जनताले जित्दैछन्, दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको छ : विप्लव

News Political

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रशिक्षण सम्पन्न

 पर्सा (चितवन), असोज  १४ गते । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा चितवनको पर्सामा सोमबारदेखि जारी प्रशिक्षण आज अर्थात् बिहीबार समापन भएको छ । प्रशिक्षण कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षित गर्दै पार्टी महासचिव विप्लवले पार्टीको आगामी कार्यनीति, रणनीति, गर्नुपर्ने काम, केन्द्रीय समितिको निर्णय, वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा व्याख्या गरेका छन् । प्रशिक्षणका क्रममा उनले क्रान्तिलाई विजयमा पुर्याउन एक ढिक्का भएर जनतामा जानुपर्ने बताए । क्रान्ति विजयोन्मुख रहेको र दलाल पुँजीवाद हार्दै गएको महासचिव विप्लवले बताएका छन् ।

पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै महासचिव विप्लवले प्रचण्ड स्कुल ध्वस्त गरेर नयाँ स्कुल स्थापना गर्नुपर्ने बताए । क्रान्तिकारी पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई नभई पार्टीको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । पार्टीका कार्यकर्ताहरू जहाँ र जुन जिम्मेवारीमा गए पनि क्रान्ति पूरा गरेरै छाड्ने पार्टी निर्माण गर्दै र कार्यनीतिक शृङ्खलाहरूको विकास गर्दै जानुपर्ने बताए । जनतासँगको सम्बन्धलाई विकास गर्ने गरी कार्यनीति बनाउने उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीको अस्तित्वका लागि असल विचार आवश्यक भएको प्रस्ट पार्दै महासचिव विप्लवले सही विचार निर्माण गरेर सही कम्युनिस्ट पार्टी निर्माण गरी क्रान्तिलाई विजयसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । यसअघि नै जेठमा केन्द्रीय स्तरको प्रशिक्षण आयोजना गर्ने पार्टीको कार्यक्रम भए पनि कोरोना महामारीका कारण केही ढिलो गरेर यस्तो कार्यक्रम गरिएको भन्दै विप्वलले यहाँबाट फर्केपछि आमजनतामा पार्टीको क्रान्तिकारी विचार सम्प्रेषण गर्न पार्टीका नेता–कार्यकर्ताहरू सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षर्थीलाई सम्बोधन गर्दै महासचिव विप्लवले क्रान्तिकारी कार्यकर्ताहरू पार्टीको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विषय प्रस्ट पारे । उनले भने, ‘जहाँ गए पनि क्रान्तिलाई नबिर्सने पार्टी निर्माण भएको खण्डमा मात्र क्रान्ति पूरा गर्न सकिन्छ । त्यसका लागि कार्यनीतिक शृङ्खलाहरूको विकास गर्नुपर्छ । जनतासँगको सम्बन्धलाई विकास गर्ने गरी कार्यनीति बनाउनुपर्छ ।’ उनले भने, ‘क्रान्ति पूरा गर्न हाम्रो कार्यदिशा वैज्ञानिक साबित भएको छ । हाम्रो कार्यदिशा लागू गरेर देखाउने इच्छा र प्रतिबद्धता छ । हामी जित्छौँ, जनताको विजय सुनिश्चित छ ।’

प्रशिक्षण कार्यक्रममा पार्टी सचिवालय सदस्यहरु प्रकाण्ड, कञ्चन, सुदर्शनका साथै सबै केन्द्रीय सदस्य सहभागी छन् ।

सोमबार सुरु भई बिहीबार सम्पन्न भएको उक्त प्रशिक्षणमा देशभरिबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भएका थिए । प्रशिक्षण कार्यक्रमको व्यवस्थापन र खर्चविवरण नेकपाका चितवनका इन्चार्ज सन्देश पौडेलले प्रस्तुत गरेका थिए । प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय १५ जना सेक्रेटरी र प्रतिनिधिले रिपोर्ट गरेका थिए । उनीहरूले पार्टीलाई कसरी अझै क्रान्तिकारी बनाउने, कसरी क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्ने विषयमा सुझाव पेस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *