पुनर्निर्मित जन्मघरलाई सङ्ग्रहालय घोषणा गरेपछि

Arts-literature

शब्दचित्र
अशोक सुवेदी
प्रफुल्ल–प्रफुल्ल छ मन । जन्मथलोमा हुँदा रमाउँछु म बिछट्टै । कहीँ फेला नपरेको सुख र आनन्द प्राप्त गर्छु म जन्मथलोमा । एक्लै हुँदा पनि प्रकृति साथी हुन्छ मेरो । अझ समाज, पार्टी कमरेडहरू, बालसखाहरू, बाबाका दौँतरी, आमाका दौँतरी, दिदीबहिनीहरूका दौँतरी । उहाँहरूसँगको सामीप्य । उहाँहरूको मुखारविन्दबाट त्यतिबेलाका कथाश्रवण । प्रिय–प्रिय लाग्छ मलाई । उहाँहरूको निश्छल ममताको न्यानोपन आफ्नो–आफ्नो लाग्छ मलाई । त्यहाँ कुनै बनावटीपन छैन । रिस, डाहा र हानाथाप केही छैन ।

केटाकेटीमा नाङ्गो पैतालाले हिँडेका उकाली–ओरालीहरूले सिङ्गो बालापन फर्काइदिन्छन् । कति प्रिय–प्रिय थिए ती दिनहरू । तिनै दिनहरू, तिनै पलहरू, तिनै स्मृति र क्रीडाहरूलाई नजिकैबाट नियाल्न, छाम्न, अनुभूत गर्न र नयाँ बाटो निर्माण गर्न फर्किएको छु म गाउँमा । त्यसैले गाउँमा केही न केही गरिरहनुपर्छ मलाई । जति क्रियाशील हुन्छु म गाउँमा, त्यति सजीव भएको पाउँछु । मैले देखेका सपनाहरूको बाली लगाएर फलाउनुछ मलाई मेरो जन्मथलोमा । म आदर्शवादलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले यही भूमिमा किचेको देख्न चाहन्छु । वर्गसङ्घर्षका साह्रा प्रक्रियाहरू यहीँ लड्न र हेर्न चाहन्छु । म माक्र्सवाद लेनिनवाद र माओवादलाई यहीँ लागू गर्न चाहन्छु । आफू बदलिएर कम्युनिस्ट बन्न चाहन्छु म मेरै कर्मभूमिमा । सांस्कृतिक क्रान्तिको थलो मेरै मस्तिष्कलाई, मेरै जीवनलाई र मेरै भूमिलाई बनाउन चाहन्छु म । मलाई ‘अर्काको सहर’ मा बसेर बनावटी मुस्कान र ध्वाँस छोड्दै सुकुलगुन्डा बन्नु छैन । अभाव होस् वा वैभव, म मेरै जन्मथलोमा उपभोग गर्न चाहन्छु । मैले रोजेको बाटो यही भूमिलाई बदल्नु र हराभरा बनाउनु हो । त्यसैले म मेरा सपना यहीँ साकार भएको देख्न चाहन्छु ।

त्यसैले त म मेरी बज्यै पदमकुमारीले सिन्की खाँदेको घरबारीमा आँप, कागती, कटहर र लिची फलाउने कसरतमा छु । केराबारीमा केराहरू फलून् र देवीथानतिर लटरम्म मेवाहरू झुलून् भन्ने मेरो सपना छ । म सपनामा मात्र होइन, विपनामै हराभरा भएको देख्न चाहन्छु मेरो बस्ती । त्यसैले भग्नावशेषहरू खोतलिरहेको छु । आफू जन्मिएको तर भग्नावशेष बनिसकेको खण्डहरलाई ममतामयी आमा जूनमाया सुवेदीको हातबाट २०६५ सालमै शिलान्यास गराएको थिएँ पुनर्निर्माण गर्छु भनेर । हो त्यही भग्नावशेषमा निर्माण भएको छ नयाँ घर र त्यही नयाँ घर सङ्ग्रहालय घोषणा हुँदैछ आज । भवन नै सङ्ग्रहालय हो यो । बाजे चन्द्रलालले झन्डै डेढ सय वर्षपहिले बज्यै पदमकुमारीको खुसीका लागि निर्माण गरिदिएको झ्याले घर अर्थात् एउटा किसानको ताजमहलको भग्नावशेषमा निर्माण भएको उस्तैउस्तै देखिने पुरानु शैलीको घर । हो यही घरमा हो कवि हितप्रसाद उपाध्याय, उनका दाजुहरू र दिदीबहिनीहरू जन्मिएको । यही घरमा त हो हितप्रसाद उपाध्यायले वदनकुमारीलाई भित्र्याएको । वदनकमारीको अकाल मृत्यु भएपछि यही थलोमा बसेर त हो हितप्रसाद उपाध्यायले ऐतिहासिक काव्य ‘चन्द्रवदन’ लेखेको । हो यही थलोमा वदनकुमारीको निधनको ९ वर्षपछि २०११ सालमा भित्रिनुभएको थियो जूनमाया सुवेदी एउटा योद्धा र कविपत्नीका रूपमा र यही थलोमा जन्मिएका थियौँ हामी हाम्रा बाबा–आमाका ६ सन्तान– ठूल्दिदी उर्मिला, माइली इन्दिरा, माइलो म, साइँली (तर हामीले माइली दिदी इन्दिराको ६ वर्षमै भएको निधनपछि २०३० सालमा जन्मिएकी साइँली बहिनीलाई पनि इन्दिरा नै भन्यौँ र माइली नै भन्यौँ), कान्छी मीरा र कान्छो सूर्य । दिदीबहिनीहरू बाध्यताले परपर छन् । आउँछन् वर्षमा तीन दिन र उत्सवमय बनाइदिन्छन् गाउँलाई नै, जीवनलाई नै । चैतको अन्तिम साता आउन थालेपछि चहलपहल बढ्छ, ब्युँझिन्छ र फ¥याकफुरुक गर्छ मेरो गाउँ । पाहुनाहरूलाई स्वागत गर्छ, आतिथ्य दिन्छ र सिर्जनानगर बनेर आफ्नो सभ्य संस्कार देखाउँछ । त्यसैले अझै प्रिय–प्रिय छ यो ठाउँ मेरा लागि । यसमा मेरो गौरवशाली इतिहास छ, सङ्घर्षपूर्ण वर्तमान र सुन्दर भविष्य छ ।

… … …


हुनत केही समयदेखि प्रायः जन्मथलोमै छु र पनि अलि नयाँनयाँ लागिरहेको छ यो भूमि । कमरेडहरू, दिदीबहिनीहरू, साथीभाइहरू, आफन्तजनहरू, गाउँघरका प्रियजनहरूको चहलपहल हेर्दा आजकै दिनलाई पर्खेर बसिरहेको अनुभूति हुन्छ । मलाई मात्र यस्तो भएको हो त ? होइन–होइन, श्रमिक÷शिल्पीहरूको व्यस्तता, स्मृति हल, सालिक र सङ्ग्रहालयका भित्ता र पेटीहरूमा देखिएको नयाँ रङको चमक, बालबालिकाको चहलपहल, कमरेडहरूको व्यस्तता, फोनको चाप…यी सबैले अब केही न केही नयाँपन महसुस भइरहेको छ ।

हो, यो समय नै यस्तै हो । १५ वर्षदेखि यस्तै त भइरहेछ । जब आमा हाम्राबीच हुनुहुन्थ्यो, उहाँलाई बीचमा राखेर, उहाँसँग सुझाव, सल्लाह र प्रेरणा लिएर मनाउँथ्यौँ हामी नयाँ पर्व । उहाँको अनुपस्थितिका पनि सात वर्ष पूरा भइसकेका छन् र आठ वर्ष लागिसकेका छन् । आमासँगको बिछोडेको एक पल पनि कति गाह्रो होला भन्ने लाग्थ्यो । जीवनमा यस्तै हुँदो रहेछ । जस्तै ठूला पीडा, कष्ट र वेदनाहरू पनि मत्थर हुने रहेछन् तर त्यो ममत्व, ती पल, त्यो हार्दिकता, अभावमा पनि हाँसेरै, रमाएरै बाँचिदिनसक्ने र प्रतिकूलतालाई पनि सहजै अनुकूलतामा बदलिदिनसक्ने ममतामयी आमाको त्यो कला…! यी सबै स्मृतिहरू एउटा भयङ्कर घटनाको दृश्य÷परिदृश्यका रूपमा हरपल दगुरिरहेछन् छायाजसरी यताउति । सबैभन्दा बढी त हृदयमै बन्ने रहेछन् चित्र र फलकहरू । तिनै स्मृतिहरूले त गति दिइरहेका छन् जीवनयात्रामा…!
… … …

 

२०७७ साल चैत २४–२६ सम्मको सिर्जनानगर सिर्जनायात्रा अत्यन्त अविस्मरणीय र प्रभावकारी रह्यो । अझ यस वर्ष त खुला पुरुष भलिबल प्रतियोगिताका कारण २०७८ वैशाख १ गतेसम्म पनि सिर्जनानगर सिर्जना अभियानमय बन्यो । सुतेको, अलमलिएको, बरालिएको र भौँतारिएको पुस्तालाई आहाल वा पोखरीझैँ जमेर नबस्न र झरना र वेगवान् नदीझैँ धारिलो र प्रवाहमय बन्न आह्वान गर्दै आएको एक अभियन्ताका नाताले पनि यस वर्षको अभियानको बहुआयामिक महत्व रहेको प्रतिक्रियाहरू प्राप्त गर्दै गर्दा थप गौरव र गर्व लागेको छ ।

२०७६ सालको अभियान कोरोना सङ्क्रमण महामारी र लकडाउनका कारण सोचेजति राम्रोसँग सञ्चालन गर्न पाइएको थिएन । २०७५ सालको अभियान पनि भव्य नै बनेको थियो । पुष्पलाल–गङ्गालाल जन्मस्थल भँगेरीमा नरेन्द्रजङ्ग पिटर, विश्वम्भर लामिछाने, लोककृष्ण भट्टराई, निरबहादुर कार्की र सावित्रा भट्टराईसहित पाँचजनाको हातबाट प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दीको अवसरमा तयार पारिएको गङ्गालालको जीवनी र सङ्घर्षका गाथाहरू समेटिएको ग्रन्थ ‘क्रान्तिवीर गङ्गालाल’ को लोकार्पण र परिचर्चा गरिएको थियो भने पुस्तकमाथि सम्पादकमण्डलकै सदस्यहरूले समीक्षासमेत गरेर अभियानलाई ऐतिहासिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सिर्जनानगरमा नरेन्द्रजङ्ग पिटर, लोककृष्ण भट्टराई, विश्वम्भर लामिछाने, आरबी भण्डारी, अग्निराज पौडेल ‘अराप’, रसुवाली कविदेखि श्यामबहादुर भावुकसम्मका अतिथि र स्थानीय पचासौँ जनसमुदायको हातबाट सामूहिक रूपमा आफ्नै लेखन÷सम्पादन र प्रकाशन रहेको खाँदबारी, जालसाजी र सङ्घर्ष पुस्तक लोकार्पण गर्नुका साथै पुस्तकको बृहत् र व्यापक भूमिकासमेत लेख्नुभएका विद्वान् अधिवक्ता विश्वम्भर लामिछानेले पुस्तकमाथि सिर्जनानगर र खाँदबारी दुवै ठाउँमा गम्भीर समीक्षा पनि गर्नुभएको थियो ।

यसपालिको यात्रामा पनि केही नयाँ ऐतिहासिक कामहरू आरम्भ भएका छन् । यिनै कामहरूमा पाएको साथ र सहयोगले नै त मलाई सन्तुष्टि÷ऊर्जा दिइरहेको छ र समानतामूलक समाज निर्माण गर्ने यात्रामा लामबद्ध भइरहन प्रोत्साहित गरिरहेको छ ।

चैत २४ गते
चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवसको दिन हो । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनताले आगो ओकलेको दिन । यसपटकको यात्राका प्रमुख अतिथि पूर्वशिक्षामन्त्रीसमेत रहेका प्रगतिशील स्रष्टा एवम् नेकपा माओवादी केन्द्र राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्मा, कवि, समीक्षक एवम् अध्यापक प्रसिद्धा शर्मासहितको टोली लिएर पुष्पलाल गङ्गालाल जन्मस्थल भँगेरीको यात्रा गरियो । हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको अगुवाइमा आफैँले पुष्पलाल गङ्गालाल जन्मस्थल भँगेरीमा २०७० साल माघको तेस्रो र चौथो साता दुई लालको सालिक निर्माण गराएको थिएँ । यस वर्ष पनि पुष्पलाल गङ्गालाल जन्मस्थल भँगेरीमा उभिएर एकीकृत जनक्रान्ति पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरियो । शर्माले २०४६ सालको जनआन्दोलन दिवसको चित्रमय झाँकी नै प्रस्तुत गर्नुभयो भने क्रान्ति अझै नसकिएकाले क्रान्तिकारीहरूलाई क्रान्तिको झन्डा उठाइरहन आह्वान पनि गर्नुभयो । कवि एवम् समीक्षक प्रसिद्धाले पनि रामेछाप आफ्ना पुर्खाहरूको जन्मथलो रहेको स्मरण गर्दै यो रातो भूमिमा साहित्यिक अभियानले नयाँनयाँ रचनात्मक कामहरू गरेर युवा पुस्तामा ऊर्जा भरिरहेको संश्लेषण गर्नुभयो ।

माओवादी केन्द्रका मदन, शिशिरलगायत केही साथी पनि कार्यक्रमस्थलमा सहभागी भए र गोष्ठीमा भाग लिए । दर्शन, विचार, राजनीति, आदर्शहरूबाट च्यूत हुँदै गएकाले उनीहरू अस्तव्यस्त देखिन्थे । उनीहरूलाई पनि क्रान्तिको मैदानमा फर्किन आह्वान गरियो ।

सोही दिन म आफूले ३९ वर्षअघि अध्ययन गरेको श्री गौरीशङ्कर माविमा पुगेर प्रधानाध्यापक निरबहादुर कार्कीसँग महत्वपूर्ण भेटघाट र छलफल गरियो । पूर्वशिक्षामन्त्रीलाई लिएर आएका पूर्वविद्यार्थीलाई अचानक विद्यालय प्राङ्गणमा भेट्दा प्रधानाध्यापक निरबहादुर कार्की अचम्मित हुनुभयो । सरकारी शिक्षानीति, प्राविधिक विषयको अध्यापनलगायत विषयमा त्यहाँ पनि गम्भीर छलफल भयो ।

८ वर्षअघि भँगेरीमा सालिक निर्माण गर्नुभन्दा पनि पहिलेबाट, करिब १५ वर्षदेखि स्रष्टा र राजनीतिक पार्टीका नेताहरूलाई पुष्पलाल गङ्गालाल जन्मस्थलको भ्रमण गराएर गोष्ठीहरू आयोजना गरिरहेको छु । सालिक निर्माण गरेपछि स्रष्टाहरूको हातबाट पुष्पलालले लेखेको कम्युनिस्ट घोषणापत्रदेखि तत्कालीन विद्यार्थी नेता एवम् हाल नेकपाका युवा नेता पूर्णबहादुर सिंहको ‘शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति’ पुस्तकसम्म लोकार्पण भइसकेको छ । माओवादी नेता एवम् माक्र्सवादी स्रष्टा अनिल शर्मा, स्थापित चित्रकार एवम् कवि लव प्रधान मित्र, महिलानेत्री एवम् स्रष्टा शान्ता श्रेष्ठ, जनवादी स्रष्टा खुसीराम पाख्रिन, प्राडा जगदीशचन्द्र भण्डारी, प्राध्यापक राजेन्द्र सुवेदी, डा. रामप्रसाद ज्ञवाली, प्राडा सुरेन्द्र केसी, प्रा. पुष्कर लोहनी, मूर्तिकार नरेन्द्र भण्डारी, जुर्बुट्टा कलाकार विश्वम्भर लामिछाने–प्रसिद्धा शर्मादम्पती, ललितकलाकर्मी अग्निराज पौडेल ‘अराप’, नाटककार खेम थपलिया, युवा माक्र्सवादी कवि रसुवाली कवि, नेकपा माओवादीका तत्कालीन युवा नेता लेखनाथ न्यौपाने, हाल नेकपा (क्रान्तिकारी माओवादी) मा आबद्ध स्रष्टा हीरामणि दुःखी, युद्धपत्रकार एवम् बौद्धिक व्यक्तित्व नरेन्द्रजङ्ग पिटर, पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराई, भारतबाट नेपालमा पुष्पलालको अस्तु ल्याउने वामपन्थी नेता आरबी भण्डारी, क्रान्तिकारी कविहरू निभा शाह, शोभा दुलाल, रसुवाली कवि, लोककवि श्यामबहादुर भावुक, चित्रकारहरू विमल श्रेष्ठ, प्रेम लामा ‘क्षितिज’, मङ्गोलपुत्र, आरके थापा, जगत लिम्बू, स्रष्टा मधुसूदन पाण्डेय, पत्रकार जीवन हमाल, अञ्जना सुवेदीलगायत सयौँ स्रष्टा, संस्कृतिकर्मी एवम् राजनीतिक पार्टीका युवा नेताहरूलाई भँगेरीदेखि सिर्जनानगर हुँदै कृष्णलाल जन्मस्थल भँगेरीसम्म पु¥याएर सांस्कृतिक÷वैचारिक अभियानमा बहस गराइसकेको छु । स्थानीय स्रष्टा एवम् बौद्धिकहरू रामचन्द्र वियोगी, पेशल आचार्यहरूको पनि निरन्तर साथ रहेकै छ ।

यसपटकको अभियान पनि त्यसकै एउटा सिलसिला हो । करिब १५ वर्षसम्मको निरन्तर यात्रा, बहस, लेखन, छलफल र दबाबका कारण भँगेरीस्थित पुष्पलाल–गङ्गालाल जन्मस्थल अब पुष्पलाल–गङ्गालाल उद्यान बन्ने भएको छ । माओवादी नेता एवम् माक्र्सवादी स्रष्टा अनिल शर्माले २०६४ सालमा पुष्पलाल गङ्गालाल जन्मस्थल भँगेरीमा सिस्नुको झाङनेर उभिएर ‘भँगेरी कम्युनिस्टहरूको मक्कामदिना बन्नुपर्छ’ भनी गरेको सम्बोधन अब सार्थक बन्दै गएको छ । पुष्पलाल गङ्गालाल जन्मस्थल वरिपरिको ५२ रोपनी जमिन अधिग्रहण भएर मुआब्जा वितरण भइसक्न लागेको सन्देश यस वर्षको यात्राका क्रममा स्थानीय बासिन्दाले सुनाउँदा हामी हर्षित भयौँ । अब मकैको खेतीका लेखक नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी जन्मिएको स्थान कठजोरमा पनि हाम्रो अभियानले सार्थकता पाउला कि भन्ने आशा बढेको छ । हामीले त्यहाँ पनि केही वर्ष यात्रा÷गोष्ठी गर्ने क्रममा सालिक र उद्यान निर्माणका लागि कृष्णलाल जन्मथलोको जग्गा प्राप्त गरेका थियौँ ।

चैत २५ गते
आज अत्यन्त व्यस्त दिन हो । ३९ वर्षअघि यही दिन राणा शासनविरोधी विद्रोहका एक योद्धा, मुक्ति सेनाका सिपाही तथा स्रष्टा कवि हितप्रसाद उपाध्यायले हामीलाई सपनाहरू छोडेर जानुभएको थियो । २०७० साल चैत चार गते ममतामयी आमा जूनमाया सुवेदीले पनि हामीलाई अधुरा सपना पूरा गर्ने आशा छोडेर जानुभयो । आमा छँदै हामीले चैत २५ गतेलाई नयाँ पर्व घोषणा गरेका थियौँ र २०६३ सालदेखि नै यो दिनलाई विशेष दिनका रूपमा स्मरण गर्दै आएका थियौँ । हेर्दाहेर्दै, सहँदासहँदै र भोग्दाभोग्दै बाबाले छोडेको ३९ र आमाले छोडेको आठ वर्ष लागिसकेको छ । उहाँहरूले दिएको शिक्षा र चेतनाले नै हामीलाई शोषणका विरुद्ध जुध्न र सिर्जनात्मक काममा अघि बढ्न प्रेरणा दिइरहेको छ । त्यसैले यो दिन हाम्रो जीवनमा विशेष दिन हो । हाम्रा बाबाआमाका सच्चा सन्तानहरूका लागि दसैँ, तिहार, तीज, साउने–माघेसङ्क्रान्ति वा अन्य सराद्दे, पूजाजस्ता परम्परागत आदर्शवादी पर्वहरू खारेजजस्तै भएका छन् र यिनै दिनलाई हामीले पीडा पोख्ने, हर्षोल्लास मनाउने र नयाँ सिर्जनात्मक काम गर्दै नयाँ संस्कार÷संस्कृति आरम्भ गर्ने दिनका रूपमा मनाउँदै आएका छौँ । बौद्धिक समाजले पनि साथ दिँदै आएको छ ।

बिहान हित–जून स्मृति खुला पुरुष भलिबल प्रतियोगिता गराउने कार्यक्रम राखिएकाले खाँदबारीको यात्रा स्थगन गरिएको थियो तर विशेष कारणले भलिबल खेल हुन सकेन । छोटो समयमा खेल नटुङ्गिने रहेछ । अर्को दिन खेलाउनुपर्ला भनेर आजका लागि स्थगित गरिएको छ ।
खाना खाएपछि नियमित कार्यक्रम आरम्भ भयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभामा दलका नेता रहेका प्रगतिशील स्रष्टा दीनानाथ शर्मा मेरा पुराना साथी हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले एकापसमा कमरेड शब्दले सम्बोधन गर्ने चलन छ । उमेर धेरथोर जे भए पनि हामीबीच त्यही शब्दले सम्बोधन चल्छ । चालीसको दशकको पूर्वाद्र्धमा हामी नेकपा मसालमा छँदादेखि नै कहिले उहाँ रामेछाप आउने, कहिले म बागलुङ उहाँको घरसम्म जाने गथ्र्यौँ । मसालबाट विद्रोह गर्दा र नेकपा माओवादीमा लामबद्ध हुँदासम्म पनि हामी सँगै थियौँ । २०६९ सालमा प्रचण्ड समूहबाट हामीले विद्रोह गरी एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेपछि हामी आबद्ध पार्टी एउटै छैन तर पनि दीनानाथजीको परिवारसँग पुरानो पारिवारिक सम्बन्ध भएकाले उहाँ सत्तामा भएको समयमा बाहेक अरू समयमा उहाँ र उहाँको परिवारका सदस्यहरूसँग हाम्रो कुराकानी र भेटघाट भइरहन्छ । ममतामयी आमा जूनमाया सुवेदीका हातले बनाएको खाना र कमरेडली माया दीनानाथजीले पनि पाउनुभएको छ । त्यसैले बाबाआमाको स्मृति कार्यक्रममा यसपटक उहाँ प्रमुख अतिथि बनेर रामेछाप आइपुग्नुभएको हो ।

यसपटकको सिर्जनानगर सिर्जनायात्रामा नेकपाका युवा नेता, पार्टीको अन्तर्राष्ट्रिय ब्युरो सदस्य एवम् विख्यात साामाजिक अभियन्ता नरबहादुर कार्की मुख्य वक्ताका रूपमा सहभागी हुनुहुन्छ । अनेक प्रतिकूलता चिर्दै उहाँ आज २५ गते मात्रै काठमाडौँबाट रामेछाप, सिर्जनानगर आइपुग्नुभएको हो । सामाजिक रूपान्तरणका पक्षमा अभियान चलाइरहनुभएका कार्की सरको प्रशिक्षण लिन के युवा, के विद्यार्थी, के वृद्धवृद्धा र बालबालिका, सबै हुरुक्क हुन्छन् । यो ऐतिहासिक स्थलमा उहाँका महत्वपूर्ण भनाइहरू सुन्ने अवसर मेरा लागि मात्र होइन, अन्य अतिथि र हाम्रो गाउँका बासिन्दाका लागि पनि विशेष र ऐतिहासिक हो ।

