वसन्त विक/कालीकोट, कात्तिक १० गते । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहिदको सपना नभुलेको र पूरागरि छाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । पार्टी प्रशिक्षणका लागि गृह जिल्ला कालीकोट पुगेका प्रवक्ताले बुधबार बिहान जिल्लाको खुलालुका जनतासँगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहिदको सपना आफ्नो पार्टीले मात्र पूरा गर्ने बताएका हुन् ।
प्रवक्ता प्रकाण्डले प्रचण्ड बाबुरामहरूले सहिदको सपना अलपत्र पारेको भन्दै जनयुद्ध र सहिदको सपना कुनै पनि हालतमा अलपत्र पर्न नदिने बताए । उनले कालीकोटे जनताको जनयुद्धमा ठूलो त्याग, तपस्या र बलिदान भएको उल्लेख गर्दै फेरी क्रान्ति पूरा नभएकाले क्रान्ति पूरा गर्न लागिपर्नुपर्ने बताए ।
सो अवसरमा प्रवक्ता प्रकाण्डले खुलालुमा बन्न लागेको पुल आफू मन्त्री हुँदा नै योजनामा पारेको र अहिलेसम्म बन्न नसक्नु दुःखद भएको भन्दै तुरुन्त पूरा गर्न कनकाई नेपाल प्रगति जेभि कम्पनीलाई निर्देशन दिए । उनले पुलको अनुगमन समेत गरेका प्रवक्ताले सरकार दलाल भएकाले विकास निर्माणका काममा ढिलासुस्ती गरेको आरोप लगाए ।