पुराना चाडपर्वको विवेचना

Arts-literature Opinion Political

सन्दर्भ : तीज पर्व

अनिल शर्मा
परम्परागत रूपमा चल्दै आएका चाडपर्वहरू समाज विकासका निश्चित चरणमा तत्कालीन समाजको विकास र आवश्यकताका कारण अस्तित्वमा आएका हुन् । ती मूलतः शासक वर्गका लागि आवश्यक हुन गएका थिए । समाज अगाडि बढ्दै जाँदा चाडपर्वहरूमा समाजको आवश्यकताअनुसार हाँगाबिँगा पलाउँदै जान्छन् । समाज विकासको चरण अर्को स्तरमा पुग्दा तिनीहरू परिवर्तन हुन्छन् वा लोप हुन थाल्छन् । त्यसपछि समाज विकासको आवश्यकताअनुसार नयाँ चाडपर्वहरू अस्तित्वमा आउँछन् । नेपालमा ‘विक्रम संवत्’ र ‘नेपाल संवत्’ ले चाडपर्वको रूप लिन थालेका छन् । भूमण्डलीकरणका कारण व्यापारिक स्वार्थ र भूमण्डलीकृत संस्कृतिको प्रभावस्वरूप विदेशी चाडपर्वको प्रभाव पनि पर्न थालेको छ । अङ्ग्रेजी भाषा, संस्कृति र युरोप–अमेरिका वर्तमानको सत्तारूढ चेतना भएका कारण चाडपर्वको प्रभाव पनि ‘अङ्ग्रेजी सम्प्रदाय’ कै परिरहेको छ । आर्थिक शक्तिहरू बदलिए भने त्यसको प्रभाव राजनीति र संस्कृतिमा पनि पर्न जान्छ । कार्ल माक्र्सले पुँजी र सम्पत्ति जहाँ केन्द्रित हुन्छ, राजनीतिको पनि त्यही केन्द्रीकरण हुने बताउनुभएको छ । हामी भन्न सक्छौँ पुँजी र सम्पत्तिको केन्द्रीकरणले संस्कृतिको पनि केन्द्रीकरण गर्छ । चाडपर्वको विषयलाई पनि अर्थराजनीतिक चस्माले हेर्न आवश्यक छ ।

नेपाली समाजका कैयौँ चाडपर्वहरू लोप हुँदै गएका छन् । कतिपय चाडपर्वले मौलिकता गुमाउँदै गएका छन् जसमा बजार–स्वार्थ र पुँजीवादी मनोविज्ञान मात्र थपिएको देखिन्छ । मौलिकता हराउनुका गन्तव्य र अर्थ अस्तित्वको विलोपीकरण नै हो । जितियामा ‘झाम्टा पार्ने’ र फगुवामा ‘होरिया गाउने’ चलन झन्डै–झन्डै हराएका छन् । मिश्रित बस्ती, मनोरञ्जनका नयाँ साधन उपलब्ध हुनु, चाडपर्व आर्थिक (पर्यटन) सँग नजोडिनु र राज्यको स्पष्ट नीतिको अभाव त्यसमा परेको छ । थारू संस्कृति पूर्वी र मध्यतराईमा झन्डै लोप भइसकेको छ । चितवन र नवलपुरमा पर्यटन व्यवसायले थारू संस्कृति धानेको छ भने दाङ, बर्दिया र कैलालीमा एकल बस्तीका कारण टिकेको छ । यस्तै अवस्था अन्य संस्कृतिको पनि हो । आदिवासी र अल्पसङ्ख्यक समुदायको संस्कृति नै विनासको डिलमा छन् । चेपाङ समुदायको मौलिक चाड ‘न्वागी पर्व’ झन्डै लोप भइसकेको छ ।

मौलिकताको बहस गर्दा त्यसले युगको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्छ । तर नयाँपन र आधुनिकताको अर्थ बजारको स्वार्थ र पुँजीवादी विकृति तथा पशुचेत–दासत्वचेत होइन । समयको आवश्यकताले जन्मेका कुरा युगका लागि अनावश्यक भए भने त्यसको अस्तित्व रहन्न र रहनु आवश्यक पनि हुँदैन । तर साम्राज्यवादी हस्तक्षेपले मौलिक संस्कृति लोप भए भने पुर्खाले आर्जन गरेको ज्ञान र कलाको पनि विनाश हुन जान्छ । त्यसप्रकारको अवस्था सभ्यताकै सङ्कटको अवस्था हो ।

सांस्कृतिक चाडपर्वहरूलाई तीन पक्षहरूबाट हेर्नुपर्छ जसमा पहिलो, पछौटे र जनविरोधी पक्ष । तीज पर्वको छलफल गर्दा पुरुषको गोडा धोएको पानी खानु, स्वास्थ्यस्थिति नहेरी व्रत बस्नु, पुरुषको दीर्घ जीवनका लागि आराधना गर्नु, व्रत बस्नु आदि सामन्ती तथा असभ्य पक्षहरू हुन् । ‘तिमी खुसी भए परम्परा गरिराख, म खुसी छु गरिरहन्छु’ भन्ने तर्क गलत छ । यो हरुवा तर्क मात्र हो । दासहरूलाई अमलेख गर्दा धर्म नास भएको र मालिकको आश्रय खोसिएको, धर्म नास भएको कल्पना गरेर रुवाबासी भएको थियो । त्यसो भए पनि दासप्रथा कायम राख्न सम्भव थिएन । भौतिकवाद र अध्यत्मवादका बीचमा सयौँ वर्षदेखि जीवनमरणको सङ्घर्ष हुँदै आएको छ । अध्यात्मवादलाई भौतिकवादले लामो र कठिन सङ्घर्षका क्रममा पराजित गरिसकेको छ । त्यसकारण अध्यात्मवाद अस्तित्व रक्षाका लागि विज्ञानको वैशाखी टेक्न बाध्य छ ।

विज्ञान र धर्मका बीचमा हजारौँ वर्षदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएको छ । जनावरको मलमूत्र कीटाणुनाशक हुन्छ भन्नु, ब्रत बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्नु त्यसका उदाहरण हुन् । कतिपय सन्तहरू त स्वमूत्र–पान गर्नुलाई स्वास्थ्य विज्ञानसँग जोड्छन् । नाङ्गो गोडा विचरण गर्नु, काँचो मासु खानु, हाडनाता यौनसम्बन्ध र सन्तान उत्पादन गर्नु कुनै समय मान्छेका परम्परा थिए । तर आजको समाजले परम्परा भनेर रूखको बोक्रा लगाएर हिँड्दैन । त्यसप्रकारको परम्परालाई पशुचेत ठान्छ । चाडपर्वमा रहेका त्यस्ता जनविरोधी, पछौटे र असभ्य पक्षहरू छोड्न आवश्यक हुन्छ । पछौटे र सामन्ती चेतना भएका मान्छेहरूले जतिसुकै प्रयत्न गरे पनि विज्ञान र समाज बुझेको नयाँ पुस्ताले त्यसलाई परित्याग गर्दै गएको छ । दोस्रो, कतिपय चाडपर्वमा सुधार गर्नुपर्ने, समयानुकूल पार्नुपर्ने पक्षहरू हुन्छन् । सुधार गर्नुपर्ने पक्ष संस्कृतिका धेरै पक्षमा हुन्छन् । यातायातको विकास नभएको समयमा पाँच दिनसम्म दसैँ–टीका लगाउनु बाध्यता हुँदो हो तर आज न आवश्यक छ, न त सम्भव नै छ । अझ यसो भनौँ– पाँच दिनको कर्म एकै दिन गर्न सम्भव छ । मृत्यु संस्कारको समय पनि घटाउन थालिएको छ । बच्चा जन्मनु, रजस्वला हुनुलाई अशुभ ठान्ने वा जुठो बार्ने चलन हट्दै गएको छ । सन्तान जन्मनुलाई त उत्सवका रूपमा हेर्न थालिएको छ । तेस्रो, पुराना चाडपर्व, परम्परा र संस्कारका कैयौँ पक्षहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । मौसमअनुसारको खाना खानु, पाहुनाको सत्कार गर्नु, भान्छाको सफाइ, ज्येष्ठ नागरिकको मर्यादा, नाचगान गर्नु, मृतक आफन्तको सम्झना गर्नु यस्ता थुप्रैथुप्रै संस्कारहरू आज पनि सान्दर्भिक छन् ।

