काठमाडौँ, कात्तिक १० गते । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा आज काठमाडौँमा नेकपा नेता चन्द्र बहादुर चन्द ‘विरजङ्ग’ को श्रद्धाञ्जली सभा तथा स्कुलिङ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ ले वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उहाँको निधनले पार्टीलाई अपुरणीय क्षेती पुगेको भन्दै उनले सुनसरीको धरान हिरासतमा उहाँसँगै रहदाको स्मरणसहित अनुभव सुनाए । देशका विभिन्न जिल्लाका हिरासत तथा जेलमा प्रहरी घुमाउदै गर्दा धेरै यातनाले उहाँको स्वास्थ्य झन् सिकिस्त भएको बताए । अझ त्यसमा पनि उहाँलाई हिरासतमा हुँदा उपचार र बिरामीमैत्री खाना समेत नभएका कारण हिरासतमै बिरामीले उहाँलाई च्यापी सकेको बताए ।
नेता विरहीले भने, –‘धरान हिरासतमा हुँदा कोभिड सञ्चो भइसक्दा पनि कमरेड विरजङ्गलाई दिनहुँ विभिन्न स्वास्थ्य समस्या देखिराखेको थियो, त्यस्तो बेलामा पनि राज्यले राम्रो उपचार गरेन, भान्सामा आलु तरकारी बाहेक अरु केही पाक्दैनथ्यो । उहाँलाई सुगरका कारण आलु खान नमिल्ने भए बिरामीमैत्री खाना कहिल्यै खुवाइएन यसकारण उाँको मुत्यु नभएर हत्या हो ।’
जसरी गोञ्जालोको लामो समय जेल यातनाकै कारण जेलमै मृत्यु भयो त्यसैगरी राज्यले नेता विरजङ्गलाई त्यस्तै बनाउन चाहेकाले अन्तिम अवस्थामा मात्र उहाँलाई रिहा गरे जस्तो गरेको समेत आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय स्कुलिङ विभागका इन्चार्ज भेषराज भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विभागका सदस्य लाल बहादुर बिसीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अनिल शर्मा ‘विरही’ लगायत नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी का अध्यक्ष बन्धु चन्द, स्कुलिङ विभाग इन्चार्ज सदस्यहरु र स्कुलिङमा सहभागी सबै जनाले नेता विरजङ्गलाई स्मरण गर्दै उहाँको तस्वीरमा माल्यार्पण र टिकासहित मुठ्ठि उठाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सोही क्रममा ५ दिनसम्म सञ्चालन भएको स्कुलिङ कार्यक्रमको समापन समेत गरिएको थियो । स्कुलिङ कार्यक्रमका सहभागीका तर्फबाट अनुभूतिजन्य मन्तव्य राजेन्द्र रेग्मी र क्रान्ति पाण्डेले राखेका थिए ।
शनिबारदेखि भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी संगठन, जनसांस्कृतिक महासंघ लगायत विभिन्न विभागका प्रतिनिधिहरुको सहभागिता थियाे ।
उक्त स्कुलिङमा केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज भेषराज भुसालले वैज्ञानिक समाजवादी अर्थशास्त्रका विषयमा, स्कुलिङ विभागका सदस्यहरु लाल बहादुर बिसीले दर्शनशास्त्र, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ ले कार्यदिशा, विभागका सदस्य गतिले विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, विपिन शर्माले नेपाली आन्दोलनको इतिहास र खेम थपलियाले माक्र्सवादी सौन्दर्यशास्त्रको बारेमा प्रशिक्षण दिएका छन् ।
मालेमावादको सार्वभौम नियम र पार्टीले संश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशामा वैचारिक एकरुपता कायम गर्दै थप अगाडि बढ्न स्कुलिङले महत्वपूर्ण भूमिका खेल्ने उदेश्यले नेकपाले देशव्यापी स्कुलिङ सञ्चालन गर्दै आएको छ ।