो अन्तरविरोध समाधान गर्न नयाँ जनवादले मात्र सक्तैन । यो अब अपूर्ण हुन्छ । त्यसकारण यसको समाधान गर्न हामीलाई वैज्ञानिक समाजवादकै कार्यक्रम आवश्यक हुन्छ । दलाल पुँजीवादी अर्थतन्त्र र राज्यसत्ता कब्जा गरेर पुँजीवादको एउटा पाइला पनि पूरा गर्नुपर्ने हुन्छ । यसका लागि एउटा चरणकै आवश्यकता पर्दैन । यसमा रुसको फब्रुअरी क्रान्तिदेखि अक्टोबर क्रान्तिसम्मको वा त्यसभन्दा केही तल र केही माथिको समय लाग्न सक्छ तर यो समाजवादी क्रान्तिकै एउटा सानो अंश हुन्छ । समग्रमा यो वैज्ञानिक समाजवादी क्रान्ति नै हुन्छ ।

यहाँ के कुरा पनि बताउन आवश्यक छ भने नेपालमा र विश्वमा अहिले पनि आफूलाई समाजवादी भन्नेहरू धेरै छन् । भारतले पनि आफूलाई समाजवादी भएको बताउँछ भने चीनले पनि आफूलाई चिनियाँ विशेषतासहितको समाजवादी भनेको छ । नेपाली काङ्ग्रेसले पनि आफूलाई समाजवादी भनेको छ तर उसले आफूलाई प्रजातान्त्रिक समाजवादी भनेर पुँजीवादी कित्ता स्पष्ट पारेको छ । कथित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पनि आफूलाई समाजवादी बताएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा सबभन्दा पहिले आफूलाई समाजवादी भन्ने त नेपाल मजदुर—किसान पार्टी नै हो । उनीहरू कसैले पनि आफूलाई जता पनि अर्थ लाग्ने द्विअर्थी शब्द समाजवादको प्रयोग गरी शोषित—उत्पीडित वर्गको कित्ता स्पष्ट गरेका छैनन् । यस सन्दर्भमा महासचिव क. विप्लव नेतृत्त्वको पार्टीले वैज्ञानिक समाजवादलाई आफ्नो कार्यक्रम बनाएर कित्ता स्पष्ट गरेको छ जसले गर्दा जनतालाई कुनै भ्रम पर्दैन । त्यसकारण नेपालमा प्रजातान्त्रिक समाजवादी भनेपछि पुँजीवादी र वैज्ञानिक समाजवादी भनेपछि साम्यवादी भन्ने कुराको रेखाङ्कन भएको छ । जसले आफूलाई समाजवादी मानव बताउँछन् न महिला, न त पुरुष रहेका तेस्रो लिङ्गीहरू हुन् । ती आफ्नो राजनीतिक चरित्रमा अवसरवादी पनि छन् ।

वैज्ञानिक समाजवादमा पुग्ने हाम्रो कार्यदिशा भनेको एकीकृत जनक्रान्ति हो । हामीले यसलाई एकीकृत जनक्रान्ति भन्नुका आधारहरू निम्नानुसार रहेका छन् :

(१) आजको सूचना भूमण्डलीकरण, ज्ञानको भूमण्डलीकरण, उत्पादन एवम् वित्तीय भूमण्डलीकरण र विज्ञान तथा प्रविधिको भूमण्डलीकरण भएको युगमा गाउँ र सहरको ठूलो दूरी रहेको छैन । त्यसकारण अब यहाँ हामीलाई लेनिनले विकास गरेको सशस्त्र जनविद्रोह र माओले विकास गरेको दीर्घकालीन जनयुद्धको कार्यदिशामध्ये कुनै एउटा लागू गर्नु अपूर्ण हुन्छ । यो दुवै कार्यदिशाको समायोजन र विकासले मात्र पूर्णता हासिल हुन्छ । त्यसकारण एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण आधार दुवै कार्यदिशाको संयोजन र विकासलाई बनाएका छौँ ।

(२) एकीकृत जनक्रान्तिको अर्को आधार भनेको मूलतः चार विशेषताहरू भएको विश्वअर्थव्यवस्था हो । यो विश्वअर्थव्यवस्थाको पहिलो विशेषता अति एकाधिकारवादी र अति केन्द्रीकृत रहेको छ । एक प्रतिशत विश्व–धनाढ्यहरूको सम्पत्ति र ९९ प्रतिशत मानिसहरूको सम्पत्ति बराबर रहनु यसको एउटा प्रमाण हो । ९९ प्रतिशत मानिहरूको सम्पत्ति पनि कहीँ न कहीँ ती अति एकाधिकारवादी पुँजीपतिहरूको हातमा रहेको छ । मध्यम वर्गको ठूलो हिस्सालाई पनि यही एकाधिकारी वर्गले चुसेर कङ्गालीकरण गरिरहेको छ । यो विश्व–अर्थव्यवस्थाको दोस्रो विशेषता भनेको विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण हो । मार्क्स—लेनिन—माओको समयमा यसको विपरीत थियो । अर्थात् केन्द्रीकृत उत्पादन र विकेािद्रत वितरण । आज पुँजीपतिवर्गले मजदुर वर्गलाई ठूलो सङ्ख्यामा सङ्गठित हुन नदिन विकेन्द्रित उत्पादन प्रक्रिया अपनाएको छ भने मुठीभर मानिस धनी हुन केन्द्रीकृत वितरण व्यवस्था मिलाएको छ । सर्वहारा वर्गले र यस वर्गको पार्टीले मजदुर खोज्न वितरणका केन्द्रमा पुग्न जरुरी छ । आजको विश्व अर्थव्यवस्थाको तेस्रो विशेषता भनेको उत्पादक शक्तिमा विज्ञान—प्रविधिको समायोजन हुनु हो । यसले गर्दा उत्पादमा तीव्रता आएको छ । तर वितरण प्रणाली निजी स्वामित्वमा आधारित भएकाले अमेरिकामा गहुँको अति उत्पादन भए पनि सोमालियाका जनता भोकले कङ्गाल भएर मरिरहन्छन् । आजको विश्व–अर्थव्यवस्थाको चौथो विशेषता भनेको औपचारिक रूपमा अर्थतन्त्रको नियन्त्रण र निर्देशक राजनीति भए पनि अनौपचारिकता र वास्तविकतामा अर्थतन्त्रले राजनीतिलाई निर्देशन गरिरहेको छ । हामी सबैले आफ्नै आँखाअगाडि देखिरहेको छौँ– संसदीय चुनावमा पैसा जसको बढी हुन्छ, त्यसैले जितिरहेको छ । नेपालमा गाउँपालिकाको वडाध्यक्ष जित्न पनि करोडभन्दा कम्ले जित्न गाह्रो छ । ठूलाठूला निगमहरूले देशको राजनीतिमा प्रभाव पार्न थालेका छन् । हरेक पार्टीका राजनीतिक नेताहरू, नोकरसाहीतन्त्रका प्रमुखहरू, न्यायालयका न्यायाधीशहरू, प्रहरी र सेनाका प्रमुख अधिकृतहरू पुँजीपतिहरूको हातमा नाचिरहेका छन् । यसकारण उनिहरू देशको विकास, उत्पीडितहरूलाई न्याय र देश तथा जनताको सुरक्षा गर्नुभन्दा भ्रष्टाचार, भोगविलास र निजी सम्पत्तिको विकासमा लागेका छन् । यो विश्व–पुँजीवादका चार विशेषताहरू नेपालमा पनि लागू भएका छन् । यो चार विशेषता भएको विश्व–पुँजीवादी अर्थव्यवस्थाले किसान, मजदुर, सिपाही मात्र चुसिएका छैनन्, बरु उसका लागि बढी रस प्राप्त हुने वर्ग राष्ट्रिय पुँजीपति र मध्यम वर्ग बनेको छ । मध्यम वर्गको ९० प्रतिशत टाटपल्टिँदै गएर किसान मजदुर सिपाहीको पङ्क्तिमा उभिने स्थितिमा पुगेको छ । यो अर्थ व्यवस्था एकीकृत जनक्रान्तिको आधार बन्न पुगेको छ ।

(३)भौतिकशास्त्रका बैज्ञानिक स्टेफिन हकिङले प्रकृति विज्ञानका क्षेत्रमा अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र स्वयम् आइन्स्टाइन, म्याक्र्स प्लाङ्कलगायतले सुरुआत गरेको तथा सूक्ष्म जगत्मा नयाँ गहिराइमा पुगेको अनिश्चयताको सिद्धान्तलाई मिलाएर एकीकृत भौतिकशास्त्रको आविष्कार गरेका छन् । यस सिद्धान्तको मद्दतले केही वैज्ञानिकहरूले मात्र होइन, बरु आम जनताले ब्रह्माण्डका सम्पूर्ण वस्तुहरू सही तरीकाले बुझ्न सक्ने स्थिति बनेको छ । स्थुल जगत्लाई बुझ्न सक्ने भौतिक शास्त्र सापेक्षताको सिद्धान्त र सुक्ष्म जगतलाई बुझ्न सक्ने क्वान्टम सिध्दान्त तथा अनिश्यताको सिद्धान्तबीचको एकता द्वन्द्वात्मक भौतिकवादी दर्शनमा विपरीतहरूको एकत्त्व पनि हो । त्यसकारण यो प्राकृतिक विज्ञानको सिद्धान्त पनि हाम्रो कार्यदिशा एकीकृत जनक्रान्तिको महत्वपूर्ण आधार बनेको छ ।

(४) सैन्य विज्ञानमा उच्च प्रविधि र निम्न प्रविधि, छापामार, चलायमान र मोर्चाबद्ध युद्ध, सहरिया आधारइलाका र गाउँले आधारइलाकाको समायोजन आवश्यक बन्न गएको छ । यो एकीकृत जनक्रान्तिको आधार बन्न पुगेको छ ।

(५) सामाजिक विज्ञानमा वर्गसङ्घर्ष र राष्ट्रियताको सङ्घर्षलाई समायोजन नगरी आजको श्रमजीवी तथा सर्वहाराले जित्न सक्दैन । यसमा पनि वर्गसङ्घर्ष राष्ट्रियताहरूको सङ्घर्षलाई नेतृत्त्व गर्दछ । राष्ट्रियताहरूको एकता र देशको सार्वभौम अखण्डता दुवै राष्ट्रियताका प्रश्नहरू हुन् । त्यसकारण वर्गीयता र राष्ट्रियताको अपरिहार्य समायोजन एकीकृत जनक्रान्तिको आधार बन्न पुगेको छ ।

(६) अन्तिम र धेरै महत्वपूर्ण एकीकृत जनक्रान्तिको आधार भनेको राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्तिको समायोजन हो । राजनीति अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति भएकाले यो स्वतः अर्थतन्त्रसँग जोडिएको छ भने विद्यमान संस्कृति विद्यमान राजनीति र अर्थतन्त्रको अभिव्यक्तिका रूपमा रहेको हुन्छ । तर संस्कृति लामो विचारधारा, रीतिरिवाज, चालचलन र विरासतको परम्परा हो । राजनीतिक क्रान्ति जति छिटो र सजिलो हुन्छ त्यति छिटो र सजिलो सांस्कृतिक क्रान्ति हुँदैन । त्यसकारण लेनिनको उद्घाटन र माओको विकासद्वारा समृद्ध गरिएको सांस्कृतिक क्रान्ति आज साम्यवादी पार्टीका लागि राजनीतिक क्रान्तिको पहलदेखि नै जोडिन पुगेको छ । राजनीति र संस्कृतिको आधार बनेको अर्थतन्त्रलाई पनि तदनुरूप परिवर्तन नगरीकन क्रान्ति सफल हुँदैन ।

एकीकृत जनक्रान्तिलाई हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशाका रूपमा संश्लेषण गरिसकेपछि हामीले यसका निसानाहरू र त्यो निसानामा प्रहार गर्ने साथीहरू पनि स्पष्ट गरेका छौँ । दलाल पुँजीवादी वर्ग, नोकरशाही पुँजीवादी वर्ग र सामन्तवादका अवशेषहरू यसका प्रमुख निसानाहरू हुन् । यी तीनै निसानाहरूको नेतृत्त्व दलाल पुँजीवादले गर्दछ । यो क्रान्तिका साथीहरू तथा प्रेरकहरू आजका मजदुर, किसान, सिपाही, सुकुमबासी, राष्ट्रिय पुँजीपति र मध्यम वर्ग हुन् । यसको अलग व्याख्या र विकास आवश्यक छ । आजका मजदुर, किसान, सिपाही, राष्ट्रिय पुँजीपति र मध्यम वर्ग आजकै जस्ता छन् अर्थात् शास्त्रीय व्याख्याले पुग्दैन ।

हाम्रो अगाडि गम्भीर प्रश्न छ— यो क्रान्तिको आधारइलाका कहाँ हुन्छ ? अथवा यो कुनकुन अवस्थाबाट विजयी हुन्छ । यहाँ छोटकरीमा भन्दा तयारी—रिहर्सल—निर्णायक क्रान्तिको प्रक्रियाबाट अघि बढ्दछ । यसको आधारइलाका लेनिनको जस्तो सेन्टपिटर्सबर्ग वा माओको जस्तो चिङ्काङ्सान हुँदैन । सेन्टपिटर्सबर्ग र चिङ्काङ्सानको समायोजन हुन्छ । विचारधारात्मक तथा राजनीतिक, आर्थिक, सङ्गठनात्मक, सङ्घर्ष, भौतिक तथा प्राविधिक र अन्तर्राष्ट्रिय सर्वहारा तथा उत्पीडित वर्गसँगको समन्वयजस्ता कुराहरूको तयारी आवश्यक हुन्छ । यसका साथसाथै तयारी परीक्षणका लागि केही पूर्वाभ्यासको आवश्यकता त छँदैछ । तयारी र रिहर्सलको निरन्तरतामा क्रमभङ्ग गर्दै निर्णायक लडाइँमा पुग्नु यो क्रान्तिको प्रक्रिया हो । निर्णायक लडाइँबाट विजयी भएपछि जनताको जनवादी अधिनायकत्त्व भएको वैज्ञानिक समाजवादी गणतन्त्र नेपालको घोषणा हुन्छ । राज्यसत्ताका सम्पूर्ण अङ्गहरूमा क्रान्ति हुन्छ । दलाल पुँजी र राष्ट्र बैङ्कलगायत सम्पूर्ण बैङ्कहरू वैज्ञानिक समाजवादी गणतन्त्रको नियन्त्रणमा जान्छन् । दलाल पुँजीवादी सरकारले लिएको ऋण खारेज गरिन्छ । दलाली तथा भ्रष्टाचार गरेर विदेशी बैङ्कमा थुपारेको सम्पत्ति सरकारलाई बुझाउन सम्बन्धित राष्ट्रहरूलाई आह्वान गरिन्छ । अन्तर्राष्ट्रिय सीमामा कडा निगरानी राख्ने व्यवस्था मिलाइन्छ । राष्ट्रिय पुँजीपति, मध्यम वर्ग र सरकारको साझेदारीमा राष्ट्रिय उद्योग तथा कलकारखानाहरूको सञ्चालन र नयाँ स्थापना गरिन्छ । मन्त्रीदेखि मजदुरसम्मको समान तलब निर्धारण गरिन्छ । निजी विद्यालय तथा विश्वविद्यालय र अस्पतालहरूलाई राष्ट्रियकरण गरिन्छ । जग्गा—जमिन राष्ट्रिकरण गरी भूमिहीन किसानहरूलाई वितरण गरिन्छ । समग्रमा जनताका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको व्यवस्था गरिन्छ । यही नै वैज्ञानिक समाजवादको सुरुआत हुन्छ । अरू कुरा माथि बताइएको सिद्धान्तअनुसार व्यावहारिक मूर्तीकरण हुँदै जान्छ ।

स्राेत : कम्युनिस्ट विद्यार्थी,  जन बिहानी राष्ट्रिय मासिक, राताे खबर साप्ताहिक, एकीकृत कृषि क्रान्तिबाट

Leave a Reply

Your email address will not be published.