वैज्ञानिक समाजवादका लागी जनमत सङ्ग्रह आवश्यक
बुटवल, असाेज १७ गते । नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राष्ट्रियतामाथि तीब्र हस्तक्षेप भएको भन्दै नेपालको सार्वभौमसत्ता र स्वाधीनताका लागी संघर्षको विकल्प नभएको बताएका छन् ।
युवा संगठन नेपाल रुपन्देहीको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता बास्तोलाले भारतले मिचेको सिमाना खोसेर फिर्ता गर्नुपर्ने बताए । उनले भारतीय साम्राज्यवादका दलालहरुलाई चिहानमा नपुर्याउदासम्म हस्तक्षेप रहने भन्दै त्यसका लागी देशको सार्वभौमसत्ता र स्वाधीनताको पक्षमा देशका सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताए ।
नेता बास्तोलाले एकीकृत जनक्रान्तिमार्फत् सम्पूर्ण देशभक्त र उत्पीडितहरुलाई मुक्त गर्ने बताउदै त्यसका लागी वैज्ञानिक समाजवादी व्यवस्था जरुरी रहेको बताएका छन् । उनले संसारका क्रान्तिकारी संघर्षमा युवाहरुको महत्वपूर्ण भूमिका भएको भन्दै नेपालमा नयाँ राज्यव्यवस्था प्राप्तिका लागी जनमत संग्रहको राजनीतिक कार्यनीति सफल बनाउन अग्रपंक्तिमा रहेर संघर्ष गर्नुपर्ने बताए । उनले अहिले नेपालमा दलाल पुँजीवाद मुख्य समस्या रहेको भन्दै यसका विरुद्ध क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताए ।
नेता बास्तोलाले वैज्ञानिक समाजवादले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारको ग्यारेन्टी गर्ने भन्दै नेपाली जनताले वास्तविक शान्ति, समृद्धि, समानता र स्वाधीनताको अनुभूत गर्ने बताए । सम्मेलनमा नेकपा केन्द्रीय सदस्य रणवीरसमेत उपस्थिति रहेको थियो । सम्मेलनमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, नेकपा रुपन्देही सेक्रेटरी विश्वासलगायतले सम्बोधन गरेका थिए । सम्मेलनले सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।