धर्म

Arts-literature

 

निभा शाह

राम ! तिम्रो घरलाई किराले छुएर गयो
तिमीले सुनपानी छर्केनौ राम
राम  ! जसै तिम्रो घरलाई सम्भुकले छुएर गयो
तिमीले घरभरी सुनपानी छर्केउ राम !
राम ! किरा छुत हुने
मान्छे अछुत हुने
के यो धर्म हो राम ?

राम ! तम्रा गाईकिला कि
गोब्रेकिराले छुएर गयो
तमीले सुनपानी छरक्यान राम !
राम ! जसै तम्रा गाईकिला कि
सम्भुकले छुएर गयो
तमीले किलाभरी सुनपानी छरक्या राम !
राम  ! गोब्रेकिरा छुत हुन्या
मुन्छे अछुत हुन्या
क्या यो धर्म हो राम ?

राम ! तिमीलाई
भ्यागुताले छुएको कुवाजल चल्छ
शबरीले छुएको पानी चल्दैन
राम ! भ्यागुतो छुत हुने
मान्छे अछुत हुने
के यो धर्म हो राम ?

राम ! तिमीलाई
माछाले छोएको गङगाजल चल्छ
शबरीले छोएको पानी चल्दैन
राम!माछा छुत हुने
मान्छे अछुत हुने
के यो धर्म हो राम ?

राम ! तिमीलाई
शबरीको जुठो बयर चल्छ
शबरीले छुएको पानी चल्दैन
राम!एउटै शबरीको जीब्रो छुत हुने
अन्जुली अछुत हुने
के यही धर्म के हो राम ?

राम तिमीलाई
शबरीको जवानी चल्छ
पानी चल्दैन।
राम ! जवानी चल्ने
पानी नचल्ने
के यही धर्म हो राम ! ?

राम ! जवानी चल्ने
पानी नचल्ने
के यही प्रेम हो राम ! ?

राम यो दुनियाँमा
किरादेखी चरासम्म
सबै चोखा छुत हुने
अनि मान्छेले मान्छेलाई
अछुत भन्दै पानी छमकने
राम ! यो पुन्य हो कि ?
पाप हो राम !

राम मान्छेले मान्छेलाई
छुई ! छुई !।
छुई अछुत भन्दै
गौपानी छमकने
गाईलाई गौमाता भन्दै
गङ्गाजल छ्मकने
राम!यो पुन्य हो कि
पाप हो राम ?

राम !
यहाँ सेतो रङ
ईश्वरको रङ भन्दै
सेतो रङले
कालो रङलाई
छुईदास – छुईदास भन्दै
सेतो रङ छमकने
तिमी छुई अछुत -छुई अछुत भन्दै
पेलो रङ छ्मकने।

राम ! यो छ्मकना नै
ईश्वर हो भने
यो छ्मकना नै धर्म हो भने
पाप के हो राम ! ?

(कथित चोखाहरुको गाईगोरु र भैंसी बान्ने किलोलाई कथम कदाचित सन्भुक र सबरीहरुले छोयो भने किलोलाई सुनपानी -गौतपानी छरकने र दलितहरुले दण्ड राख्नु पर्ने चलन थियो र अझ पनि छ ।
मेरो बज्यैले गउतलाई कि त गौपानी कि त गौजल भन्नुहुन्थ्यो अनि मान्छेको पिसाबलाई मान्छेपानी भन्नुहुन्थ्यो
पेलो-पहेँलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *