मकवानपुर,कात्तिक ८ गते । अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको एमसीएको हेटौंडास्थित कार्यालय हटाउन माग गर्दै नेकपाको नेतृत्वमा १५ वटा संस्थाले ज्ञापन पत्र बुझाएका छन् । सोमबार हेटौंडास्थित एमसीएको कार्यालयका प्रतिनिधिलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
सरकारबाट वैधानिकता नै नपाएको विवादित विषय एमसीसीले हेटौंडामा आफ्नो कार्यालय खोलेर विगतदेखि नै विभिन्न गतिविधि संचालन गर्नु आफैमा गैरकानुनी भएकाले कार्यालय हटाउन पत्र बुझाएको नेकपाका केन्द्रीय सदस्य इन्द्र बहादुर परियारले बताए ।
नेपाल सरकार कै जिम्मेवार निकायको भवनमा एमसीएले कार्यालय स्थापना गरी शंकास्पद रुपमा काम कारवाही गर्दा नियमनकारी निकायहरु मौन बसेकाले आफूसहित अन्य १५ वटा सरोकारवाला निकायले कार्यालय हटाउन आग्रह गरेको उनको भनाई छ ।
एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधिनता, संविधान कानून, सुरक्षा अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध विपरित रहेको सो पत्रमा उल्लेख छ ।