अर्की अतिथि हुनुहुन्छ युद्धपत्रकार, स्रष्टा एवम् नेकपाकी युवानेत्री, मेरी सहयोद्धा÷सहकर्मी अम्बिका चन्द । अघिल्लो वर्ष कोरोना कहरले सिङ्गो समाजलाई थला नपारेको भए र लकडाउन नभएको भए उहाँ आएर हाम्रो रातो भूमिलाई सम्बोधन गरिसक्नुभएको हुन्थ्यो । कामको अत्यन्त चापका बीचमा नानी हिमांशुलाई पनि लिएर आउनुभएको छ उहाँ । उहाँसँग युद्धपत्रकारिताको मात्र होइन, कम्युनिस्ट आन्दोलनभित्रका घात, प्रतिघात, विद्रोह र क्रान्तिका अनुभूतिहरू पनि प्रसस्तै छन् ।

सिन्धुलीबाला प्रसिद्धा शर्मा यस यात्राकी अर्की महत्वपूर्ण अतिथि हुनुहुन्छ । कवि, समीक्षक, अध्यापक, माक्र्सवादी लेखक उहाँका धेरै परिचय छन् । उहाँ सिन्धुलीको ढकालगाउँ आसुमतीटारमा रहेको चर्चित जर्बुट्टा कला सङ्ग्रहालय निर्माता एवम् कलाकार, अधिवक्ता विश्वम्भर लामिछानेकी जीवनसँगिनी र मेरी बालसखा पनि हुनुहुन्छ ।

कार्यक्रममा नेकपा रोमछापको पूर्ण साथ छ । नेकपा रामेछापका इन्चार्ज कमरेड इन्द्र श्रेष्ठ, सेक्रेटरी कमरेड विवेक लामा, पूर्वसेक्रेटरी अभिलाश, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश तिरुवा, विद्यार्थी नेताहरू सहिदपुत्र सङ्ग्राम शाही, रोशन शाही, नेकपा रामेछापका नेता यमन बस्नेत ‘गुन्जन’ पनि हुनुहुन्छ । युवा विद्रोही कवि एवम् अध्यापक पार्वती कडरिया पनि यसपटकको कार्यक्रममा पूरै समय निकालेर सहभागी हुनुहुन्छ । प्रिय भतिज विनोद सुवेदीले निरन्तर साथ दिइरहेकै छन् ।

बहिनीहरू आयोजकका रूपमा सदाझैँ पाहुनाहरूलाई स्वागत गर्न तम्तयार भएर बसेका छन् ।
सिङ्गो जीवन नै क्रान्तिकारी कविता लेखन र आमूल परिवर्तनका लागि सुम्पिएका युवाकवि रसुवाली कवि पनि आजका विशेष पाहुना हुनुहुन्छ । यसपटक रिजर्भ गाडीको व्यवस्था नगरिएकाले उहाँ आफैँ खर्च गरेर आइपुग्दै हुनुहुन्छ । श्यामबहादुर भावुकलगायत नियमित रूपमा अभियानमा सहभागी केही प्रियजन विविध कारणले यसपालि छुट्नुभएको छ तर फोनबाट उहाँहरूको शुभकामना प्राप्त भइरहेको छ ।

यस वर्षको कार्यक्रमको एउटा विशिष्ट आकर्षण छ– स्रष्टा सरला शर्माको निबन्धात्मक कृति ‘जीवनको गोरेटो’ को लोकार्पण र परिचर्चा । संयोगले उक्त कृतिको सम्पादन गर्ने र भूमिका लेख्ने जिम्मा मेरै परेको थियो । सरला शर्मालाई एउटी जुझारु लेखक र स्रष्टाका साथै राजनीतिज्ञ दीनानाथ शर्माकी जीवनसँगिनीका रूपमा पनि परिचय गराउन सकिन्छ । एक नारी स्रष्टाको कृतिको नारी स्रष्टाहरूबाटै लोकार्पण र नारी स्रष्टाबाटै समीक्षा गराउने योजना हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले बनाएको थियो र यसका लागि सबै तयारी पूरा भइसकेको छ ।

कार्यक्रम सुरु भयो । कवि हितप्रसाद उपाध्यायको स्मृतिमा ३९ वटा, ममतामयी आमा जूनमाया सुवेदीको स्मृतिमा ८ वटा, यसै वर्ष निधन भएकी बहिनी उमादेवी चिमरियाका नाउँमा एउटा र भाइ बद्री भुजेलको स्मृतिमा एउटा गरी ४९ वटा मैनबत्ती बालिए । प्रमुख अतिथि, प्रमुख वक्ता, विशिष्ट अतिथि, आफन्तजन, सहभागी सबैले पालैपालो मैनबत्ती प्रज्वलन गरेपछि बाबाआमा, अग्रजहरूप्रति श्रद्धाञ्जली प्रकट गरियो । लगत्तै प्रतिष्ठान प्राङ्गणमा रहेको कवि हितप्रसाद उपाध्याय र ममतामयी जूनमाया सुवेदीको सालिकमा माल्यार्पण, पुष्पार्पण र अबिरार्पण गरियो । विद्रोही र श्रमिक अग्रज÷पुर्खाहरूको सम्मानमा सालिकको पृष्ठभागमा निर्मित ५० फिट अग्लो विद्रोह स्तम्भमा लालसलाम अर्पण गरियो र सालिक तथा विद्रोह स्तम्भमा अग्रजहरूको सम्झना गरियो । त्यसपछि लागियो हित–जून युद्ध–कला सङ्ग्रहालय प्राङ्गणमा प्रदर्शित एक हजार तस्बिरको अवलोकनतर्फ । अतिथि र सहभागीहरूबाट हितप्रसाद उपाध्याय जूनमाया सुवेदीसँग सम्बन्धित, प्रतिष्ठानद्वारा प्रकाशित र १५ बर्से यात्राको झल्को दिने एक हजार तस्बिर अवलोकन गर्ने काम भयो । हित–जून साहित्य प्रतिष्ठान र प्रतिष्ठानका अध्यक्षका नाताले म आफैँले लेखेका, सम्पादन÷प्रकाशन गरेका देशको क्रान्तिकारी राजनीतिक साहित्यिक आन्दोलनसँग सम्बन्धित झन्डै सात दर्जन पुस्तकको अवलोकन गर्ने काम पनि भयो । त्यसपछि अतिथि र सहभागीहरूबाट हित–जून युद्ध–कला सङ्ग्रहालय १ अवलोकन गर्ने, तस्बिर खिच्ने काम सम्पन्न भयो । नेपालको समग्र राजनीतिक, साहित्यिक, सांस्कृतिक आन्दोलन र सिर्जनानगर क्षेत्रको इतिहास, सभ्यता र जनजीवनसँग गाँसिएका करिब पाँच सय पचास थान सामग्रीको सरसर्ती अवलोकन र परिचर्चा भयो । पुष्पलालले कम्युनिस्ट घोषणापत्र राखेको बाकसदेखि नेकपाका महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा प्रयोग गरेको कम्प्युटर प्रिन्टर हुँदै कलाकार विश्वम्भर लामिछानेले निर्माण गरेको हँसिया–हथौडा अङ्कित जर्बुट्टा कलासम्म, १३ जना चित्रकारले प्रतिष्ठानकै आयोजनामा सम्पन्न कार्यक्रमहरूमा विभिन्न विषय र स्थानमा कोरेका ५० थान चित्रदेखि हितप्रसाद उपाध्यायले राणा शासनविरोधी विद्रोहमा मुक्ति सेनाका तर्फबाट प्रयोग गरेका बाकससम्म, जूनमाया सुवेदीको अन्तिम वस्त्र आर्यघाटमा चिताबाट निकालिएका चोलो, उहाँले राखिदिनुभएका फु्ली, गहना, थैली, सिक्कादेखि ९३ वर्षीया कान्छी फुपू पवित्रादेवीले दिनुभएको डेढ सय वर्ष पुरानु हर्पेसम्म, ठूल्दाजु कृष्णबहादुर सुवेदी–अम्बिका सुवेदी दम्पतीबाट प्राप्त माटोको घ्याम्पोदेखि माइला दाजु गुन्जबहादुर सुवेदीको बिर्खे टोपीसम्म अवलोकन गरियो ।

कार्यक्रमको आरम्भमै हितप्रसाद उपाध्याय जूनमाया सुवेदीकी कान्छी छोरी अर्थात् मेरी कान्छी बहिनी मीराका छोरा, मेरा भानिज विमल पौडेलले ‘आमा’ गीत गाएर पाहुनाहरूको स्वागत गरे भने भतिज विनोदले शब्दबाट अतिथिहरूको स्वागत गरे । बहिनीहरू इन्दिरा र मीराले ढाकाको खादाले पाहुनाहरूको स्वागत गरे ।

त्यसपछि लगत्तै सुरु भयो स्रष्टा सरला शर्माको ‘जीवनको गोरेटो’ निबन्धसङ्ग्रहको लोकार्पण कार्यक्रम । पाँच नारी ः युद्ध पत्रकार एवम् स्रष्टा अम्बिका चन्द, कवि एवम् समीक्षक प्रसिद्धा शर्मा, कवि एवम् अध्यापक पार्वती कडरिया, आयोजक प्रतिष्ठानका सदस्यहरू इन्दिरा सुवेदी र मीरा सुवेदीद्वारा संयुक्त रूपमा कृति लोकार्पण गरियो । अम्बिका चन्द, प्रसिद्धा शर्मा, पार्वती कडरियाद्वारा कृतिमाथि व्यापक समीक्षा भयो । नारी हस्ताक्षरमाथि नारी स्रष्टाले नै लोकार्पण र परिचर्चा गरेको यो कार्यक्रमले नेपाली साहित्यमा नयाँ प्रयोगका रूपमा चर्चा पायो ।

अतिथि कविका रूपमा दीनानाथ शर्मा, रसुवाली कवि, पार्वती कडरिया र आयोजकका तर्फबाट म आफैँले पनि आमा शीर्षकको कविता वाचन गरेँ ।
हित–जून युद्ध–कला सङ्ग्रहालय १ भवनको जगदेखि नै श्रमिकका रूपमा काम गरेका दोलखा भुसाफेदीका बुधे (बुद्धिमान) तामाङलाई नगद दुई हजार, दोसल्ला र अबिरले हित–जून श्रमिक सम्मान गरियो । अन्तरजातीय विवाह गर्ने उर्मिला थापामगर र पवन विकलाई हित–जून अन्तरजातीय वैवाहिक सम्मान, पचास वर्षपछि जन्मथलो फर्किएर स्थायी बसोबास थालेका माधव सुवेदी र उर्मिला सुवेदी दम्पतीलाई हित–जून जन्मथलो फिर्ती सम्मान गरियो भने असल बुहारीहरू उमादेवी सुवेदी, सानु सुवेदी, धनदेवी भुजेल, राधिका सुवेदी र राधा भुजेलको उपस्थितिमा राधिका सुवेदीको संयोजकत्वमा हित–जून असल बुहारी समूह गठन गरियो । यस वर्षको हित–जून असल बुहारी सम्मान सिर्जनानगर, सापमारेकी राधा भुजेलले प्राप्त गर्नुभयो । उहाँलाई विगतमा झैँ पाँच हजार नगद, दोसल्ला र सम्मानपत्र–अबिर प्रदान गरियो । सिर्जनानगरमा निर्माणाधीन हित–जून युद्ध–कला सङ्ग्रहालय १ मा काठको कलसबुट्टे बार्दली निर्माण गरिरहेका फणिन्द्र विक र पवन विकको जोडीलाई हित–जून श्रमिक÷शिल्पी सम्मान प्रदान गरियो ।

यस वर्ष पनि मन्थली माविदेखि सिर्जनानगरसम्मका कयौँ युवा स्रष्टाले कविता प्रतियोगितामा भाग लिए । यस वर्ष तीन नारी स्रष्टा पुरस्कृत भए ।
यस वर्षको अभियानको अर्को मुख्य आकर्षणका रूपमा रहेको हित–जून युद्ध–कला सङ्ग्रहालय २ भवनको प्रमुख अतिथि दीनानाथ शर्माबाट उद्घाटन गरियो । कार्यक्रममा प्रतिष्ठानका सदस्यहरू इन्दिरा सुवेदी, मीरा सुवेदी, विनोद पौडेल, स्रष्टा प्रसिद्धा शर्मा, नेकपा रामेछापका इन्चार्ज इन्द्र श्रेष्ठ, सेक्रेटरी विवेक लामा, पूर्वसेक्रेटरी अभिलाश, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश तिरुवा, विद्यार्थी नेताहरू इन्जिनियर सङ्ग्राम शाही, इन्जिनियर रोशन शाही, विमल पौडेल, चन्द्रलाल–पदमकुमारीका खनाती समीर सुवेदी, लालस्तम्भ तथा सांस्कृतिक केन्द्र निर्माण समितिका सचिव पवन विक, सल्लाहकार रत्न विक, उर्मिला थापामगर विकलगायतको उपस्थितिमा ‘नयाँ घर’ उद्घाटन गरियो । डाँडाबारीमा निर्माणाधीन लाल स्तम्भ (भ्यु टावर) तथा सांस्कृतिक केन्द्र निर्माणस्थलको अवलोकन गरियो । निर्माण समितिका सचिव पवन विकले पाहुनाहरूलाई शब्दले स्वागत गरे । प्रमुख अतिथि शर्माले पुख्र्यौली घर पुर्निर्माण गरी सङ्ग्रहालय घोषणा गरेर इतिहास जोगाउने काम गरेको भन्दै धन्यवाद प्रकट गर्नुभयो । पार्टीका साथी र स्थानीयले पनि हर्ष प्रकट गरे । १२ वर्षअघि ममतामयी जूनमाया सुवेदीको हातबाट शिलान्यास गरिएको जन्मघरलाई सङ्ग्रहालय घोषणा गर्न पाउँदा अत्यन्त गौरवान्वित बनेको छु । यो मेरो पुर्खाको गौरव हो ।
… … …

पाहुनाहरू फर्किने र घर शून्य हुने क्रम सुरु भइसकेको छ । कमरेड नरबहादुर, कमरेड अम्बिका र नानी हिमांशुको फिर्ती हिजै भयो । कमरेड दीनानाथ शर्मा, कमरेड प्रसिद्धा शर्मा, कमरेड रसुवाली कवि र जयरामजी नयाँ घर उद्घाटनलगत्तै फर्किनुभएको छ । हेर्दाहेर्दै केही छिनमै बहिनीहरू इन्दिरा, मीरा र भानिज विमल पनि बिदा भए । अब जिल्ला इन्चार्ज, सेक्रेटरीसहित केही पार्टी कमरेडहरू बाँकी हुनुहुन्छ । उहाँहरू पार्टी अभियानमा हुनुहुन्छ । एक छिनअघिसम्मको त्यस्तो चहलपहलपूर्ण घर र वातावरण अब क्रमशः शून्य–शून्य हुँदैछ । मैले यो शून्यतालाई सहनुपर्छ फेरि एक वर्षसम्म, अर्को उत्सवसम्मका लागि । यिनै खुसीका दिनहरू फर्किन्छन् र त म यी सुनसान दिनहरूलाई उत्सवमा रूपान्तरण गर्ने अवसर पर्खेर बस्छु ।

साँझ हामी कार्यक्रमको समीक्षा गर्छौं र नयाँ वर्षको दिन अखिल क्रान्तिकारी रामेछाप र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानबाट संयुक्त रूपमा भलिबल प्रतियोगिता आयोजना गर्ने निष्कर्षमा पुग्छौँ ।

२७ गते बिहानै पार्टी इन्चार्ज इन्द्र, सेक्रेटरी विवेकलगायत कमरेडहरूसँगै हामी भँगेरीतर्फ लागेका छौँ । पुष्पलाल गङ्गालाल जन्मस्थल भँगेरीमा निर्मित सालिकमा पुष्पार्पणपछि हामी दोरम्बा हत्याकाण्ड ः मुक्तिका लागि बलिदान, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, रामप्रसादको सिसमहललगायत केही पुस्तक सामूहिक रूपमा लोकार्पण गर्छौं र यात्रालाई झनै स्मरणीय बनाउँछौँ ।

त्यसपछि गौरीशङ्कर माविमा पुगेर शिक्षकहरूसँग चिनजान गर्दै एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीसँग छलफलमा जुट्छौँ । आफूसँग सम्बन्धित विषय राखिसकेपछि छात्रछात्राहरू अखिल क्रान्तिकारीमा सङ्गठित हुन तयार हुन्छन् । सामूहिक तस्बिर खिचाएर हामी गौरीशङ्कर माविको पुरानो विद्यालय भवन रहेको स्थानमा पुग्छौँ । विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्की सर आत्मीय हुनुहुन्छ । उहाँकै अनुमतिमा हामी त्यहाँ जान लागेका हौँ । विद्यालयमा हार्दिक स्वागत गर्नुहुन्छ निरबहादुर सरले । आफैँ अध्ययन गरेको विद्यालयका लागि केही पुस्तक हस्तान्तरण गर्न पाउँदा आह्लादित हुन्छु म । कमरेडहरूले दोरम्बा हत्याकाण्ड पुस्तक बोक्नुभएको छ विद्यालयको पुस्तकालयका लागि, बिक्रीमा । कार्की सरले व्यक्तिगत रूपमा पुस्तकको केही रकम दिइहाल्नुहुन्छ पार्टीका साथीहरूलाई । आगन्तुक पुस्तिकामा अनुभूतिसहितको उपस्थिति जनाएर तस्बिर खिचेपछि हामीलाई फर्किन हतारो हुन्छ । अलि तल बजारमा फर्केर खाना खाएपछि हामी मन्थली फर्किन्छौँ ।

१ वैशाख, २०७८
आजभोलि गर्दै वैशाख १ गते अर्थात् २०७८ सालको पहिलो दिन पनि आइपुग्छ । भलिबल प्रतियोगितामा सहभागी हुन सात–आठवटा समूह तयार हुँदै गरेको सूचना आउँदा कार्यक्रम सफल बन्छ भन्ने सुनिश्चितता बढ्दै जान्छ । व्यवस्थापनमा पार्टी र विद्यार्थी सङ्गठनका साथीहरू निरन्तर खटिरहनुभएको छ भने खेलाडीहरूका टिम तयार पार्ने कसरतमा म आफैँ लागेको छु । स्थानीय भाइ–भतिज, शुभचिन्तकहरूमा उत्साह बढिरहेको छ– गाउँमा पहिलोपटक खुला भलिबल प्रतियोगिता हुन लागेकोमा ।

३१ गते साँझ तय हुन्छ– विद्यार्थी सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रमुख अतिथि बनाउँदा कार्यक्रम बढी प्रभावकारी होला भनेर ।
१ गते बिहानैदेखि सिर्जनानगर खारखोला किनारमा रहेको खेल मैदानमा चहलपहल बढेको छ । डोजर लगाएर मञ्च बनाउने, धुले मैदानमा पानी छ्याप्ने, नयाँ नेट टाँग्ने, कोर्टमा सेतो धुलोको रेखी (लाइन) हाल्ने, ब्यानर टाँग्ने, टेबुलकुर्सी मिलाउने काम सुरु भइसकेको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल कार्यक्रम सुरु हुने बेला आइपुग्नुभयो । ९ बजे भलिबल प्रतियोगिता सुरु भयो । प्रकाशजीले कार्यक्रम सञ्चालन गर्नुभयो । मैले कार्यक्रमको अध्यक्षता गरेँ । चिरञ्जीवीजी प्रमुख अतिथि, पार्टी इन्चार्ज इन्द्र श्रेष्ठ विशिष्ट अतिथि, सेक्रेटरी विवेक लामा, पूर्वसेक्रेटरी गुन्जन, शिक्षक नेताहरू विनोद सुवेदी, पाण्डव सुवेदी, रामेश्वर ढुंगेल, स्थानीय युवा व्यवसायी र सामाजिक कार्यकर्ता उज्ज्वल सुवेदी, युवराज सुवेदी, नेपाल पत्रकार महासङ्घ रामेछापका उपाध्यक्ष कैलास खत्रीलगायत अतिथि बन्नुभयो । अध्यक्षको आसनबाट मैले विद्यार्थी सङ्गठनको गौरवशाली इतिहास र सुनौलो भविष्यका बारेमा चर्चा गर्दै प्रतिष्ठान र सङ्गठन मिलेर कार्यक्रम आयोजना गर्दा समाजमा राम्रो सन्देश गएको विषय राखेँ । ढकालजीले पनि जारी क्रान्तिमा युवा, खेलाडीको महत्वका बारेमा चर्चा गर्दै प्रतिष्ठान र सङ्गठनको संयुक्त कार्यक्रमको खुलेर प्रशंसा गर्नुभयो । पार्टी इन्चार्ज इन्द्र श्रेष्ठले क्रान्तिमाथि दलाल र अवसरवादीहरूले अझै भ्रम र बाधा हालिरहेकाले यसप्रकारका संयुक्त सामाजिक कार्यक्रमहरूले त्यो भ्रम चिर्न र क्रान्ति अघि बढाउन सजिलो हुने बताउनुभयो । शिक्षक नेता पाण्डव सुवेदीले स्वागत गर्नुभयो । अखिल (क्रान्तिकारी) का नेताहरू सङ्ग्राम शाही र रोशन शाहीले रेफ्री र उद्घोषकको भूमिका निर्वाह गर्नुभयो ।

प्रतियोगिता अवलोकन गर्न र खेलको मज्जा लिन सानीमदौ सिर्जनानगरबासी जनसमुदायको उल्लेख्य उपस्थिति रह्यो । प्रायः सबै घरबाट आफन्तजनहरू खेल हेर्न आउनुभयो । खेलाडीहरूको उत्साह बढाउन स्थानीय बासिन्दा र विशेषगरी बालबालिका र किशोरकिशोरीले गरेको हुटिङ अत्यन्त प्रेरणादायी रह्यो ।

भलिबल प्रतियोगितामा मन्थली १ खाँदबारी समूह प्रथम, स्थानीय सानीमदौ सोसियल सिटी युवा क्लब द्वितीय र मन्थली मावि ‘बी’ ले तृतीय स्थान हासिल गरे । विजेता टोली र खेलाडीहरूलाई प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले प्रमाणपत्र, नेकपा रामेछापका इन्चार्ज इन्द्र श्रेष्ठले अबिर र मैले सात, पाँच र चार हजार नगद हस्तान्तरण गरेँ । नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा भैँसेश्वर, हाटेचौर, ठूलीमदौ, गौरीशङ्कर मावि, रामेछाप पोलिटेक्निक इन्स्टिच्युटदेखि तामाकोसी मावि खिम्तीसम्मका विद्यार्थी सहभागी थिए । कार्यक्रममा बेस्ट प्लेयर सञ्जय बस्नेत र अनुशासित खेलाडी अङ्कित थापामगरलाई एक–एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । रेफ्रीहरूलाई पनि प्रशंसापत्र प्रदान गरियो । यसरी भलिबल खेलसमेत भव्य रूपमा सम्पन्न भयो ।

समग्रमा चैत २४ गते भँगेरी हुँदै गौरीशङ्कर माविको यात्रा÷गोष्ठीदेखि वैशाख १ गते सिर्जनानगर खारखोला किनारमा भलिबल प्रतियोगितासम्म आइपुग्दा यस वर्षको सिर्जनानगर सिर्जनायात्रा अत्यन्त सफल, प्रेरणादायी र सन्देशमूलक बन्यो भने मेरो निष्कर्ष छ ।

भलिबलपछि फुटबल र ब्याटमिन्टन प्रतियोगिता गराउनुपर्ने माग आएको छ । हित जून असल बुहारी समूहलाई व्यवस्थित गर्नुपर्ने छ । चुनौतीहरू पनि छन् । सम्भावनाहरू पनि छन् । आशाको बाढी नै छ । यो यात्रामा लामबद्ध हुने प्रमुख अतिथि, प्रमुख वक्ता, विशिष्ट अतिथिदेखि स्थानीय जनसमुदाय, सबै तह, तप्का र व्यक्तित्वहरू, भलिबल प्रतियोगिताका लागि तयारीमा जुट्ने स्थानीय युवाहरू, पिउने पानी, ग्लुकोज सहयोग गर्ने युवा व्यवसायी भतिज दीपकबहादुर सुवेदी, भलिबल सहयोग गर्ने जेएन पुस्तक पसललगायत सबैप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु । यो सामाजिक रूपान्तरण र जागरण अभियान हो । यो सबैको साझा अभियान हो । लामबद्ध बनौँ र समानतामूलक समाज निर्माणमा अघि बढौँ भन्ने मेरो आह्वान छ ।
८ वैशाख, २०७८
हित–जून युद्ध–कला सङ्ग्रहालय, सिर्जनानगर ।

 

Leave a Reply

Your email address will not be published.