शक्तिशाली र सत्तारूढ वर्गको संस्कृतिले शक्तिहीनको संस्कृति निल्दै जान्छ । संस्कृतिको रक्षा भएन भने इतिहासको रक्षा हुँदैन । विगत नभई आगत हुँदैन । राहुल सांकृत्यायन भन्छन्, ‘एक–एक कथाको पृष्ठभागमा त्यो युगको सम्बन्धबोध हुने प्रशस्त सामग्री हुन्छन् जुन संसारका थुप्रै भाषाहरू, तुलनात्मक भाषा–विज्ञान, माटो, ढुङ्गा, तामा, पित्तल, फलाममा साङ्केतिक अथवा लिखित साहित्य वा अलिखित गीतहरू, कथाहरू, मिथकहरू, चालचलन कुनाकन्दरामा पाउन सकिन्छ ।’ आफ्नो लोकप्रिय कृति ‘भोल्गा से गङ्गा तक’ को भूमिकामा लेखकले संस्कृतिको महत्वका सन्दर्भमा लेखेका छन् । संस्कृति हाम्रो जीवन हो जसलाई पुर्खाले आर्जे, अनुसरण गरे । युगको आवश्यकता पूरा गरे । त्यसको अध्ययनले समाज बुझ्न सजिलो हुन्छ । समाज नबुझेसम्म बदल्न सकिन्न । गति र परिवर्तन नै विकास हो । भाषा, चाडपर्व, संस्कार, कला तथा समग्र संस्कृतिलाई द्वन्द्वात्मक भौतिकवादी चस्माले हेर्न आवश्यक छ ।

तीज पर्वका सन्दर्भमा आर्य मूलकी पार्वती र मङ्गोल मूलका महादेवबीचको प्रेमकथाको उतारचढाव देखिन्छ । यद्यपि यो इतिहास नभएर काव्य हो । पार्वतीको विद्रोह, सङ्गिनीहरूको सहयोग प्रगतिशील पक्ष हुन् । पौराणिक कालमा प्रेमका लागि विद्रोह र विद्रोहलाई सामाजिक मान्यता आफैँमा अपत्यारिला विषय हुन् तर पछिल्लो प्रयोगमा महिलाले पुरुषको गोडा धोएको जलपान गर्नेजस्तो असभ्य संस्कार, महिलाले पुरुषका लागि व्रत बस्नुपर्ने तर पुरुषले महिला पुज्ने कुनै चाडपर्व नहुनु, स्वास्थ्यको ख्याल नगरी निरपेक्ष व्रत बस्ने संस्कार अर्थात् सामन्ती संस्कार र धार्मिक अन्धता तीजका मुख्य पक्ष हुन् जो त्यज्य छन् ।

तीजका गीहरू समयक्रममा बदलिँदै गएको देखिन्छ जसले हाम्रो समय, सरोकार र सामाजिक चेतनाको कथा भन्छन् । हेरौँ एउटा त्यस्तै गीत–

‘आमा पनि मेरै हुन्, बाबा पनि मेरै हुन्
ऐलै आउनी जर्कटीलाई दिन्न भँडार’

यो गीतले नेपाली समाजमा रहेको बहुपत्नी प्रथाप्रति असन्तोष व्यक्त गरेको छ जसमा एउटी महिलाले अर्की महिलाप्रति कटाक्ष गरेकी छे जब कि बहुविवाहमा पुरुष र सामन्ती समाज व्यवस्था मूल दोषी हुन्छ । तीजका गीतमा दैनिक जीवनका कथा–व्यथा, भावना, माया–प्रेम, नारीमाथिका उत्पीडन र त्यसका विरुद्ध असन्तोष व्यक्त हुन्छन् । मान्छेका मानसिक अवस्थाहरू उसका भौतिक अवस्थाका प्रतिबिम्बहरू हुन् । आर्थिक दुरवस्था र भौगोलिक कठिनताले करुण रसलाई प्रोत्साहित गर्छ । आपसी सम्बन्ध र भावनात्मक पक्षमा पनि त्यो देखिन्छ । हेरौँ त्यसैप्रकारको एउटा गीतांश–

‘अनदीको खाजा मीठो अमिलो तामाले
नरोऊ भान्जी लिन आम्ला भन्थे मामाले’

आजको नयाँ पुस्ताले अनदी नामको परम्परागत धान–चामल चिन्दैन । यसलाई विदेशी वर्णशङ्कर धानले विस्थापित गरिसकेको छ । थारू जातिका युवाहरूले ‘चिचर’ शब्द सुन्न छोडिसके । चेपाङहरू न्वागी मनाउन छोडेर क्रिस्चियन पर्वको नक्कल गर्दैछन् । हाम्रो संस्कृतिलाई पर्यटन र साहित्यसँग जोडेर आय–आर्जन र गौरव प्रवद्र्धन गर्नुपथ्योर् । बाहिरिया विचार र संस्कृतिको आयातले वस्तु र सेवाको आयातलाई पनि प्रोत्साहित गर्दछ ।

