३ बुँदे सहमति कार्यान्वयन नभए परिणाम गम्भीर हुन्छ : विप्लव, महासचिव, नेकपा

Education News Political

जनमत संग्रहबाट वैज्ञानिक समाजवाद आउने दावी

पोखरा, असाेज ६ गते ।  नेकपा महासचिव विप्लवले ३ बुँदै सहमति कार्यान्वयन नभए परिणाम गम्भीर हुने बताएका छन् । महासचिव विप्लवले अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

महासचिव विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई जेलबाट छुटाउन सरकारले जालझेल गरेर घेरा हाल्न खोजे ३ बुँदे सहमति तोडिने बताउदै सरकारले सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्न चेतावनी दिएका छन् । उनले सरकारले ७ महिना पुग्दासम्म सहमति कार्यान्वयन नगरेप्रति आक्रोश व्यक्त गरेका छन् ।

महासचिव विप्लवले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को ५६ अर्बमा ¥याल काढ्नु भन्दा एनसेलको ६५ अर्ब उठाउनतिर लाग्न नेताहरुलाई सुझाव दिएका छन् । उनले विदेशीको डलर ल्याएर देश साट्नुभन्दा बरु आफ्नै देशको फसेको एनसेलको कर उठाउनतिर लाग्न उनले सरकार र दलहरुलाई सुझाव दिएका हुन् ।विप्लवले नेपालका राजनीतिक दलहरु कमिसनको लोभमा एमसिसी ल्याउन लागिपरेको आरोप लगाए । ‘एमसिसी ल्याउनुको मकसद नेताहरुलाई ५६ अर्बको १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको ६ अर्ब हुन्छ । त्यो खानलाई हो’–उनले भने । उनले विप्लवले नेपालमा एक वर्षमै ११ अर्ब बेरुजु भएको भन्दै त्यो भ्रष्टाचार भएको बताए । ‘एघार अर्ब त नेपालमा बेरुजु मात्र रहेछ । भ्रष्टाचार गरेर मिलाउँदा मिलाउँदापनि मिलाउन नसकेपछि निस्केको बेरुजु हो त्यो । कति मिलाएर खाए होलान् ?’–उनले भने ।

विप्लवले एमसिसी जबरजस्ती ल्याइए एमसिसी जलाउनुका साथै त्यो ल्याउनेलाईपनि नछाड्ने चेतावनी दिएका हुन् । उनले भने, ‘एमसिसी जबरजस्ती लादियो भने त्यो एमसिसी रहनेवाला छैन । त्यो एमसिसी त जल्छ जल्छ, एमसिसी ल्याउनेलाईपनि छाड्दैनौं, त्यसले ठूलो प्रतिरोधको सामना गर्नुपर्छ ।’ उनले एमसिसी राष्ट्रघाती भएको बताए । ‘एमसिसी देश जनताको बिरुद्धमा छ, त्यो ल्याउनु हुँदैन, ल्याउन दिदैनौं’–उनले भने ।विप्लवले एमसिसी आए अमेरिकी सेना र साम्राज्वाद नेपाल आइपुग्ने दाबी गरे । त्यसैले यसकाबिरुद्ध आफू र आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी उभिएको उनले प्रष्ट पारे । एमसिसी बिरुद्ध आफूहरु मात्र नभई कर्मचारी र सेना, प्रहरीपनि रहेको उनले दाबी गरे ।विप्लवले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारेमा जनमत संग्रह गर्न माग गरे । जनमत संग्रह गरे त्यसले दिने परिणाम मान्ने उनले बताए । जनमत संग्रह गर्दा शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने दाबी गरे । अहिले नेता मात्र नभई ब्यबस्था नै असफल भइसकेकाले यसको विकल्प जनताले खोजिरहेको उनको भनाई छ । ‘हामीसँग तागत छ, हामी जित्छौं । किनकी हामीसँग जनता छ, सत्यको बाटो छ, न्यायको बाटो छ’–उनले भने ।विप्लवले अहिलेको ब्यबस्थाले समाजवाद नआउने ठोकुवा गरे । ‘समाजवाद दलदलमा उभिएर आउने चिज होइन, बरु दलदलमा उभिनेहरु आफै भासिने हो’–उनले भने ।


बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको सम्मेलन असोज ८ गते शुक्रबारसम्म चल्नेछ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र गरेको अखिल क्रान्तिकारीले बन्द शत्र भने पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा गर्ने अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए ।अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए । उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे । प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए ।अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि भएको जनाइएको छ । सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *