एकीकृत जनक्रान्तिमा क्रान्तिकारी विद्यार्थीको कार्यभार

Education

मिलन राई
‘असल परिणामका लागि असल सोचाइ र असल मार्ग पकड्नैपर्छ । हाम्रा युवा विद्यार्थीले सही सोचाइ र सही मार्ग पकडेमा नवीन आकाङ्क्षा पूरा गर्न कसैले पनि रोक्न सक्नेछैन ।’

–विप्लव, प्रज्वल, वर्ष १, अङ्क १, २०७८, अखिल (क्रान्तिकारी) सीटीईभीटी उपत्यका जिल्ला समिति

भूमिका

हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) ले ऐतिहासिक २१ औँ राष्ट्रिय सम्मेलनबाट जनवादी शिक्षाको रणनीतिक नारा विकास गर्दै समाजवादी शिक्षाको रणनीतिक नारा तय गरेको थियो । विश्वमा र नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक उत्पादन सम्बन्धमा विकास भएका नयाँ विशेषताहरूका आधारमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा विकास गर्नुपर्ने अनिवार्य ऐतिहासिक आवश्यकताबमोजिम जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले विकास गरेको वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिको संश्लेषणको आलोकमा हाम्रो गौरवशाली सङ्गठनले एकीकृत जनक्रान्तिको रक्षा र सेवा गर्ने उद्देश्य राखेर वैज्ञानिक समाजवादी क्रान्तिका लागि वैज्ञानिक समाजवादी शिक्षाको रणनीतिक नारा विकास गरेको हो । साथै उक्त राष्ट्रिय सम्मेलनले एकीकृत जनक्रान्तिमा सामान्य समर्थन र सहयोग मात्र होइन, अग्रदस्ताका रूपमा भूमिका निर्वाह गर्ने, आवश्यक परे बलिदानीसमेत दिन तयार हुने प्रतिबद्धतासमेत गरेको छ ।

विषय प्रवेश

शिक्षाको चरित्र राज्यसत्ताको चरित्रले निर्धारण गर्ने हुँदा वैज्ञानिक समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवादी राज्यसत्ता अनिवार्य हुन्छ । तसर्थ वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने रणनीतिक विचार बोकेको एकीकृत जनक्रान्तिमा समाहित हुनु आजको विद्यार्थी आन्दोलनको मुख्य कार्यभार हो । एकीकृत जनक्रान्तिमा भाग लिनु नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन भएको हुनाले मात्र नभएर अपितु विश्वमा र नेपालमा विकास भएको नयाँ परिस्थितिमा समाजवादी क्रान्तिको अनिवार्यताले सिर्जना गरेको अनिवार्य आवश्यकता पनि हो ।

विद्यार्थी उमेरले युवा, स्वभावले विद्रोही, बुझाइमा प्रगतिशील, चाहनाले नयाँ चीजको खोजी गर्ने, पहलमा गतिशील, प्रयत्नमा सिर्जनशील भएको हुनाले सापेक्षतामा विद्यार्थी सधैँ अग्रगमन र क्रान्तिका पक्षमा हुने गर्दछ । इतिहासमा नेपालमा मुक्तिका लागि भएका सबै सङ्घर्ष, आन्दोलन र क्रान्तिमा सामान्य सहयोग र समर्थन मात्र होइन, कयौँ योद्धाहरूको बलिदानीसमेत बेहोरेर ऐतिहासिक भूमिका निर्वाह गरेको विद्यार्थी आन्दोलनको एकीकृत जनक्रान्तिमा प्रमुख कार्यभार हुनेमा कुनै शङ्का छैन ।

एकीकृत जनक्रान्ति

एकीकृत जनक्रान्ति विश्वमा र नेपालमा विकास भइरहेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्पादन सम्बन्धले विकास भएको नयाँ विशेषताहरूका आधारमा नेपाली विशेषता र मौलिकता बोकेको नेपाली वर्गसङ्घर्षको नयाँ मोडेल हो । मालेमावादी दर्शनका आधारमा दुनियाँ बुझ्ने र बदल्ने मात्र होइन, बदलिएको दुनियाँको रक्षा र विकास गर्ने कार्यदिशा एकीकृत जनक्रान्ति विश्व र नेपाल कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक शिक्षाहरूको संश्लेषणका आधारमा विकास गरिएको छ ।

नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ का अनुसार एकीकृत जनक्रान्ति पुरानोको निरन्तरतामा एउटा क्रमभङ्ग, एउटा छलाङ हो । यसले विश्वमा र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ बहस छेडेको छ । क्रान्तिकारी युवाहरूमा नयाँ आशा जगाएको छ । साम्राज्यवादी र दक्षिणपन्थी प्रतिक्रियावादीहरूमा हलचल पैदा गरेको छ । एकीकृत जनक्रान्ति साम्राज्यवादको शोषण–उत्पीडन र नेपाली क्रान्तिमा देखिएको विचलन र प्रतिक्रान्तिविरुद्धको निरन्तर क्रान्तिको मार्गनिर्देशन हो । यो शोषित उत्पीडित श्रमजीवी र सर्वहाराको मुक्तिमार्ग पनि हो । एकीकृत जनक्रान्ति यान्त्रिक, जडसूत्रीय चिन्तन, दक्षिणपन्थी, संशोधनवादी र अवसरवादी चिन्तनले विश्व–कम्युनिस्ट आन्दोलनमा पैदा भएको समस्याहरूको समाधानको नयाँ खोज हो । यो कार्यदिशा मालेमाका आधारमा निम्न नयाँ विशेषतामा आधारित रहेको छ :

१) नगर समाजको विकास
२) नयाँ श्रमिक वर्गको विकास
३) विज्ञान र प्रविधिको विकास
४) मिश्रित सामाजिक चरित्र
५) भूपरिवेष्ठित देश
६) देशभक्त शक्तिको उपस्थिति
७) सत्ताको दलाल पुँजीवादी चरित्र

क्रान्तिकारी विद्यार्थीका कार्यभार

सामाजिक वर्गसङ्घर्ष, राजनीतिक आन्दोलनले विद्यार्थी आन्दोलनलाई प्रभावित गर्दछ । क्रान्तिकारी विद्यार्थी आन्दोलनले नेपालका हरेक सङ्घर्ष, आन्दोलन र क्रान्तिको अग्रदस्ताका रूपमा आफ्नो ऐतिहासिक दायित्व निर्वाह गर्दै आएको इतिहास साक्षी छ । एकीकृत जनक्रान्तिमा पनि सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य कमरेड प्रज्वलको बलिदानीसमेत बेहोर्दै, जेल, हिरासत मोर्चामा सङ्घर्ष गर्दै अग्रभागीय मोर्चाका रूपमा भूमिका निर्वाह गरिरहेको छ । उल्लिखित एकीकृत जनक्रान्तिका विशेषताहरूका आधारमा क्रान्तिकारी विद्यार्थीको निर्णायक भूमिकाको माग गरेको देखिन्छ । विद्यार्थी आन्दोलनका केही नियमित कार्यभार, विश्व र नेपालमा विकास भएका केही नयाँ विशेषताहरूका आधारमा विशिष्ट कार्यभार पनि रहेको छ । यसलाई निम्नानुसार चर्चा गरौँ :

क) नियमित कार्यभार

१) वैज्ञानिक दृष्टिकोणको निर्माण र प्रतिबद्धताको कार्यभार

सर्वप्रथम विद्यार्थीले क्रान्ति सम्भव देख्नुपर्छ र क्रान्तिमा प्रतिबद्ध हुनुपर्छ । समाजमा रहेको वर्गीय विभेदहरूको हल नहुँदासम्म क्रान्ति अनिवार्य हुन्छ र क्रान्तिको सम्भावना रहिरहन्छ । क्रान्तिको माध्यमबाट मात्र शोषित, उत्पीडितको मुक्ति सम्भव छ । राष्ट्र स्वाधीन बन्न सक्छ । तसर्थ क्रान्ति सम्भव छैन, आवश्यक छैन भन्ने सोचाइहरू र समाजमा रहेका रूढिवादी चिन्तनबाट माथि उठेर मालेमावादी वैज्ञानिक दृष्टिकोण निर्माण गर्नुपर्छ । आजको समयको वैज्ञानिक दृष्टिकोण मालेमावाद हो । सम्भव भएसम्म सबै विषयको ज्ञान राख्दा राम्रो हुन्छ तर मालेमावादसँग सम्बन्धित पुस्तकहरूको अनिवार्य अध्ययन आवश्यक छ । गरिएको अध्ययनलाई नियमित छलफल र बहसमा लैजानुपर्छ । नियमित प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्नुपर्छ । हामी विद्यार्थी विचारमा स्पष्ट र क्रान्तिमा प्रतिबद्ध भएर मात्र दक्षिणपन्थी, प्रतिक्रियावादी, नवसंशोधनवादी, जडसूत्रवादी, अराजकतावादी र मूलतः उत्तरसाम्राज्यवादको षड्यन्त्रलाई विचारधाराको तहमा परास्त गर्न सक्छौँ । विचारमा स्पष्ट र क्रान्तिमा प्रतिबद्ध भएर मात्र, पहलमा गतिशील र सिर्जनशील भएर मात्र एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न सकिन्छ ।

