काठमाडौं, असोज ६ गते । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मंगलबार राजस्थान रोयलले पन्जाब किंग्सविरुद्ध २ रनको रोमान्चक जित हासिल गरेको छ ।
कार्तिक त्यागीले अन्तिम ओभरमा ४ रन डिफण्ड गरेपछि राजस्थानले नाटकीय जित निकाल्यो ।
दुबईमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन मात्र खर्चेर २ विकेट लिएपछि राजस्थान शनसनी जित हात पारेको हो ।
पन्जाबका लागि मायांक अग्रवालले ६७ रन बनाए भने कप्तान केएल राहुलले ४९ रन जोडे ।
यस्तै निकोलस पुरनले ३२ रन बनाए । अइडन मार्क्रमले अविजित २६ रन बनाए ।
राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा सबै विकेट गुमाएर १८५ रन बनाएको थियो ।
राजस्थानका ओपनर यजश्वी जैसवालले सर्वाधिक ४९ रन बनाए । यस्तै महिपाल लोम्रोरले ४३, इभिन लेविसले ३६ र लियाम लिभिङस्टोनले २५ रन जोडे ।
पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए भने मोहम्मद शामीले तीन विकेट लिए ।
चौथो जितपछि ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा उक्लेको छ । ९ खेल खेलिसकको पञ्जाव ६ अंकसहित सातौं स्थानमै यथावत छ ।