नेपालमा २००७ सालपछि शैक्षिक संस्थाहरू खुले । छोरालाई विद्यालय पठाउने चलन आयो । संस्कृत र गुरुकुल शिक्षाको स्थान अङ्ग्रेजी, गणित, विज्ञान, भूगोलका विषय पढाउने विद्यालयले लिन थाले । तर छोरी पढे भने बिग्रिन्छन् भनिन्थ्यो । घरेलु काममा सीमित विद्यालय टेक्न नपाएका महिला र शिक्षित–दीक्षित पुरुषको बोली, व्यवहार र मनोविज्ञानमा ठूलो अन्तर देखिन थाल्ये । त्यसप्रकारको मनोविज्ञान र द्वन्द्व तीजका गीतमा आउन थाले । हेरौँ त्यसैप्रकारको एउटा गीत–

‘अङ्ग्रेजीमा माग्नुभयो स्वामीज्यूले वाटर
नबुझेर मैले दिएँ काँचो कटर’

प्रकृतिका छटाहरूलाई मानवीकरण गर्नु कला–साहित्यको सुन्दर शैली हो । कविहरू नदी, तरेली र मरुभूमिका कणसँग बात मार्छन् । तीजका गीतमा पनि त्यो शैली यत्रतत्र देखिन्छन् । त्यही प्रकारको एउटा गीतांश हेरौँ–

‘कागले सन्देश लिएर आयो
चेलीको आँगनमा
न भाइ आयो न दाजु आए
दरखाने दिनैमा
हरियो रूखमा बिहान बसी
कागै नि करायो
कठै कागै नि करायो’

(लोक संस्कृतिका सुसेलीहरू, पृष्ठ १४ तिलक पुन, थोम्योर् पब्लिकेसन प्रा.लि., काठमाडौँ)

तीजका गीतहरूमा अन्य विधामा जसरी नै विविधता छ । अत्यन्त मार्मिक र प्रकृतिका छटाहरूसँगै आफूलाई सलल बग्न–बगाउन सक्ने करुणरसका पनि गीतहरू छन् जहाँ प्रकृति, धर्म र मान्छेका बीचमा भएको अन्योन्याश्रित सम्बन्ध प्रकट गरिएको पाइन्छ । हेरौँ त्यसैप्रकारको गीतांश–

‘कहाँ जान्छौ मालचरी बथान
बरी लै भगवान्लाई भेटन
भगवान्लाई भेट्न केके सामान चाहिन्छ
बरी लै हाम्लाई पनि भन न’

२०३६ सालसम्म सञ्चारको पहुँच सहर र सीमित शिक्षित वर्गमा सीमित थियो । २०३६/०३७ सालको शिक्षक विद्यार्थी आन्दोलनले ठूलो जागरण ल्यायो । ग्रामीण जनसङ्घर्ष देशव्यापी फैलियो । महिला शिक्षा व्यापक बन्दै गयो र उनीहरू पनि राजनीतिमा तानिए । त्यसको प्रभाव तीजका गीतमा पर्न थाल्यो । घरेलु कथा–व्यथा र धार्मिक विषयमा सीमित तीजका गीत राजनीतिक विषयमा प्रवेश गरे । यो एउटा नयाँ घुम्ती थियो । अब तीजका गीतहरूमा सहिद र राजनीतिक बन्दीका विषयले प्रवेश पाए । निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी गीतहरूले तीजमा रौनक थपिदियो । हेरौँ त्यही प्रकारको गीतांश–

‘दाजु–भाइ, दिदी–बैनी सबै मिली गाउने हो
यसपालि त मण्डलेलाई घाटमा लाने हो’

तीजको झन्डै एक महिना ग्रामीण इलाकामा र तीज पर्वको सप्ताह सहरमा पञ्चायती व्यवस्थाका विरुद्ध जागरण मञ्चको स्तरमा तीज पर्व बदलिएको थियो । २०३६–२०४६ सालबीचको एक दशकलाई पञ्चायती व्यवस्थाविरोधी मञ्चका रूपमा पनि प्रयोग गरियो ।

सामन्ती समाजमा महिलाहरू अत्यन्त दमनमा परेका थिए । साम्राज्यवादी समाज (पुँजीवादी समाज) ले अझ धेरै उत्पीडन र शोषण गरेको छ । सामन्तवादले महिला–महिला, गरिब–गरिबबीच विभाजन ल्याउँछ र फुटाउँछ । महिलाहरूले सामन्तवादका विरुद्ध लड्नुपर्नेमा पुस्तान्तरमा सङ्घर्ष गर्न सिकायो । त्यसप्रकारको अनन्त चक्र सयौँ वर्षदेखि चल्दै आएको छ । नारीभित्रको विद्रोही चेतनालाई कुण्ठा पोख्ने अवसरका रूपमा तीज पर्वलाई प्रयोग गरियो । यस्तो चलन थारू जातिको फगुवा पर्वमा पनि छ । जहाँ हरवा–चरवाहरू ‘फगुवामा गाली गरेको खत–बात लाग्दैन’ भन्ने गर्छन् । विद्रोही चेतनालाई भुत्ते बनाउने र पुरुषलाई भगवान् मानेर आत्मसमर्पण गर्ने औजारका रूपमा तीज पर्व रहिआएको छ । महादेव–पार्वतीको प्रेमकथा त केवल तीजको महत्वबोध गराउने औजार मात्र हो । आवश्यकता त समानताको हो, दास र मालिक सम्बन्धको होइन ।

धर्मभिरुहरू धर्म–संस्कार छोड्दा नास्तिक भइने र नास्तिकताले पाशविकतातिर लैजाने जिकिर गर्छन् । यो झूटो, स्वार्थी र विज्ञानविरोधी तर्क हो । इतिहासका तथ्यहरूले त्यसको खण्डन गरेका छन् किनकि रामायण, महाभारत, गीता धार्मिक ग्रन्थ र तिनका मूल कथाहरू युद्धकथा हुन् । संसारका सबै राजा र शासन युद्धबाट जन्मेका हुन् र युद्ध वा जनविद्रोह दबाउन नसक्दा पतन भएका छन् । नेपालका शाह, राणा, काङ्ग्रेस, पञ्चायती व्यवस्था सबै युद्धको बलमा, हिंसाको बलमा उदय र अस्त भएका छन् । युद्धबाट जन्मेका र बम–गोलाको चौघेरामा आफूलाई सुरक्षित राखेको शासक वर्ग र उनीहरूका मतियारहरू नै नास्तिकताले हिंसा र पाशविकतातिर लग्ने झूटो, भ्रामक र स्वार्थलम्पट दाबी गर्छन् । यी विचारहरू कि शासक वर्गका भजनमण्डली हुन् कि त ऐतिहासिक भौतिकवादको अथवा समाज विकासको नियमको निम्नतम् ज्ञानसम्म नभएका व्यक्तिहरू हुन् । यद्यपि धार्मिक कानुनको उद्दण्डता विश्वबाट पतन भइसकेको छ ।

दलाल पुँजीवाद शासन प्रणालीको त्यस्तो अवस्था हो जहाँ राज्य र निगम घराना आपसमा विलय हुन्छन् । राज्यले एकाधिकार पुँजीवादको पक्षपोषण गर्छ । आज बजारले चाडपर्वहरूको प्रवद्र्धन गरिरहेको छ । बजारले नै चाडपर्वहरूको परिस्करण (मोडिफाई) गरिरहेको छ । मान्छेको सरोकारलाई बजारको स्वार्थअनुसार बदल्नु, इच्छाहरूको नयाँ भाष्य निर्माण गर्नु, समाज र समूहबाट पृथक पशुचेत सिर्जना गर्नु र उत्तेजक प्रचारद्वारा आफ्ना पत्रु सामान बेच्नु बजारको रणनीति हुन्छ । राज्य र राजनीतिको निगम घरानामा विलय भएका कारण राज्य र राजनीतिक संस्थाले बजारलाई नै प्रवद्र्धन गर्छन् । देश, जनता, मौलिकता, राष्ट्रप्रेम बजारका लागि त्यज्य बन्छन् जसको कारण चाडपर्वको सांस्कृतिकीकरण कम हुन्छ र बजारीकरण बढी हुन्छ । तीज, जितिया, छठ, दसैँसहित सबै चाडपर्वहरूका सन्दर्भमा पनि यही यथार्थ नै त्यत्तिकै सत्य हो ।

८ भदौ, २०७८

1 thought on “पुराना चाडपर्वको विवेचना

  1. He Makes Money Online WITHOUT Traffic!

    Most people believe that you need traffic to profit online…
    And for the most part, they’re right!
    Fact is.. 99.99% of methods require you to have traffic.
    And that in itself is the problem..
    Because frankly, getting traffic is a pain in the rear!
    Don’t you agree?
    That’s why I was excited when a good friend told me that he was profiting, but with ZERO traffic.
    I didn’t believe him at first…
    But after he showed me the proof, it’s certainly the real deal!
    I’m curious what your thoughts are.
    Click here to take a look >> https://bit.ly/3mOAfVp
    Please view it before it’s taken down.

Leave a Reply

Your email address will not be published.