२) व्यापक र बलियो सङ्गठन निर्माण गर्ने कार्यभार

अहिले नेपालमा करिब ९० लाख विद्यार्थी छन् । हामीले बहुसङ्ख्यक विद्यार्थीमा पुगेर सङ्गठित गर्नुपर्छ । जहाँ विद्यार्थी त्यहाँ सङ्गठन निर्माण गर्ने प्रयत्न र पहल गर्नुपर्छ । सङ्गठित विद्यार्थीलाई नियमित प्रशिक्षण, स्कुलिङमार्फत विचारमा स्पष्ट गराई प्रतिबद्ध बनाएर सङ्गठनलाई बलियो बनाउनुपर्छ । विद्यार्थीले गर्ने सङ्घर्ष, कार्यक्रम, कार्यशैली र आचरणका आधारमा पनि जनताले पार्टीको मूल्याङ्कन गर्ने र धारणा बनाउने गरेको पाइन्छ । यसर्थ विद्यार्थीले गर्ने बहस, व्यवहार, अभिव्यक्तिले अभिभावकहरूलाई समेत पार्टी नेतृत्व र पार्टीका विषयमा सकारात्मक/नकारात्मक प्रभाव पार्न सक्छ, धारणा बनाउने हुन्छ । त्यसैले हामी विद्यार्थीले अभिव्यक्तिमा मिठास, व्यवहारमा शालीनता र कार्यशैलीमा सरलता ल्याउने विषयमा असाध्यै सचेत हुनुपर्छ । हामीले व्यापक र बलियो सङ्गठन बनाउनुका साथै पार्टीलाई अप्ठ्यारो परेको बेला सबैभन्दा अगाडि उभिनु र पार्टीलाई आवश्यक परेको बेला क्याम्पस र विश्वविद्यालयलाई मुक्तियोद्धाको ब्यारेकमा समेत रूपान्तरण गर्न सकियो भने हामीले महत्वपूर्ण कार्यभार पूरा गर्न सक्छौँ ।

३) सङ्घर्षलाई व्यापक बनाउने कार्यभार

हामीले निर्माण गरेको सङ्गठनको अभिव्यक्ति सङ्घर्षमा गर्नुपर्छ । विद्यार्थी भन्नासाथ शिक्षा क्षेत्रसँग सम्बन्धित हुन्छ तर विद्यार्थीका लागि शिक्षा क्षेत्रका अलावा जनताको जनजीविका, राष्ट्रियता र जनतन्त्रका विषय पनि सङ्घर्षका विषयहरू हुन । जनता र राष्ट्रलाई सङ्कट पर्दा सबैभन्दा पहिला बोल्ने र प्रतिक्रिया दिने जुझारु सङ्गठन निर्माण गर्नुपर्छ । हामीले गर्ने हरेक सङ्घर्षलाई राजनीतिक क्रान्तिसँग एकाकार गर्नुपर्छ । राजनीतिक क्रान्तिको अभावमा हाम्रो सङ्घर्ष केवल सुधारको आन्दोलनमा सीमित हुन पुग्छ । हामी सम्झौताहीन सङ्घर्षका लागि तयार हुनुपर्छ । हामीले गर्ने सङ्घर्षलाई जुझारु बनाउनुका साथै व्यापक बनाउनुपर्छ । भनिन्छ, हजारौँ शब्दको अभिव्यक्ति एउटा व्यवहारले गर्दछ । यसर्थ हामीले गर्ने सङ्घर्षले पार्टीको नीति र विचारलाई बुझाउन सहयोग पुग्नेछ । हामीले सङ्घर्ष गर्दा कयौँ जटिलता र कठिनाइ आउन सक्छन् तर हामी बलिदानका लागिसमेत प्रतिबद्ध बन्न सक्नुपर्छ ।

४) व्यापक प्रचारप्रसार गर्ने कार्यभार

नेपालमा करिब ९० लाख विद्यार्थी छन् । नेपालका प्रायः हरेक घरमा विद्यार्थी छन् । हामीले ठीक ढङ्गले पहल लियौँ भने हरेक परिवारमा पार्टीको नीति, विचारलाई पुर्याउन र बुझाउन सकिन्छ । प्रचारलाई समयानुकूल सिर्जनात्मक र गतिशील बनाउनु विद्यार्थीको कार्यभार हो । प्रचार गर्दा कम समयमा, कम खर्चमा बढी प्रभावकारी र बहुसङ्ख्यक जनताका बीचमा पार्टीको विचारको प्रचार गर्ने र नेतृत्वलाई स्थापित गर्न सक्नुपर्छ । सूचनाप्रविधिको चरम विकास भएको आजको भूमण्डलीकृत विश्वमा सूचनाप्रविधिको उपयोग गरेर पार्टीको विचार र नेतृत्वलाई नेपालमा मात्र होइन, विश्वमा स्थापित गराउन सकिन्छ । हामीले गर्ने प्रचारले जनतालाई शिक्षित गर्नुपर्छ । जागरण पैदा गर्नुपर्छ । क्रान्तिकारीहरूमा ऊर्जा भर्नुपर्छ र क्रान्तिविरोधीहरूको होस उड्नुपर्छ । अन्यथा हाम्रो प्रचार औपचारिकतामा मात्र सीमित हुन पुग्नेछ ।

 

ख) विशिष्ट कार्यभार

१.गाउँ र सहर, सर्वहारा र नयाँ श्रमजीवीलाई एकीकृत गर्न सहयोग गर्ने कार्यभार

शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक सम्बन्ध, यातायात, सूचना–सञ्चारका आधारमा गाउँ र सहरबीचको दूरी घटेको, गाउँ र सहरमध्ये कुनै एकलाई प्रमुख आधार बनाएर अबको क्रान्ति नहुने र गाउँ र सहरलाई एकीकृत गर्नुपर्ने संश्लेषण पार्टीले गरेको छ । गाउँका विद्यार्थी सहरमा पढ्छन् । यसर्थ गाउँको सापेक्षतामा सहरमा विद्यार्थी सङ्गठन बलियो हुन्छ । जिम्मेवारीका हिसाबले विद्यार्थी सहरमा भए पनि उसको सम्बन्ध गाउँमा पनि हुन्छ । यसर्थ हामीले विद्यार्थीको सहरको जिम्मेवारी र गाउँको सम्बन्धबीचको कडीलाई जोडेर संरचना विकास गर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ जुन संरचनाले सहरमा सङ्गठनको जिम्मेवारी पूरा गर्नुका साथै गाउँमा जाँदासमेत पहल लिन सहज बनोस् ।

पार्टीले नयाँ श्रमजीवी वर्गलाई एकीकृत जनक्रान्तिको नयाँ विशेषताका रूपमा संश्लेषण गरेको छ । नयाँ श्रमजीवी वर्ग आफैँमा कुनै मालिक पनि होइन र परम्परागत मजदुर पनि होइन । यो वर्ग प्रत्यक्ष श्रम गर्दछ र परम्परागत मजदुरको तुलनामा बढी पैसा कमाउँछ । यो वास्तवमा दक्ष श्रमशक्ति हो । यो वर्गमा मुख्यतः डाक्टर, पाइलट, इन्जिनियर, प्रोफेसर, वकिल, कर्मचारी, मझौला खालका व्यापारी–व्यवसायी पर्छन् । यो वर्गको मुख्य चरित्र प्रगतिशील र अग्रगामी देखिन्छ । साथै राजनीतिक हिसाबले पनि यो वर्गको भूमिका अग्रस्थानमा छ । यो वर्गसँग प्रत्यक्ष–परोक्ष रूपमा सबैभन्दा बढी विद्यार्थी सम्बन्धमा हुन्छ । प्रोफेसरले विद्यार्थीलाई पढाउँछन् । विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट, वकिल बन्छन् । यस्ता यावत् उदाहरणहरू छन् । यो वर्ग अलि बहस, छलफल गर्न रुचाउने हुन्छ र यो भूमिका विद्यार्थीले राम्रोसँग निर्वाह गर्न सक्छ । हामीले ठीक ढङ्गले सङ्गठन र छलफल गर्यौँ भने यो वर्गलाई क्रान्तिमा जोड्न हामी नै सबैभन्दा प्रभावकारी बन्न सक्छौँ ।

२.विज्ञान र प्रविधिसँग जोड्ने कार्यभार

एकीकृत जनक्रान्तिको विशेषताको रूपमा पार्टीले विज्ञान र प्रविधिको चरम विकासलाई पनि संश्लेषण गरेको छ । भनिन्छ, आजको युग विज्ञानप्रविधिको युग हो । विज्ञानप्रविधिको अभावमा अबको क्रान्ति असम्भवजस्तै छ । मानिसहरूको व्यवहार, दैनिकी र सोचाइहरू पनि प्रविधिबाट नियन्त्रित छ । विज्ञानप्रविधि आजको समयमा मानवजीवनमा अनिवार्य भएको छ । सापेक्षतामा विद्यार्थी नै बढी अहिले विकास भइरहेको विज्ञान र प्रविधिसँग अभ्यस्त हुने र भइरहेको सन्दर्भमा हामी एकीकृत जनक्रान्तिको आवश्यकतामा आईटी सेनाको भूमिका निर्वाह गर्न सक्नुपर्छ । पार्टी र क्रान्तिलाई आवश्यक पर्ने विज्ञान र प्रविधिमा सबैभन्दा बढी योगदान विद्यार्थीले नै गर्नुपर्छ । विज्ञान र प्रविधिको जनशक्ति विद्यार्थीमा नै छ र हामीले त्यस्ता विद्यार्थीलाई प्राथमिकतामा सङ्गठित गर्ने प्रयत्न गर्नुपर्छ । हामी सबैले आजको सापेक्षता न्यूनतम् प्राविधिक दक्षता हासिल गर्न मेहनत गर्नुपर्छ ।

३) नयाँ खोज–अनुसन्धान गर्ने कार्यभार

विद्यार्थी चाहनाले नयाँ चीजको खोजी गर्ने र पहलमा गतिशील हुने हुँदा विश्वमा र नेपालमा दिन–प्रतिदिन विकास भइरहेको नयाँ विषय, घटना, प्रवृत्तिको व्यापक र सूक्ष्म अनुसन्धान गरेर पार्टी र नेतृत्वलाई सुझाव र सूचना दिनुपर्छ । अध्ययन गर्नुपर्ने विषय विश्वमा अथाह छन् । नेतृत्वलाई सबै विषय अध्ययन गर्न असम्भव हुन्छ । तसर्थ हामीले नयाँनयाँ विषय अध्ययन गरेर नेतृत्वलाई समृद्ध गर्न मद्दत गर्नुपर्छ । हामी अनुसन्धानमा सिर्जनशील बन्न सक्नुपर्छ । आजभोलि विद्यार्थी भइरहेको विषयमा अभ्यस्त भइरहेको भए पनि नयाँ विषयको खोजी गर्ने मेहनत गरेको खास देखिँदैन । क्रान्तिकारी विद्यार्थीले नयाँ विषयहरूको अनुसन्धान गरेर नेतृत्वलाई सहयोग गर्नु आजको विशिष्ट कार्यभार हो ।

निष्कर्ष

एकीकृत जनक्रान्ति क्रान्ति असम्भव र अनावश्यक देख्नेहरूका लागि गतिलो जबाफ हो । कम्युनिस्ट आन्दोलनमा देखिएको रक्षात्मक मनोविज्ञान र निराशाहरूको हल हो । बदलिएको परिस्थितिमा अनिवार्य विकास गर्न आवश्यक दर्शनमा विकास हो । प्रतिक्रान्तिका विरुद्ध जेहाद छेड्नु र निरन्तर क्रान्तिको मार्गमा हिँड्नु क्रान्तिकारी विद्यार्थीको प्रमुख कार्यभार हो । पार्टीलाई सङ्कट पर्दा सबैभन्दा अगाडि उभिएर र बलिदानका लागिसमेत तयार भएर मात्रै हामी हाम्रो ऐेतिहासिक कार्यभार पूरा गर्न सक्छौँ । क्रान्तिको मार्ग कठिन भए पनि क्रान्ति आवश्यक छ र सम्भव छ । क्रान्तिको यात्रामा व्यक्तिमा आउने सङ्कट र अवसर अस्थायी कुुरा हुन् तर क्रान्ति स्थायी समाधान हो । वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा क्रियाशील र जुझारु बनौँ, मानव जातिको सुनौलो भविष्य सन्निकट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *