काठमाडौं, असोज ६ गते । लुइस सुआरेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले गेटाफेलाई २-१ ले पराजित गरेको छ ।
गेटाफेको मैदानमा भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।
घरेलु मैदानमा खेलको ४५औं मिनेटमा स्टेफान मित्रोभिकले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सुआरेजले दुई गोल फर्काए ।
चार्ल्स एलेना ७४औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटियो । यसको फाइदा एट्लेटिकोले लियो । ७८औं मिनेटमा सुआरेजले बराबरी गोल फर्काए ।
यस्तै अन्तिम मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिकोले पुनारगमन जित हात पारेको हो ।
जितपछि ६ खेलबाट १४ अंक जोड्दै एट्लेटिको अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको रियल मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।
लगातार ६ खेलमा पराजित गेटाफे भने अंकविहीन हुँदै १९औं स्थानमा छ । ला लिगाकै अर्को खेलमा राभो भालेकाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।
रायोको जितमा राडेमेल फाल्काओले इन्जुरी टाइममा निर्णायक गोल गरे । अर्को खेलमा सेल्टाभिगोले लेभान्टेलाई २-० ले हरायो ।