विचारलाई प्रविधिसँग एकीकृत गरेर मात्रै अबको क्रान्ति जित्न सकिन्छ : नेता सुदर्शन

News Political

काठमाडौँ,  भदौ ५ गते । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दीर्घकालिन जनयुद्ध र शसस्त्र विद्रोह, गाँउ र शहर, वर्ग संघर्ष र राष्ट्रियताको आन्दोलन, अति एकाधिकारवादी पुँजीवादद्वारा चुसिएको मध्यमवर्ग तथा राष्ट्रिय पुँजीपति र मजदुर किसान तथा सिपाही, उच्च प्रविधि र न्युन प्रविधिको समायोजन नै एकीकृत जनक्रान्तिका आधार भएको बताएका छन् । विचारलाई प्रविधिसँग एकीकृत गरेर मात्रै अबको क्रान्ति जित्न सकिने बताउदै नेता सुदर्शनले एकिकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादमा पुग्ने कार्यक्रम नै नेकपाको कार्यक्रम भएको बताए । आफ्नो पार्टीले ल्याउने खोजेको बैज्ञानिक समाजवाद, पूँजीवादबाट समाजवादमा जाने पुल भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले जेल हिरासत परेका नेता कार्यकर्तालाई रिहाईको लागि बहस गर्ने कानुन व्यावसायीहरुको सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै सुदर्शनले विज्ञान प्रविधिको विकासले जनताको पक्षमा हुने आन्दोलन वा संघर्ष पनि पुरानै तरिकाले मात्रै जित्न नसकिने बताए । उनले भने ‘अब बन्दुकले मात्रै जित्न सकिँदैन, साम्राज्यवादीहरु बन्दुकमा कम्प्युटर जोडेर आएका छन् । विज्ञान प्रविधिको विकासले गाउँ र शहर दूरी घटाएको छ । अहिलेको समाज लेनिन र माओकालिन नभएकोले हाम्रो पार्टीले रुसी र चिनियाँ अनुभवलाई एकीकृत गरेर एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरेको छ ।’
साथै उनले मजदूरलाई शोषण गर्न र विभाजन गर्न पुँजीवादीहरुले विकेन्द्रीत उत्पादन र केन्द्रीकृत वितरण गरेको र किसान हलोबाट ट्याक्टर चलाउने र मजदूर कम्प्युटर चलाउने भएकोले पूरानै प्रकृतिबाट क्रान्ति सम्भव नभएको बताए । जेल बसाईको अनुभव सुनाउँदै नेता सुदर्शनले अन्यायीहरुले शासन गरेको देशमा न्यायप्रेमीहरुको वस्ने ठाउँ जेल भएको बताए । उनले जेल ज्ञान र अनुभवको विश्वविद्यालय भएको बताए । आफ्नो पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद आए अहिले जसरी ऊर्जाशील समय जेलमा नभएर उत्पादन र रचनात्मक कार्यमा लगाउने वातावरण बनाइने सुदर्शनले बताए ।
शुक्रबार मात्रै रिहा भएका नेकपा नेता भरत बम ‘रणवीर’ ले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै आफू बसेर आएको सानो जेल भएको बताउँदै पूँजीवादी व्यवस्था ठूलो जेल भएको बताए । उनले सबै मानिसहरुलाई पुँजीवादले बन्दी बनाएको बताउँदै त्यसबाट मुक्त हुन वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । नेता बमले सानो जेलको बसाईले ठूलो जेलको अन्त्य गर्ने खरखजाना तयार गरेको बताए । उनले जेल पनि क्रान्ति र आन्दोलनको अंग भएको बताए । शोषणको बलमा टिकेको विश्व व्यवस्था संकटमा पुगेको नेता रणवीरले बताए ।
यस्तै नेकपाका काठमाडौँ इन्चार्ज माइला लामाले पार्टीका नेता कार्यकर्ता रिहाईको लागि कानुन व्यावसायी क्षेत्रबाट ठूलो भूमिका खेलेको बताए । उनले उक्त भूमिकाको उच्च सम्मान गर्दै सम्मान कार्यक्रमको आयोजना गरेको बताए । नेपालका नेताहरुले परिवारलाई राजनीतिसँग नजोड्नुले केही समस्या आएको बताउँदै नेता लामाले राजनीतिकर्मीले परिवारलाई पनि अनिवार्य रुपमा राजनीतिसँग जोड्नु पर्ने बताए ।
यस्तै केही दिन पहिले बाजुराबाट रिहा भएका नेकपाका केन्द्रीय सदस्य चुडामणी ओली, ‘आदर्श’ले पनि जेलको अनुभव सुनाउँदै दलाल संसदीय व्यवस्थामा न्यायालय निस्पक्ष नहुने बताए । गणतन्त्र नामको सरकारले पनि आफु र आफ्ना पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेर निर्मम यातना दिनु आश्चार्यजनक भएको भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले जेल वसाईको अनुभव सुनाउँदै क्रान्तिकारीहरुले जेल हिरासतको मोर्चामा पनि विजयी बन्नुपर्ने बताईन ।
सम्मानपछि वरिष्ठ अधिवक्ता एकराज भण्डारीले आफूले वकालतको सुरुवात नै राजनीतिक मुद्धाबाटै गरेको अनुभव सुनाउदै नेपालमा जनयुद्ध शुरु हुनुभन्दा पहिले नै तत्कालिन जनमोर्चाका नेता कार्यकर्तामाथि लगाइएका मुद्धाहरुमा आफूले बहस गरेको बताए । परिवर्तनको पक्षमा लाग्ने यात्रीहरुमाथि राज्यले लगाउने झुटा मुद्धाको विपक्षमा बहस गर्नु आफूहरुको कर्तव्य भएको बताए । परिवर्तनको उच्च आकांक्षा राखेर मानिसहरु बलिदान गर्न तयारी हुनेहरुमाथि अन्याय हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताए ।
नेकपाले वरिष्ठ अधिवक्ता भण्डारीसँगै अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, नारायण तिवारी, दयाराम पोखरेल, सन्तोष कोइराला, चुडाबहादुर निरौला ‘दिवस’, कान्तिराम ढुंगाना, राजु अधिकारी, चिरञ्जीवी ढकाल, रामकृष्ण भण्डारीलगायतलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *