कालिकोट, असाेज २१ गते । जेल रिहाइपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीर पहिलो पटक गृह जिल्ला कालिकोट पुग्दा नेता कार्यकर्ता तथा स्थानीय भव्य स्वागत गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भरत बम रणवीरले जनताको राज्यको माग गर्दा आफूलाई जेल हालिएको बताए । २८ महिना लामो जेल जीवनपछि गृह जिल्ला कालिकोट पहिलो पटक फर्किएका नेता बमले बुधबार सदरमुकाम मान्ममा आयोजित विरोध प्रदर्शन तथा अभिनन्दन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले यो दलाल व्यवस्थाले जनताको राज्यको माग गर्ने शक्तिलाई हिरासत लिनु, जेल हाल्नु र मृत्यु दण्ड दिनु अनौठो नभएको र उनीहरुको उपहार भएको बताए ।
आफूले जेलमा बस्दा ३ ‘ग’ को भूमिका पुरा गरेको दाबी गर्दै नेता बमले सानो जेलको घेराबाट ठूलो जेलको घेरामा आएको बताए ।
संसारमा कोही पनि स्वतन्त्र नभएको भन्दै पूजीवादीहरुको उत्पीडन, शोषण, दमनमा परिरहनु परेकाले त्यसबाट मुक्त हुनु नै ठूलो जेलबाट मुक्त हुने ठोकुवा गरे ।
नेता बमले आफ्नो रिहाइको लागि सहयोग गर्ने पार्टी कार्यकर्ता, शुभचिन्तक, पत्रकार तथा कालिकोटबासीलाई समेत धन्यवाद दिए । स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट, जुम्ला जिल्ला इन्चार्ज विराट, जिल्ला सेक्रेटरी रणदिपले स्वागत तथा अभिनन्द गर्दै सत्यको जीत र असत्यको हार भएको बताए ।
उनले संसदवाद सबै हिसाबले पतन भएको दाबी पनि गरे । कार्यक्रममा जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्र लगायतका नेता कार्यकर्ताहरु समेतको सहभागिता रहेको थियो ।