काठमाडौँ, साउन १९ गते । नेपाल कम्युनिस्ट पार्टीको पूर्व पूर्वीताम्सालिङ ब्युरोअन्तर्गतका जिल्लाहरूको अन्तरजिल्लास्तरीय संयुक्त स्कुलिङ कार्यक्रम सुरु भएको छ । मङ्गलबार काभ्रेको बनेपामा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले पार्टी स्कुलिङ उद्घाटन गर्दै आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको व्याख्या गरेका छन् ।
उक्त पार्टी स्कुलिङमा प्रशिक्षण दिँदै नेता सुदर्शनले स्कुलिङले पार्टीको राजनीतिक कार्यदिशाको बुझाइमा एकरूपता ल्याउन र सही विश्वदृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको व्याख्या गर्दै सचिवालय सदस्य सुदर्शनले एकीकृत जनक्रान्तिको आर्थिक आधार मुख्य भएको बताए । राजनीतिले अर्थतन्त्रलाई नेतृत्व गर्नुपर्नेमा अर्थतन्त्रले राजनीतिलाई नेतृत्व गरेको, विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण तथा अति केन्द्रीकरण र अति एकाधिकार कायम रहेको बताए ।
यस्तै एकीकृत जनक्रान्तिको वैज्ञानिक आधारका बारेमा व्याख्या गर्दै उनले भने, ‘भौतिकशास्त्रमा सापेक्षताको सिद्धान्त र अनिश्चयको सिद्धान्तको एकीकरण गरेर एकीकृत भौतिकशास्त्र बनेकाले त्यसलाई सामाजिक क्रान्तिमा ल्याउँदा एकीकृत जनक्रान्ति भनिएको हो ।’ अहिलेको विश्व–भूमण्डलीकृत भएका कारण गाउँ र सहरलाई एकीकृत गर्नुपर्ने आवश्यकता भएको नेता सुदर्शनले बताए । आजको युद्धको स्वरूप हाइटेक र लोटेक प्रयोग गर्न आवश्यक रहेको भन्दै उनले राष्ट्रिय आन्दोलन र वर्गीय आन्दोलनलाई एकीकृत गर्नुपर्ने विषय प्रस्ट पारे ।
लामो समय जेल बसाइको अनुभव सुनाउँदै नेता सुदर्शनले जेल विश्वविद्यालय भएकाले कम्युनिस्टहरू जहाँ पुग्यो त्यहीँ उम्रिन सक्नुपर्ने बताए । जेल नतोकिएको कार्यक्षेत्र भएको उनको भनाइ थियो ।
कार्यक्रममा तत्कालीन पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रज्वलनले पार्टीभित्र चलाइने स्कुलिङले वैचारिक हतियारलाई धारिलो बनाउने बताए । कम्युनिस्ट पार्टीभित्र दृष्टिकोण निर्माण गर्नका लागि पार्टी स्कुलले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टीका अर्का केन्द्रीय सदस्य आदर्शले आफ्नो लामो समयको जेलजीवनको अनुभव सुनाउँदै विचार, दृष्टिकोण स्पष्ट नभएकाहरू जेलमा अत्तालिने र उनीहरूबाट गम्भीर खालका धोका पनि हुने बताए । जनयुद्धकालीन समयको जस्तै कुनै पनि क्रान्तिकारी पार्टीको कार्यकर्ता पार्टी र नेतृत्वप्रति विश्वस्त हुनुपर्ने भन्दै उनले कतिपय विश्वासघातीहरूले पार्टीको विचारलाई सही ठाउँमा प्रयोग हुन नदिने बताए । आफ्नो पार्टीमा मात्रै वास्तविक स्कुलिङ हुने गरेको बताउँदै उनले यस्ता खालका पार्टी स्कुलहरूले मात्र विश्वास पैदा गर्ने प्रस्ट पारे ।
नेकपाकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो समयको जेल बसाइको अनुभव सुनाउँदै जेल एउटा विश्वविद्यालय भएको धारणा राखिन् । उनले जेल बस्ता राज्यसत्ताको एउटा अङ्गको अनुभव गरेको बताइन् । साथै उनले राजनीतिक र वैचारिक रूपले आफ्नो पार्टी निकै माथि उठेको र पार्टीको उचाइ बढिरहेकाले नै पार्टीमाथि आक्रमण हुने गरेको धारणा राखिन् । नेत्री चन्दले क्रान्तिकारी पार्टीमा पार्टी स्कुल आवश्यक रहेको बताइन् ।
नेकपाका केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेषराज भुसालले छरपस्ट भएको ज्ञानलाई सेटमा ल्याउन र वैज्ञानिक समाजवादभित्रका अन्तरवस्तुहरू केके हुन भन्ने विषयमा बुझ्न आवश्यक भएकाले राजनीतिक र सैद्धान्तिक दृष्टिकोण निर्माणका लागि पार्टी स्कुल सञ्चालन गर्न लागिएको बताए ।
पार्टी स्कुल कार्यक्रमको अध्यक्षता गरेका नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारले राजनीतिक ज्ञानको सीमा फराकिलो बनाउन पार्टी स्कुलमा सहभागी भएको बताए । उनले पार्टी स्कुलबाट सिकेको ज्ञान जनतामा लिएर जानुपर्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेकपाका केन्द्रीय सदस्य तथा दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले क्रान्तिकारी पार्टी निर्माणका लागि दृष्टिकोण निर्माण गर्न आवश्यक भएकाले पार्टी स्कुल चलाउन लागिएको वताए । उनले भने, ‘आमजनता र श्रमिकका बीचमा विचार पु¥याउनुपर्छ । विचार जब जनताको बीचमा पुग्छ त्यो भौतिक शक्तिमा बदलिन्छ ।’
कार्यक्रम सञ्चालन गर्दै अर्का केन्द्रीय सदस्य तथा रामेछाप–सिन्धुली इन्चार्ज शरद रसाइलीले ज्ञान निर्माण गर्नका लागि पार्टी स्कुल सञ्चालन गर्न लागिएको बताए । उनले एकीकृत जनक्रान्तिको अधुरो कार्यभार पूरा गर्न राजनीतिक–वैचारिक स्तर विकास गर्नका लागि पनि पार्टी स्कुल आवश्यक भएको बताए ।
अन्तर्राष्ट्रिय गीत गायनबाट सुरु भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पार्टी स्कुलिङ विभागका लालबहादुर बीसी पनि सहभागी थिए । मङ्गलबार उद्घाटन भई शुक्रबरसम्म चल्ने बताइएको उक्त पार्टी स्कुलमा पूर्व पूर्वी ताम्सालिङ ब्युरोअन्तर्गतका सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली र दोलखाका नेताहरूको टिम सहभागी छ ।
उक्त कार्यक्रममा लामो समय जेल र हिरासत बसेर रिहा भएका नेकपाका नेता–कार्यहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
