नेकपा दोलखाको राजनीतिक–वैचारिक प्रशिक्षण/माके, एमाले र काङ्ग्रेसबाट १२ जना नेकपामा प्रवेश

Political

चरीकोट,  कात्तिक ६ गते । नेकपा दोलखाको राजनीतिक–वैचारिक प्रशिक्षण शनिबार चरीकोटमा सम्पन्न भएको छ । ७५ जना जिल्ला, गाउँ र नगर समितिका सदस्यलाई प्रशिक्षण दिँदै प्रमुख प्रशिक्षक नेकपाका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले वैज्ञानिक समाजवाद साम्यवादमा पुग्ने अन्तिम र एक मात्र विकल्प भएकाले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि तयार हुन निर्देशन दिए । कम्युनिस्टहरू एक हुनुपर्ने विषय नारा र हल्लाको विषय नभएर समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा, बहस र सही निष्कर्षले मात्र सम्भव हुने धारणा राख्दै पार्टी केन्द्रीय सदस्य सिंहले भने, ‘कम्युनिस्ट पार्टी एकताका लागि नेकपाको कार्यदिशा र नेतृत्व स्वीकार्नु आवश्यक छ ।’

जनताको शक्तिभन्दा बलियो र अपराजेय शक्ति केही नहुने धारणा प्रस्तुत गर्दै नेता सिंहले भने, ‘विचारको हतियार सबैभन्दा ठूलो र शक्तिशाली हतियार हो । नेकपाले बोकेको विचार सबै हतियारभन्दा बलियो छ । यही हतियारले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नेछ ।’

नेकपाले वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति अघि बढाएपछि पुष्पकमल दाहालदेखि केपी वली, माधव नेपाल, शेरबहादुर देउवा हुँदै राजावादीहरूसम्मले समाजवादी फुर्को झुन्ड्याएर जनता झुक्याउन थालेको स्पष्ट पार्दै नेता सिंहले भने, ‘केवल हल्ला चलाउनेहरूसँग सावधान !’

दलाल व्यवस्थाका रक्षक र पृष्ठपोषकहरू लुटेको धन बोकेर जनता भड्काउन गाउँ प्रवेश गर्न थालेको भन्दै उनले पैसा बाँडेर जनमत भड्काउन र जनताको अपमान गर्नेहरूलाई जनताले नछोड्ने धारणा पनि राखे । सरकारसँग भएको तीनबुँदे सहमति आवश्यकता र पूर्तिको सिद्धान्तमा आधारित रहेको प्रस्ट पार्दै उनले सरकारले यो सहमति इमानदारीसाथ लागू गर्नुपर्ने बताए । हात थापेर, मागेर खानु कम्युनिस्ट नैतिकता नभएको भन्दै उनले दलाल बन्नबाट जोगिएर उत्पादनमा लाग्ने पार्टीको योजना सफलतापूर्वक सम्पन्न हुँदै गएको र संयुक्त प्रगतिशील सरकार र जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद स्थापना हुनेमा विश्वास व्यक्त गरे । मङ्सिर ८ गते आठौँ पार्टी पुनर्गठन दिवसका दिन काठमाडौँमा पचासौँ हजार क्रान्तिकारी जनताले वैज्ञानिक समाजवादका नारा लगाएर संसारलाई झकझक्याउने उनको विश्वास थियो ।

पार्टी सदस्यहरूलाई प्रशिक्षण दिँदै नेकपा दोलखाका सेक्रेटरी माधव गौताम ‘आकाश’ ले संसदीय व्यवस्था भ्रष्ट र दलालहरूको व्यवस्था रहेको प्रमाणित भइसकेकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न टोलटोलबाट विचारको राँको बाल्न सुरु भइसकेको बताए । वैज्ञानिक समाजवादी व्यवस्थामा असमान सन्धिसम्झौता खारेज भएर मुलुक स्वाधीन हुने, जनताको आत्मसम्मान र स्वाभिमान बढ्ने, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चितता हुने प्रस्ट पार्दै सेक्रेटरी गौतमले दलाल सत्ताधारीहरू एमसीसीजस्तो राष्ट्रघाती सम्झौता लादेर आफ्नो अस्तित्व जोगाउन अन्तिम प्रयास गरिरहेको भए पनि एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादले तिनका दिवासपनाहरू चकनाचुर हुने धारणा राखे ।

प्रशिक्षण कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले कम्युनिस्ट पार्टी सबैभन्दा उच्च संस्कृति र सभ्यता स्थापना गर्ने दस्ता भएकाले सबै कम्युनिस्ट विचार, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत क्षेत्र प्रस्ट र सुसभ्य हुनुपर्ने धारणा राखे । क्रान्तिका नायक र महानायकहरू नै प्रतिक्रान्तिका मतियार, दलाल पुँजीवादी संस्कृतिका बाहक बनेको अवस्थामा नेकपाले जनतामा क्रान्तिकारी आशावाद जगाएको र वैज्ञानिक समाजवादसम्म पुग्ने सुस्पष्ट कार्यदिशा तय गरेर जनताको विजय सुनिश्चित गरेको बताए ।

 

प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी आकाश र सञ्चालन विशेष समिति सदस्य अर्जुन योगीले गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य राजकुमार लामिछानेले सहभागीलाई स्वागत गरेका थिए ।

प्रशिक्षण कार्यक्रमकै अवसर पारेर नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १२ जना नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य सिंहले खादा ओढाई सम्मान र स्वागत गरेका थिए भने जिल्ला सेक्रेटरी आकाश, महासङ्घका सचिव सुवेदीले बधाई तथा शुभकामना दिएका थिए ।

नेकपा दोलखाले दिएको जानकारीअनुसार आइतबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दोलखा, जिल्ला सङ्गठन समिति घोषणा गर्ने, महासङ्घको आयोजनामा ‘साम्राज्यवादी हस्तक्षेपविरुद्ध माक्र्सवादी संस्कृतिकर्मीहरूको भूमिका’ विषयमा विचार गोष्ठीसहित कविता वाचन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *