असफल व्यवस्थाको चुनाव होइन, व्यवस्था रोज्ने जनमतसङ्ग्रह गराऊ : रणवीर

Political

मन्थली,कात्तिक १० गते । नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली पार्टी इन्चार्ज भरत बम ‘रणवीर’ ले आफ्नो पार्टी यो असफल दलाल पुँजीवादी व्यवस्था र यसले गराउने चुनावमा नजाने प्रस्ट पारेका छन् । यो व्यवस्था असफल भइसकेकाले वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने विश्वास उनले व्यक्त गरे ।

नेकपा रामेछापले मङ्गलबार जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्लास्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा प्रमुख अतिथि रणवीरले दलाल पुँजीवादी व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले आफ्नो पार्टी असफल व्यवस्थाको चिहानमा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ कार्यक्रम लिएर अघि बढिरहेको प्रस्ट पार्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि व्यवस्था रोज्ने जनमतसङ्ग्रह गराउन सरकारलाई चुनौती दिए । उनले जनमतसङ्ग्रहमा दलाल पुँजीवादी व्यवस्थाले हार्ने र वैज्ञानिक समाजवादले विजय हासिल गर्नेमा पूर्ण रूपमा विश्वास प्रकट गरे ।

यतिबेला नेपालमा नयाँ वैकल्पिक विचार र कार्यक्रम लिएर अघि सर्ने पार्टी नेकपा मात्रै रहेकाले संसदीय व्यवस्थाका मतियारहरूले विचार र कार्यक्रमबाट पराजित भएर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको भए पनि अन्त्यमा प्रतिबन्ध हटाउन बाध्य भएको पनि प्रस्ट पारे । नेकपाको नेतृत्वमा बन्ने प्रगतिशील संयुक्त सरकारले गराउने जनमतसङ्ग्रहमा जनताको विजयको विकल्प नरहेकाले गाउँगाउँमा पुगेर जनमतसङ्ग्रहको वातावरण तयार पार्न जिल्ला नेता–कार्यकर्तालाई निर्देशन दिए ।

विशिष्ट प्रकारको शक्ति सन्तुलनका कारण पुरानो सत्ताले तीनबुँदे सहमति गरी मुलुकमा राजनीतिक समस्या रहेको स्वीकार गर्नु र नेकपासँग संवाद गरेर समाधान गर्ने सहमति गर्नु नेकपाको राजनीतिक विजय रहेको उनले बताए । पुरानो सत्तालाई केही नदिईकनै र क्रान्तिकारी शक्तिले केही नछोडीकनै भएको यसप्रकारको सहमति विश्वमै दुर्लभ किसिमको रहेको र माओवादी केन्द्रलगायतले भ्रम छरेजस्तो नभएर नयाँ उचाइबाट भएको सहमति भएकाले यसले देश र जनतालाई अग्रगामी निकासतिर लग्ने धारणा उनले राखे ।

नेता रणवीरले भने, ‘पुँजीवाद बलियो भएर होइन, कम्युनिस्ट फुटाएर शासन गरिरहेको छ । अब हामी नयाँ कार्यदिशामा शक्ति सम्पन्न कम्युनिस्ट आन्दोलन निर्माण गरिरहेका छौँ । नेता र जनतालाई एउटै नीति लादेकाकाले समाजवादी व्यवस्थाहरुमा समस्या आयो । नक्कली कम्युनिस्ट अर्थात् संसद्वादी, संशोधनवादी कम्युनिस्टको बिगबिगी अन्त्य गरेर र त्यसलाई उल्ट्याइदिएर क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा छौँ । यसमा जनताले साथ दिनुपर्छ ।’

दलाल पुँजीवादी सत्ता पुरानै व्यवस्था हो भन्ने उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘सत्ता फेरिएको छैन । अर्थनीति उस्तै छ । अन्तर्राष्ट्रिय सम्बन्ध उस्तै छ । अर्धऔपनिवेशिक र नवऔपनिवेशिक नीति उस्तै छ । संस्कृतिमा कुनै परिवर्तन छैन । वैज्ञानिक समाजवादी व्यवस्थाले यसलाई उल्ट्याइदिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *