‘वर्तमान राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’

News Political

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा चितवनमा अन्तरक्रिया सम्पन्न

केशबराज भट्टराई/चितवन कात्तिक १३ गते ।  नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन चितवनले ‘वर्तमान राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ ले जीवनमा लागू हुने समाजवाद चाहिएको धारणा व्यक्त गरे । समाजमा निराशा रहेको, रूप मात्रको समाजवाद रहेको र समाजवादका नाउँमा नवउदारवाद/संसद्‌वाद लागू भइरहेको कुरा सत्य रहेको बताउँदै नेपालमा नेपाली काङ्ग्रेस, एमाले हुँदै माओवादी केन्द्रसम्मले समाजवादका कुरा गरेर पनि समाजवाद लागू गर्न नसकेकाले नेकपाले एकीकृत जनक्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद लागू गर्न पहल गरेको प्रस्ट पारे । उनले भने, “वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाले ४० वर्ष शासन गरे पनि देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसकेको, राजनीतिक सङ्कट समाधान गर्नुका साटो झन्झन् बल्झिदै गएको, वैदेशिक हस्तक्षेपमा बृद्धि हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रिय अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै दलाल पुँजीवादी संसदीय व्यवस्था र पुराना र पार्टीहरू असफल भए ।”

विरहीले असफल सिद्ध दलाल पुँजीवादी संसदीय व्यवस्थाको एक मात्र उत्तम विकल्प वैज्ञानिक समाजवाद रहेको शान्तिपूर्ण रुपमा वैज्ञानिक समाजवादमा पुग्ने माध्यम जनमतसङ्ग्रह भएकाले त्यसका लागि पार्टीले जनमतसङ्ग्रहको प्रस्ताव गरेको बताउँदै समाजवादका पक्षधर सबै शक्तिलाई नेकपाले प्रस्ताव गरेको प्रक्रियामा लामबद्ध बन्न आग्रह गरे । उनले दलाल पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा वैज्ञानिक समाजवादले जित्छ त भन्ने टीप्पणी कर्ताको प्रश्नको उत्तर दिँदै, समाजवाद अपरिहार्य र अवश्यम्भाबी छ, जसरी जनताले २००७ साल, २०३६ साल, २०४६ साल र २०६२÷६३ को जनआन्दोलन परिवर्तनमा सहभागी भएर परिवर्तनलाई जिताए त्यसैगरी अहिले पनि जनताले वैज्ञानिक समाजवादलाई जिताउने बताए । अन्तरक्रिया कार्यक्रमका कार्यपत्र प्रस्तोतासमेत रहेका नेता विरहीले भने “समाजवाद अपरिहार्य र अवश्यम्भाबी छ, त्यसैले वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था ठिक भनेर व्यवस्था रोज्ने जनताको अधिकार हो र दिनुपर्छ, जनताले वैज्ञानिक समाजवादलाई जिताउने छन् ।”

उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा नेता अनिल शर्मा ‘विरही’ ले प्रस्तुत गरेको कार्यपत्रमा नेकपा केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, वाम बुद्धिजीवी प्रेम रिमाल, वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, डिआर पोख्रेल, दिपक शर्मा लगायतले टिप्पणी राखेका थिए । कार्यक्रममा जिल्लाका पत्रकार, बुद्धिजिवी, शिक्षक, व्यवसायी, विद्यार्थी र आम जनताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *