वैज्ञानिक समाजवादी व्यवस्था स्थापना र उत्पादन पद्धति परिवर्तन गर्नु आवश्यक छ : कञ्चन

News Political

नेकपा सिन्धुपाल्चोकको कार्यालय उद्घाटन

सिन्धुपाल्चोक,  कात्तिक ११  गते । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले जबसम्म राज्यव्यवस्थाकाे आर्थिक आधार परिवर्तन हुँदैन तबसम्म राज्यको कुनै पनि उपरिसंरचना परिवर्तन हुनै नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेसम्म पुरानै राज्य प्रणाली र पुरानै आर्थिक आधार रहेको भन्दै उनले राष्ट्रिय पुजीको लगानीमा उद्योग खोल्नुपर्छ भन्ने यो राज्यको कुनै योजना नै नभएको ठोकुवा गरे ।

उनले भने, ‘देशमा दलाल पुजीवाद छ उत्पादन छैन, स्थानीय निकायका सबै प्रतिनिधि कर्मचारी भएका छन्, त्यही कर्मचारीतन्त्र, सबै मन्त्रालय भ्रष्टाचार गर्ने थलो बनेका छन् तर नयाँ उत्पादन केही छैन, जनताको जीवन कष्टकर छ, नेपालमा आफ्नो स्वदेशी लगानीमा एउटा पनि उद्योग छैन जति पनि उद्योग छन् सबै विदेशी लगानीमा छन्, पुजी पलायन गर्ने मात्र छन् यसले त विकास हुँदैन । यो राज्यले सुकुम्बासीको घर भत्काउने, आगो लगाइदिने गर्छ तर घर बनाइदिन्न, खर्बौ बेरुजु छ, लाखौँ युवा विदेश पलायन गराउछ, एनसिएलको अर्बौ कर असुल्न सक्दैन, देशको स्वाभिमान बेच्ने एमसीसीको सहयोग देख्छ यसरी जबसम्म कसैको निगाहामा देश चल्छ देश परनिर्भर रहिरहन्छ त्यसैले यसको हलका लागि हामीले राज्य व्यवस्था, उत्पादन सम्बन्ध परिवर्तन गरौँ भनेका छौँ, त्यसका लागि जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना र उत्पादन पद्धति परिवर्तन गर्नु आवश्यक छ त्यसैका लागि सबै लागौँ ।’

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक दोलखाका इन्चार्ज प्रवीण लगायतको सहभागिता रहेको थियो । कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी मोहनलाल विक सविन र राजेन्द्र थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

कार्यक्रममा बार यशोसियसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जीवन श्रेष्ठ लगायतले बोलेका थिए । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका सेक्रेटरी युगीनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विशेष कमिटी सदस्य किरण घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मुकुन्द श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *